☰ open Loading... 19 May 2024|  

यसरी गरिदैछ दैलेखमा वर्षे मेलाको तयारी (फोटोफिचर)
  | १६ श्रावण २०७५, बुधबार १७:२१

बिशाल सुनार
दैलेख । युगौ युग देखि सञ्चालन हुदै आएको बर्षे मेला(लाखे जात्रा) यहि श्रावण २४ गते देखि भाद्र १८ गते सम्म सञ्चालन हुने भएको छ । दैलेख जिल्लाका सर्वाधिक लोकप्रिय र सवै भन्दा लामो समय सम्म चल्ने वर्षे मेला यस वर्ष पनि निरन्तरता दिईने भएको छ । सदियौ देखि संचालन गर्दै आएको वर्षे मेलालाई यस पालि पनि न्यू ज्वाला क्लव पुरानो बजार,भगवती यूवा क्लव भगवती टोल,एभरेष्ट क्लव नयाँ बजार र सुनगाभा यूवा क्लव गणेश टोल गरि ४ वटा स्थानिय क्लवहरुले संचालन गर्र्ने भएको हुन ।

यस बर्षे मेलाले धार्मीक,सास्कृतिक,आर्थिक तथा सदभावको पर्वको रुपमा मनाईने भएकाले पनि हजारौ श्रद्धालु तथा जत्रालुको भिड लाग्ने गर्दछ ।

मेलामा के गरिन्छ ? त्यस्को धार्मीक तथा सास्कृतिक पक्ष
श्रावण कृष्ण चतुदर्शीको दिनलाई घण्टाकर्ण चतुर्दशीको रुपमा मनाउने गरिन्छ । सडक चौवाटोमा हरिया नरकटका बोटहरुको ठुलठुला मुठा बनाएर तिनखुट्टे मानवाकृतिको रुपमा खडा गरिएको घण्टाशुरको प्रतिकमा छोरीहरुले मान्छेहरुको कपडाको कलात्मक पुतली बनाएर झुन्डाउने गरिन्छ । साँझपख घण्टाशुरको मुखाकृति बनाएर घण्टाशुरको शिरोभागमा राखिन्छ त्यसपछि कुनै एक जना मानिसलाई कट्टुमात्र लगाई घण्टाशुरको सन्तान बनाई आफ्नो जिजुबाजे घण्टाशुरको काजक्रिया गर्नकालगि भनी नगर भरि पैसा माग्न लगाईन्छ ।


“घरभित्रको बिकार तत्वलाई बडारेर घण्टाशुरको खुट्टामा लगेर फालिन्छ र भुतप्रेत,खराव तत्व पुनः घरमा फर्केर नआओस भनेर दैले यो आँगनमा तिन वटा फलामको किला ठोकिन्छ । उक्त घण्टाशुरको शवलाई नगर परिक्रमा गराई पुत्लालाई दागबत्ति दिएपछि नदिमा बगाउने गरिन्छ । तर हिजो आज भने सस्कृति लोप हुदै गएकाृ छ ” भन्छन् भगवती युवा क्लवको अध्यक्ष नन्द बहादुर श्रेष्ठ ।

त्यस्तै बिगत ५० बर्ष देखि संस्थागत रुपमै बर्षे मेला संचालन गर्दै आएको संस्था न्यू ज्वाला क्लव का अध्यक्ष बिशाल सुनारको अनुसार “देवताको नाम सुन्न समेत नचाहने र दुवै कानमा घण्ट झुन्डाएर घण्ट बजाउदै हिड्ने भएको कारणले घण्टाशुर नाम रहने गएको हो । नरभक्षी घण्टाशुर जव नगर बस्तीमा पस्थ्यो हाँहाँकार मचिन्थ्यो ।

