☰ open Loading... 26 April 2024|  

कर्णाली प्रदेश राजधानीकाे गढीमा बन्दैछ भ्यूटावर
  | २४ श्रावण २०७५, बिहीबार २०:१३

सुर्खेत । यात्रु तथा आन्तरिक पर्यटकहरु गढी बयलकाँडा लादे, रातानाङ्गला देखि गुँरासेमा रमाईरहेका हुन्छन् । सुदुरपश्चिमका अछाम, बाजुरादेखी कालिकोट, जुम्ला र मुगुसम्म स्थल मार्ग भएर पुग्नेहरुका माझ त्यस क्षेत्रको लोकल कुखुराको स्वाद लोकप्रिय छ ।

आन्तरीक पर्यटकको अवस्थालाई मध्यनजर गर्दै तथा स्थानीय पर्यटनलाई टेवा पुर्याउनका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ मा भ्यू टावर बनाउने तयारी भएको छ ।

कर्णालीको चन्द्रागिरी उपमा पाएको सुर्खेत उपत्यका भन्दा माथी डाँडामा रहेको लादेमा भ्यू टावर बनाउने तयारी गरिएको हो। वीरेन्द्रनगर नगरपालिका–१४ ले लादे भ्यू टावरको डिपिआर तयार गरिसकेको वडा अध्यक्ष टोप बहादुर दर्लामीले बताए ।

२४ मिटर अग्लो भ्यू टावर सात तलाको हुने छ। जसको निर्माणका लागि १ करोड ४० करोड लागत लाग्ने जनाईएको छ। भ्यू टावरमा एकै पटक २० जना चढेर सुर्खेत उपत्यका, नेपालगञ्ज, बर्दीया तथा भारतका शहरहरुको पनि अवलोकन गर्न सकिने दर्लामीले जानकारी दिए ।

यसैगरी १४ नम्बर वडाले खानेपानीको समस्या रहेको सो क्षेत्रमा एक हजार मिटर तल सोत खोलाबाट पानी लिफ्टिीङ्ग गर्नको लागि पनि आवश्यक तयारी गरेको दर्लामीले बताए ।

सुर्खेत उपत्यकाबाट बिदा र बनभोज तथा शितलता प्राप्त गर्नका लागि तथा डेटीङ्गका लागि गढी, बयलकाँडा, लादे देखि गुराँसेसम्म आन्तरिक पर्यटकहरुको ओईरो लाग्ने गर्दछ ।

केही आन्तरिक पर्यटकहरुलाई मध्यनजर गरेर केही होटलहरु पनि सञ्चालन भएका छन्। सो क्षेत्रमा केही चलचित्रहरु पनि सुटिङ्ग भईसकेका छन् । काठमाडौंको चन्द्रगिरीको जस्तै योजना कर्णाली प्रदेश सरकारले पनि बनाएको छ ।

सुर्खेतदेखी गढी बयलकाँडासम्म केबुलकार जोडने प्रदेश सरकारको योजना रहेको छ । प्रदेश सरकारले यसै वर्षमा केवुलकारकाे सम्भाव्यता अध्ययन गर्ने जनाएकाे छ ।