☰ open Loading... 2 May 2024|  

जाजरकाेटकाे खलंगामा पहिराेजाँदा सात जनाकाे मृत्यु, दुइ वेपत्ता
  | २० श्रावण २०७५, आईतवार १०:१९

सुर्खेत । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् ।

जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको छाती, टाउको र खुट्टामा चोट लागेका जनाइएको छ ।

मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतला, उहाँका छोरी नौवर्षीया भावना, छ वर्षीया रञ्जना र तीन वर्षीया मनिषा छन् । उनीहरु सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराका घरमा भाडामा बस्दै आएका थिए ।

त्यस्तै, घरमूली तीर्थराज बोहराकी सातवर्षीया छोरी नग्माको पनि मृत्यु भएको छ । उनीहरुको शव पहिराले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो । मृतक अन्य २ जनाको सनाखत भएको छैन ।

सोही ठाउँमा गोपाल सुनारको घर पहिराले पुर्दा त्यहाँ चार बालबालिका अझै हराइरहेका छन् । ती बालबालिकालाई घरसँगै पहिराले पुरेको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार हराइरहेकामा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार र ११ वर्षीय नवीन परियार तथा नलगाड–१ डाँडागाउँका आठवर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार छन् ।

=====================================

जाजरकोटको सदरमुकाम खलंगा नजिक पहिरो जाँदा २ घर पुरिएका छन्। पहिरोमा परि ३ बालवालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको नाम भने खुल्न सकेको छैन। अबिरल वर्षाका कारण गएराति ठाँटीबजार नजिकै पहिरो गएको हो । पहिरोमा परी तिर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार बोहोराको घरमा पुरिएका तीन बालबालिकाको शव बाहिर निकालिएको हो। अझै एक जना पुरिएको अवस्थामा उद्धार भइरहेको छ।

यस्तै सुनार घरमा पनि तीन जना बालबालिका पुरिएको हुनसक्ने प्रहरी निरिक्षक सुनारले सेतोपाटीलाई जानकारी गराए । घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिइएको छ। घटनाको थप विवरण आउन बाँकी छ ।