त्यसै क्रममा एकदिन घण्टाकर्ण बाटो बिर्सीएर अर्काे बाटोलागेछ र भ्यागुतोलाई बाटो सोध्न पुगेछ भ्यागुतो बाठो थियो उस्ले बाटो देखिाएको बाटो दलदले थियो । त्यहि बाटो हिड्दै जाँदा दलदलमा फसेको घण्टाकर्णलाई नगर बासीहरुले ढुङगालेहानेर मारेको लोक कथा प्रचलित छ ।” त्यसै अनुरुप नरभक्षी घण्टाकर्णको मुर्ति बनाएर चौवाटोमा राखेर बिधिवत दाहसंस्कार गरे सवै दुःख कष्टहरुको नाश हुने मान्यता रहिआएको छ । तर समयान्तरमा यो पर्वको एैतिहासीकता करिव करिव लोपउन्मूख रहेको छ । बिकृति हावी हुदै गएको छ ।

गाठे मंगलको अन्त्य संगै लाखे निकाल्ने चलन छ । लाखे गाठे मंगलको दिन देखि जनै पूर्णिमाको दिन सम्म निरन्तर निकालिन्छ यस्को अवधि करिव १५ दिनको हुने गर्दछ भने जनै पूर्णिमाबाट कृष्ण जन्माष्ठमी सम्म वास्तवमा बर्षेमेलाको बिभिन्न झाकीहरु प्रस्तुत गर्ने गरिन्छ ।

हिन्दुहरुको पवित्र पर्वहरुमध्ये जनै पूर्णिमाको छुट्टै महत्व रहेको छ । यस पर्वका दिन श्रवण नक्षत्र र पूर्णिमा पर्ने भएकाले श्रावणीपूर्णिमा,यज्ञोपवति(जनै) धारण गर्नुुपर्ने भएकोले जनै पूर्णिमा,सप्तऋषिहरु –कश्यप,अत्रि,भारद्वाज,बिश्वमित्र,गौतम,जमदग्नि र बशिष्ट) लाई तर्पण दान गर्नुपर्ने भएकोले रक्षाको लागि हातमा जनै बाधिने भएकाले रक्षा बन्धन पनि भनिन्छ । स्थानियले संस्कार पूर्वक जनै धारण गरिसकेपछि बुढी गाई अर्थात टाकटुके निकालिन्छ ।

यस दिन टाकटुके जात्रामा डोकोमा बाँसको लामो चोया बाँधिन्छ, लामो जिउ भएको बाँसको टुप्पोमा चवँर बाधिन्छ मकुन्डो,कपडा लगाएर मानवकृति बनाईन्छ । चारवटा सारि चार दिशामा बाधिन्छ र सारीको फेरो समाएर बिभिन्न आर्कषक पोशाकमा सजिएका यूवाहरुले ए बजै तिम्रो घरमा के के पाक्या छ, हामीलाई नि देउन मिठो लाग्या छ भन्ने बाँसुरीको तालमा नाचेर लौरी एक आपसमा ठोकिन्छ । यूवा तथा वालबालिकाहरु सिंगारिने कोहि गाई हुने,गोठालो हुने लगाएतको अभिनयको माध्यामले लोक जिवनको झल्को दिने प्रचलन रहेको छ ।

श्रावणपूर्णिमा अर्थात टकटुकेको भोलिपल्ट अर्थात भाद्रकृष्ण प्रतिपदाको दिनलाई गाईजात्रा पर्वको रुपमा मनाउने गरी नेपाली पात्रोहरुमा उल्लेख गरिएको हुन्छ । गाईको पुच्छर समातेर बैतर्णी तरिन्छ र मोक्षा प्रप्त हुन्छ भन्ने हिन्दु मान्यताअनुरुप गाईजात्रा मनाउने प्रचलन रहेको छ । बिगत एक वर्ष भित्र मृत्यु भएकाहरुले आप्mना पृतीहरुको सम्झनामा गाईजात्रामा सिँगारिएको अर्थात गाई,गोठाला बनेकाहरुलाई खिर,दही,केरा लगायतको फलफुल,दक्षीणा प्रदान गर्ने र आफ्ना मृतकको सम्झना र आत्माको शान्तिको कामना गरिन्छ ।


