काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो प्रवक्ता तथा स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा पक्राउको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
प्रहरीले प्रकाण्डसहित ३ जनालाई मंगलबार बेलुका पक्राउ गरेको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । उसले साउन २५ गते देशब्यापी कोणसभा, २६ गते विरोधसभा, साउन २७ गते मशालजुलुस, साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ ।
महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधबार विज्ञप्ति जारी गरी राजनीतिक विचारका आधारमा गरिएको गिरफ्तारी बन्द गर्न र पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्न माग गरेका छन् ।
सरकारले एकपछि अर्को गर्दै राजनीतिक अधिकारमाथि प्रतिबन्ध लगाएको भन्दै लोकतन्त्रवादीहरुले यसको विरोध गर्नुपर्ने विप्लवले उल्लेख गरेका छन् ।
आफ्नो पार्टी अपुरो राजनीतिक अधिकार पूरा गर्ने अभियानमा रहेको भन्दै यस अभियानलाई कुल्चने, दमन गरेर सिध्याउने सपना नदेख्न पनि विज्ञप्तिमा चेतावनी दिइएको छ ।