सुर्खेत । वीरेन्द्रनगरको धुलियाविटदेखी भेडावारी सडक खण्डको चिंगाड खोलामा पुल निर्माण गरिएको छ । झण्डै ६ वर्षदेखि निर्माण प्रक्रियामा रहेको चिङ्गाड खोलामा पुलको आईतबार ढलान सम्पन्न भएको हो ।
धुलियाविट–भेडावारी सडक खोलेको वर्षौ भएपनि चिंगाड खोलामा पक्की पुल नहुँदा स्थानीयहरुले वर्षातमा सास्ती खेप्नु परेको थियो । तर सडक डिभिजन कार्यालय सुर्खेत र कनकाई मल्ल जेबि दैलेखबीच २०६७ असोज ३ मा सम्झौता भएको थियो । कनकाईले १४ करोड बढी रकमको लागतमा बेलिव्रिजको ढलान कार्य सम्पन्न गरेसंगै आगामी असोजसम्ममा पुल सञ्चालनमा ल्याउन समन्वय भइरहेको लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले जानकारी दिए ।
चिंगाड खोलामा पुलको ढलान भएसंगै स्थानीयहरु खुसी भएका छन् । समयमै पुल नबन्दा लेकवेशी नगरपालिकाका नागरिकहरु सहज रुपमा वीरेन्द्रनगर आवतजावत गर्न सास्ती खेप्नु परेको लेकवेशीका प्रमुख सुनार बताउँछन् । उनले पुल निर्माण सकिएसंगै सडक स्तरोन्नतीका लागि समन्वय गरिरहेको जानकारी दिए ।
यो सडक खण्डमा झण्डै ८ महिना सवारी साधन सञ्चालन भएपनि वर्षातको बेला चिंगाड खोलामा बाढी आउँदा साउन र भदौमा सवारी आगावन बन्द हुने गरेको छ । पुल सञ्चालनमा आएमा लेकवेशी नगरपालिकाका नागरिकहरुलाई आवतजावत गर्न सहज हुनेछ ।
असोजदेखी पुल सञ्चालनमा आए वीरेन्द्रनगरदेखी छिन्चुहुँदै पूर्वी सुर्खेत जाने नागरिकलाई यो सडकबाट छोटो हुनेछ । हाल यो सडकखण्ड अवरुद्धहुँदा गुमी, लेखफर्सा, भोटेचुली, नेटा, दशरथपुर, कल्यान लगायतका नागरिकहरु हिडेरै रामघाटदेखी वीरेन्द्रनगर आउनु पर्ने बाध्यता छ ।
चिंगाड खोलाको पुल सञ्चालन आएसंगै पूर्वी सुर्खेतका नागरिकले सहज यातायात सुविधा पाउनुका साथै सुर्खेतबाट काठमाडौं जानलाई समेत हालको भन्दा ५० किलोमिटर दूरी छोटो पर्नेछ । मदन भण्डारी राजमार्ग अन्तरगत पर्ने धुलियाविट भेडावारी सडकको गुर्भाकोटको मेहलकुनाको पक्की पुल निर्माण भएर सञ्चालनमा आइसकेको छ भने बोटेचौर नजिकै निर्माणको चरणमा छ ।
दाङ पुरन्धारा–मालारानीहुँदै वीरेन्द्रनगर जोड्ने सडक पनि निर्माणकै चरणमा छ । तर स्थानीयले तत्काल धुलियाविट भेडावारी सडक खण्डलाई स्तरोन्नति गरेर कालोपत्रे गर्न यहाँका नागरिकहरूले माग गरेका छन् ।