☰ open Loading... 2 May 2024|  

राजनीतिक खिँचातानीले ७२ कराेडकाे गुर्भाकाेट खानेपानी आयोजना अलपत्र
  | १५ श्रावण २०७५, मंगलवार १०:११

सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोटमा रहेको एक खानेपानी आयोजना राजनीतिक खिँचातानीले अलपत्र परेको छ । गुर्भाकोट नगरपालिकास्थित मेहलकुनामा रहेको साना शहरी खानेपानी अन्तर्गत निर्माणाधिन गुर्भाकोटकाे खानेपानी आयोजनाको काम राजनीतिक स्वार्थकै कारण अलपत्र परेको हो ।


मेहलकुनामा निर्माणाधिन आयोजनाको काम राजनीतिक कोपभाजनमा परेको उपभोक्ता समितिले पनि स्वीकारेको छ । गुर्भाकोट नगरपालिकाको ६,७,८ र ९ नम्बर वडाका तीनहजार ५२ घरधुरीका नागरिकलाई स्वच्छ खानेपानी वितरण गर्ने हेतुले २०७३ सालदेखीभेरी नदीको पानी पम्पिङ्ग गर्न आयोजना निर्माणको प्रक्रिया अघि बढेको थियो ।

आयोजना निर्माणकै लागि क्षेत्रीय अनुगन तथा सुरपरिवेक्षण कार्यालयलेडिपिआर समेत तयार गरेको छ ।सम्भाव्यता अध्ययन रिपोर्टले साना शहरी खानेपानी अन्तरगत गुर्भाकोट आयोजनाको निर्माण लागत ७२ करोड लाग्नेछ रिपोर्ट निकालेको छ । तरकुल लागतको पाँच प्रतिशत अर्थात तीन करोड ५५ लाख रकम समितिले उठाएर खातामा राख्न नसक्दा आयोजना अलपत्र छ ।

आयोजनाको उपभोक्ता समितिका अध्यक्ष हरिहर रेग्मीले विगतदेखी नै आफूले मेहनत गरेकाले आफ्नै नेतृत्वमा निर्माण सम्पन्न गर्नुपर्ने अडानमा छन् । यद्यपी नेकपा र नेपाली कांग्रेसका नेताहरुले पुरानो समिति भङ्ग गरेर आफू अध्यक्ष हुनुपर्ने अडान राख्दै नयाँ समिति गठनको लभिङमा छन् । रेग्मीले भने तत्काल नागरिकहरुबाट रकम संकलन नहुने भन्दै आयोजना सम्पन्न गर्न नगरपालिकासंग रकम माग गरेको दावी गर्छन् ।

आयोजना सुचारु गर्न उपभोक्ताको थप रकम नगरपालिकाले दिने वा नदिने भन्ने विषयमा निर्णय नदिएको आयोजना उपभोक्ता समितिका अध्यक्ष रेग्मीले बताए । ‘आयोजना सम्पन्न गर्न विगतदेखी नै खटिएको छु । तर नेकपा र कांग्रेसका साथीहरु नयाँ समिति बनाउन तल्लिन छन्’ रेग्मीले भने, ‘राजनीतिक चंगुलकै कारण आयोजना बन्ने वा नबन्नेमा अन्यौलता देखिएको सत्य हो ।’ क्षेत्रीय अनुगन तथा सुरपरिवेक्षण कार्यालयले भने समितिले उठाउनु पर्ने पाँच प्रतिशत रकम संकलन नभएकाले काम रोकिएको जनाएको छ ।

कार्यालयले गत आर्थिक वर्षमा गरेका कामहरुको समिक्षा गर्न वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा डिभिजनल ईन्जिनियर आविद हुसेनले आयोजनामा पाँच प्रतिशत रकम उपभोक्ताबाट रकम संकलन नहुँदा काम रोकिएको जानकारी दिए । उपभोक्ता समितिले आयोजनाको नियमानुसार रकम नउठाउँदा डिपिआर बाहेक अन्य काम अघि बढ्न नसेको बताए ।

‘उपभोक्ताबाट पाँच प्रतिशत रकम खातामा जम्मा भए काम अघि बढ्छ’ डिई हुसेन भन्छन्, ‘रकम नआउँदासम्म त्रिवर्षिय आयोजना निर्माण सम्झौता हुन सकेको छैन् ।’ उपभोक्ता समितिमा राजनीतिक स्वार्थ बाँझिदा मैनतडा पम्पिङ आयोजनाको काम पनि अन्तिम समयमा आएर अलपत्र परेको छ । ‘ट्याङ्की निर्माणदेखी सबै काम सकिएपनि पाइप विछ्याउने जिम्मा पाएको समितिले काम नगर्दा काम राकिएको छ ।’

कार्यालयका डिई हुसेनले हर्रे, मेहलकुना, पाम्का, न्यावलखोला, काप्रीचौर, नाड खानेपानी आयोजना तथा गुमी गुणस्तर सुधार आयोजनाको काम सम्पन्न भएको जानकारी दिए । उनले सुर्खेतमा तीन ओटा गुणस्तर सुधार, २ ओटा साना शहरी, ३ ओटा सुख्खा क्षेत्र आयोजना कार्यान्वयन र ९ ओटा बहुवर्षिय आयोजना निर्माणको चरणमा रहेको बताए । कार्यालयले गत वर्ष कुल भौतिक प्रगति ८५ र कुल वित्तीय प्रगति ८१ प्रतिशत गरेको जनाएको छ ।