☰ open Loading... 18 November 2024|  

सेवा लिन नागरिकलाई सहज
  | २५ श्रावण २०७५, शुक्रबार ०९:४८

सुर्खेत, २१ साउन ।
सुर्खेतका नौं वटै स्थानीय तहरुमा बैंकहरु स्थापना भएका छन् । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई स्थानीय तहमा केन्द्रित भएर सेवा प्रदान गर्न निर्देशन दिएसंगै सुर्खेतका नौं वटै स्थानीय तहहरुमा बैंकहरु स्थापना भएका हुन् ।


गाउँगाउँसम्म बैंकहरु पुगेपछि स्थानीय तहको कामसंगै नागरिकहरुलाई समेत सेवा लिन सहज भएको छ । प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर केन्द्रित बैंकहरु जिल्लाका सबै स्थानीय तहहरुमा स्थापना भएर सञ्चालनमा आएका छन् । लेकवेशी नगरपालिकामा प्राइम कमर्सियल बैंक, गुर्भाकोट नगरपालिकामा राष्ट्रिय बाणिज्य बैंक, कुमारी बैंक र जनता बैंक, भेरीगंगा नगरपालिकामा कृषि विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र एनआईसी एशिया तथा पञ्चपुरी नगरपालिकामा कुमारी बैंक, राष्ट्रिय बाणिज्य बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक स्थापना भएर सेवा शुरु गरेका छन् । चार गाउँपालिका रहेको सुर्खेतको चिंगाडमा सानिमा बैंक, सिम्ता गाउँपालिकामा लक्ष्मी बैंक, बराहताल गाउँपालिकामा नविल वैंक र ग्लोबल आईएमइ बैंकको शाखारहित सेवा तथा चौकुने गाउँपालिकामा लक्ष्मी बैंक स्थापना भएका छन् । स्थानीय तह निर्वाचनपश्चात् अधिकार र कर्मचारी गाउँमा पुगेसंगै सामान्य बैंकिङ सेवा लिन सदरमुकाम आउनुपर्ने बाध्यतातको अन्त्य भएको गुर्भाकोट नगरपालिका मेयर हस्तबहादुर पुनको भनाई छ ।
स्थानीय तहमै बैंकहरु स्थापना नहुँदा सेवाग्राही मात्र नभई कर्मचारी, जनप्रतिनिधिसमेत बैंक खोज्दै वीरेन्द्रनगर धाउनुपर्ने झन्झटको अन्त्य भएको छ । लेकबेंसी नगरपालिकाका प्रमुख गगनसिं सुनारले खाता खोल्न, भुक्तानी लिन, नगद भौचर लिनसमेत सदरमुकाम आउनु पर्ने झन्झटबाट मुक्त भएको जानकारी दिए । ‘सदरमुकाम धाएर सानोतिनो कामका लागि बैंकमा लाइन लाग्दै अनावश्यक समय खर्च हुने गरेको थियो,’ उनले भने, ‘बैंकहरूले सरकारको निर्देशन त पालना गरेपछि नगरपालिकालाई मात्रै नभई स्थानीयलाई समेत सेवा लिन सहज भएको छ ।’ उनका अनुसार यसअघि नगरपालिकाको योजना भुक्तानी, सामाजिक सुरक्षा रकम लिन सदरमुकाम आउनु परेको थियो । गाउँमा बैंक नहुँदा अफिसको खाता खोल्न वीरेन्द्रनगर यस अघि धाउनु परेपनि अहिले गाउँपालिकामै बैंकहरु स्थापना भएपछि सेवा लिन सहज भएको गुर्भाकोटका मेयर पुनले बताए । उनका अनुसार बैंककै कामले कर्मचारीदेखि हामी जनप्रतिनिधिले अनावश्यक समय खर्चनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
सदरमुकाम रहेको नगरपालिका वीरेन्द्रनगरमा भने नेपाल बैंक, वाणिज्य बैंकका साथै डेढ दर्जन बैंक छन् । पूर्वी सुर्खेतका भेरीगंगा, गुर्भाकोट नगरपालिका र पश्चिमका पञ्चपुरी नगरपालिकामा जनप्रतिनीधिहरुले पदवहाली गरेको केही महिनामै बैंकिङ सेवा पुगेको थियो । समयमै स्थानीय तहमा बैंक सेवा नहुँदा कर्मचारी र जनप्रतिनिधिलाई मात्र होइन, व्यवसायी, सर्वसाधारणलाई समेत मर्कामा थिए ।