तेस्रो दिन रोपाई जात्रा मनाईन्छ । जस्मा नेपाल कृर्षि प्रधान देश हो र अधिकाँस कृषकहरुको जिवनी खेति किसानीमा नै बित्छ भन्ने भावलाई जात्रा मार्फत अभिव्यक्त गरिन्छ । यो हाम्रो लोक जिवनको जिवन्त चित्रण गर्ने काम बर्षेमेलाको रोपाई जात्रामा गरिन्छ । बिभिन्न रुपरंङगमा सिँगारिएर,सरदार,सरदार्नी(रानी)स्याकु,छाता ओडेर,धानको बिउ रोप्ने,हाली,रोपार,रोपार्नी,बाउसे,पन्चेवाजा बजाउदै रोपाईको बेलामा गाईले गित गाउदै सम्पूर्ण क्रियाकलापलाई अभिनयको माध्यामबाट प्रस्तुत गरिन्छ ।


त्यस्तै चौथो दिन बाघ जात्रा मनाईन्छ । यस जात्रामा बाघ भालुको अभिनय गरेर जंगलको राजा बाघको सम्झना गरिन्छ । बाघ र भालुको भेषमा किसानले लगाएको मकै चोर्ने र मेला भर्न आउनेहरुको लाई थुकेर,तर्सायर सताउने गरिन्छ । बागभालुको आतंकबाट छुटकाराको लागि सिपाई लगाईन्छ र नियन्त्रणमा लिने प्रयास गरिन्छ । बाघको आतंक नियन्त्रण बाहिर जान्छ अन्ततः रानी माथिनै आक्रमण गरिन्छ र रानिलाइृ छुताटाएर ल्याउनको लागि राजालेनै बाघलाइृ मारेपछि रानिको ज्यान बचाउछन र आतंकी बाघको संत्रासबाट नागरिकले छुटकारा पाएको चरित्र चित्रण गर्ने गरिन्छ ।


यसै गरि पाँचौ दिन बैरागी जात्रा अर्थात योगी(जोगी)जात्रा । कलाप्रेमीहरु गेरुवा,कपडा,दिगम्वर लगाएर चिम्टा त्रिशुल, अनि कमण्डलू भिरेर जोगीको भेषमा बजार परिक्रम गर्ने प्रचलन रहेको छ । यस मेलामा मानिसको गृहस्थाश्रमपछिको बनप्रस्थ र सन्यास जिवनको चित्रण गरिन्छ । पंचकोशी तिर्थस्थल र साक्षात अग्निरुपको ज्वाला क्षेत्रको जिल्ला भएको कारणले पनि यस पर्वलाई बिशेष महत्वको साथ हेर्ने गरिन्छ । बर्षे मेलाको बिशिष्ट मेलाको रुपमा राउटे जात्रालाई मनाईन्छ । राउटे जातिको बसोवास भएको जिल्ला पनि हो । राउटेहरु आफुलाइृ जंगलको राजा भन्छन । राउटेहरुको मख्य व्यक्तिलाई मूखिया भन्ने प्रचलन उहिले पनि थियो र अहिले पनि छ । समाजमा बस्न नचाहने यो समुदाय समाज देखि टढा अर्थात जंगलमा अस्थायि छाप्रो बनाएर बसोबास गर्ने गर्छन ।

जंगलको कंदमूल,बाँदर,गूना लगाएको सिकार र आहार गर्ने यो समुदाय आप्mनो आफन्तीको मृत्यु पश्चात बसिरहेको स्थान छाडेर अर्काे जंगल तिर बसाई सार्छन । टुनी,सिमल,आँप,गूरास,चाँप अदिको काठबाट सन्दुख,कोशी,ठेकी,मदुश आदि सामाग्रीहरुको निर्माण गर्ने र स्थानीय बजारमा लगेर बेच्ने गर्दछन । यस्ता अस्थित्व संकटमा रहेको राउटे समुदायको दुर्लभ संस्कृति ,नाच,बाजा,ताल,शिकार कलालाई अभिनयको माध्यामबाट प्रस्तुत गर्दै मनाईन्छ ।


