☰ open Loading... 30 April 2024|  

टेलिकमको बेथितिः वक्यौता उठाउन छाडेर ‘महत्वाकांक्षी’ वक्तव्य
  | २७ श्रावण २०७५, आईतवार १७:५६

काठमाडौं । नेपाल टेलिकमको सेवामा सुधार गर्न नसकेको र कम्पनीलाई ओरालो लगाएको भन्दै नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकारले दोस्रो स्पष्टीकरण सोधेको छ । सरकारले स्पष्टीकरण सोधेको तीन दिन नबित्दै नेपाल टेलिकमले आफ्नो वाषिर्क प्रगतिको विवरण र आगामी वर्षको कार्ययोजना सार्वजनिक गरेको छ ।

टेलिकमले आगामी वर्ष २२ अर्ब रुपैयाँ खर्च गर्ने गरी विभिन्न योजना तयार पारेको जनाएको छ । २२ अर्ब खर्च गरेर कम्पनीले साढे ४४ अर्ब रुपैयाँ नाफा गर्ने लक्ष्य पनि लिएको छ । आगामी वर्ष खुद नाफा १० प्रतिशतले बढाउने लक्ष्य राखेको छ ।

कम्पनीले चालु आर्थिक वर्ष ०७५/७६ मा कम्पनीको सञ्चालन आय ४४ अर्ब २५ करोड पुर्‍याउने र कुल आय १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य निर्धारण गरेको विज्ञप्तिमा बताइएको छ । कम्पनीले विभिन्न योजनाहरु सार्वजनिक गर्दै आफैंले त्यसलाई महत्वाकांक्षी भनेको छ ।

यस्तो थियो सरकारले दिएको ‘होमवर्क’

गत बैशाख २४ गते बसेको मन्त्रिपरिषद बैठकले कामिनीलाई ११ बुँदे लिखित शर्तहरु पूरा गरेर देखाउन भनेको थियो । सरकारले दिएको लिखित शर्तमा कामिनीलाई ९.७५ अंक प्राप्त गर्ने गरी काम गर्न भनिएको थियो ।

सरकारले तोकेका शर्तहरुको ९ नम्बर बुँदामा टेलिकमले अन्य दूरसञ्चार कम्पनीबाट लामो समयदेखि उठाउन बाँकी रहेको इन्टरकनेक्सन वापतको अर्बौं रुपैयाँ दुई महिनाभित्र उठाइ सक्न भनेको थियो । तर, टेलिकमद्वारा आइतबार जारी विज्ञप्तिमा यस्तो रकम उठे/नउठेको कुनै चर्चा छैन ।

स्रोतका अनुसार त्यसरी उठ्न बाँकी रकम अहिलेसम्म युटीएल लगायतका अन्य दूरसञ्चार कम्पनीहरुले टेलिकमलाई तिर्न अन्कनाइरहेका छन् । यसबारे के कस्तो प्रगति भएको छ भन्ने सम्बन्धमा आइतबारको टेलिकमको वक्तव्य पूरै मौन छ ।

सरकारले कामिनीलाई दिएका काम यस्ता थिए-

-ताररहित सेवातर्फ देशभर जीएसएम सेवा अन्तर्गत टुजी र थ्रजीसेवाको विस्तार गर्न १ करोड लाइन विस्तारको परियोजना/आयोजना ६ महिनाभित्र निर्धारित लागत, परिणाम र गुणस्तरमा पूर्ण रुपमा सम्पन्न गर्ने

-वायरलाइन सेवा विस्तारतर्फ आधारभूत टेलिफोन सेवालाई आईपी प्रविधिमा रुपान्तरण निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न गर्ने ।

-वायरलाइन सेवातर्फ काठमाडौंमा एफटीटीएचअन्तर्गत एक लाख लाइन जडान गर्ने कार्य आर्थिक वर्ष २०७५/७६ को ६ महिनाभित्र सम्पन्न गर्ने ।

-ग्रामीण दूरसञ्चार विकास कोषबाट मध्यपहाडी लोकमार्गको पूर्वी खण्ड (प्रदेश नम्वर १, २ र ३)मा अप्टिकल फाइबर विस्तार गर्ने आयोजना ६ महिनाभित्र ठेक्कापट्टाको कार्य सम्पन्न गरी काम सुरु गर्ने ।

-नेपाल टेलिकमअन्तर्गत सञ्चालित कार्यक्रम र आयोजनाहरु निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न गर्ने ।

-दूरसञ्चार प्राधिकरणबाट लागत व्योहोर्ने गरी भूकम्प प्रभावित चार जिल्लाका ७४७ स्थानमा ब्रोडब्याण्ड सेवा जडान गर्ने कार्य आर्थिक वर्ष २०७४/७५ को असार मसान्तसम्म सम्पन्न गर्ने ।

-कम्पनीको सेवा, सुविधा, पूर्वाधार विकास तथा विस्तारमा नेपाल सरकार र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएका निर्देशनहरु पूर्ण पालना गर्ने ।

-टेलिफोन सेवाको गुणस्तरमा सुधार गर्ने ।
-टेलिफोन मर्मत सेवालाई गुनासो प्राप्त भएको दुई दिनभित्र समाधान गर्ने प्रणालीको विकास गर्ने ।

-प्रमुख शहरहरुमा दूरसञ्चारका केबुल अण्डरग्राउण्ड गर्ने ।

-तीन महिनाभित्र बजार अध्ययन गरी बजार नीति ल्याउने ।

-नेपाल टेलिकमले लामो समयदेखि अन्य दूरसञ्चार कम्पनीहरुबाट उठाउन बाँकी रहेको इन्टरकनेक्सन वापतको करोडौं रकम दुई महिनाभित्रमा उठाउने ।

 

-अनलाइनखबरबाट