सातौ दिन श्रावणकृष्ण सप्तमीको मध्यरातमा मथुराको कारागृहमा भगवान कृष्णको जन्म भएको त्यस रातलाई भगवनको जन्म भएकोहुनाले धार्मिक अनुष्ठानका साथ मनाईन्छ । यस रातमा न्यू ज्वाला क्लवले नारायण मन्दिर,भगवती यूवा क्लवले भगवती मन्दिर,एभरेष्ट क्लव र सुनगाभा यूवा क्लवले गणेश मन्दिरमा कृष्ण जन्माउने प्रचलन रहेको छ । भगवान कृष्णको भक्तजनहरुले उपवास बस्ने,भजनकृतन गर्ने,पुजा गरि मनाउने गरिन्छ ।


अन्तिम तथा आठौ दिन भगवन श्रीकृष्णको जम्मेको रातलाइृ सप्तमीको मध्यरात १२ बजे पछी भएकाले अर्काेदिनलाई अष्ठमी भनिन्छ । गोकुलका नन्दरायको घरमा सुन्दर बालकको जन्म भएको उतसाहमा गोकुलबासी सम्पूर्णले उत्सव मनाएको अवसरलाई कृष्ण अष्ठमीको उत्सव मानिन्छ ।

लाखे अर्थात कंशको प्रतिक र कृष्ण,बलराम रहितको कृष्णलिलालाई बजार भरि नृत्यको माध्यामबाट प्रस्तुत गरिन्छ । तेरो अन्याय र अत्याचारको घडा भरिसकेको छ,मृत्यु निश्चित छ, अव मर्न तयार हो भन्ने संकेत कृष्णले गर्छन भने भयो मलाई नमार,म तेरो मामा हो, मेरो प्राण दान गर भन्ने आशयको भावह्विल बनाउने खालको नृत्य प्रस्तुत गरेर कृष्णको मत बदल्ने प्रयत्न लाखेले गर्दछ । लाखेको अनुचर(भक्कु)ले आप्mनो मालिक अर्थात लाखेको प्राणको दान माग्ने र लड्न खोज्ने र भाग्ने,ज्यान जोगाउने अभिनय प्रस्तुत गरिन्छ ।


अर्काेतिर स्थानिय कृष्णजन्माईएको मन्दिरहरुबाट झिकिएको रथहरु र श्रधालुहरुले कृष्णभजनहरु गाउदै नाच्दै ,स्थानिय भगवती,नारायण,बटुक भैरव,बज्रभैरव,गणेश मन्दिरको परिक्रमा गरेर समापन स्थलहरुमा प्रवेश गराउछन । हजारौ दर्शकहरुको उपस्थितीमा परम्परा अनुसार कृष्णलिला प्रस्तुत गरिन्छ र अन्तमा कृष्णको तरवारबाट लाखेको मृतयु हुन्छ । लाखेको टाउकोलाई रथमा राखेर कृतन गर्दे पुःन मन्दिर परिक्रमा गरिन्छ ।

परिक्रमाकै क्रममा बर्षातमा लगाईएको खेती जस्तै मकेै,भट्ट जस्ता अन्य अनाज,फलहरुलाइृ न्वागी गढाउने प्रचलन रहेको छ । यसैका साथै बर्षेमेला अर्काे बर्ष सम्मकोलागि समापन हुने गर्छ । तसर्थ धार्मीक,आर्थिक,सामाजिक,सदभाव,सहकार्यको ज्वलन्त उदाहरण बन्दै बिदा हुन्छ ।