☰ open Loading... 1 May 2024|  

होटलका बादशाह ‘भ्याली भ्यू माईला’
  | २९ श्रावण २०७५, मंगलवार १०:२३

सुशील खड्का
सुर्खेत । दैलेखस्थित साविकको विशाला गाविसमा जन्मिएका तर्कबहादुर शाही सानैदेखी मेहनति थिए । स्कुले जीवनदेखी नै अरुभन्दा पृथक काम गर्ने भावना उनमा जाग्थ्यो । सानो उमेरमै भारतसम्म पुग्ने अवसर पनि उनले पाए । फूपुहरु भारतमै बस्ने गरेकाले उनले केही वर्ष भारतमै बिताए । एसएलसीपछि उनले सुर्खेतमै दाजू पदमबहादुर शाहीको प्रेरणाले होटलमा प्रवेश गरे ।

एउटा होटल सञ्चालन गर्न र त्यहाँ पाल्ने ग्राहकलाई कसरी सेवा दिनुपर्छ भन्ने ज्ञान युवावस्थाको ब्रेनमा उनले दिनहुँ ठोक्काउथे । ‘होटलमा काम गर्नेहरुको काम नियाल्थे, होटल व्यवस्थापन र गेष्टहरुको रुम सजाउनु पर्ने हरेक काममा मेरो ध्यान हुन्थ्यो’ भ्याली भ्यू होटलका सञ्चालक शाही भन्छन्, ‘दाजु (पदमबहादुर शाही)ले सञ्चालन गरेको होटलकै कारण आज यो स्थानमा पुग्ने अवसर पाए । मलाई तर्क शाहीभन्दा पनि भ्याली भ्यू माईला भनेर अधिकाँशले चिन्ने गरेका छन् ।’


होटल यात्रा
देशमा सशस्त्र द्वन्द्वको अवशानपछि अवसर र सम्भावनाहरु चुलिन थाले । द्वन्द्वको प्रभावले होला वीरेन्द्रनगरमा जनघनत्व पनि ह्वात्तै बढेको थियो । सुर्खेतदेखी बाहिर जाँदा ठूला होटलहरु सञ्चालन गरेको देख्दा उनमा लाग्थ्यो वीरेन्द्रनगरमा पनि एउटा होटल खोलु ।

दाजुसंगै होटलमा गरेको काम र बाहिर घुम्दाको अनुभव र सिकाईलाई व्यवहारमा लागु गर्न होटल सञ्चालनको तयारीमा जुटे उनी । ‘दाजूसंग मात्रै कति काम गर्नु आफूपनि केही गर्नुपर्छ भन्ने भावना जाग्यो र ०६२ सालमा भ्याली भ्यू होटल पाँच लाख ५० हजार लगानीबाट सञ्चालनमा ल्याए’ हाेटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष समेत रहेका शाही भन्छन्, ‘प्रेरणासंगै बाध्यताले होटलमा भविष्य बनाउने बाटो चुन्यो । जेहोस् ग्राहकहरुलाई पूर्ण सन्तुष्टि गराउँदै होटलमै दिनहरु वेतित भइरहेका छन् ।’

वीरेन्द्रनगरमा होटल सञ्चालन गरेपछि उनलाई स्थापित हुन सक्दैन की भन्ने त्रास सधै खड्कीन्थ्यो । किनकी वर्षौदेखी होटलमै स्थापित भएकाहरुसंग प्रतिस्पर्धा गर्न उत्तिकै चुनौती थियो । हिम्मत हारिन् दिनहूँ ग्राहकहरुको रुमदेखी खानपानको अवस्थाबारे एक–एक रिपोर्ट लिन्थे र होटलमा पाल्ने ग्राहकहरुलाई पुनः फर्कने वातावरण बनाउने गरेको शाही बताउँछन् ।

‘ग्राहकको चाहना बुझेरै होला होटलमा राम्रैहुँदै गयो, विस्तारै ग्राहकहरुको चाप बढ्न थाल्यो’ शाहीले विगत सम्झिए, ‘झण्डै १३ वर्षअघि होटलमा बस्नु पर्छ भन्ने मानसिकता थिएन । तर ग्राहकहरुलाई एक पटक सेवा दिए फेरी फर्काउने वातावरण बनाउनु नै मलाई चुनौती थियो ।’

पाँच लाखबाट शुरु गरेकाे भ्याली भ्यू होटलकाे अहिलेकाे लागानी २ करोड ५० लाख पुगेको छ । २९ जनाले प्रत्यक्ष रुपमा राेजगारी पाएका छन् । अझै हाटेललाई सुविधा सम्पन्न बनाउन होटलको व्यवस्थापनमा खटिरहेको शाही बताउँछन् । परिवारदेखी सवैकाे साथले हाेटलमा थप लगानी गर्ने शाहस जुटेकाे उनकाे कथन छ ।

स्टे होटलको यात्रा
वीरेन्द्रनगरदेखी १३ किलोमिटरको दुरीमा पर्ने गढीलाई शाही जहिले पनि सुर्खेतको नगरकोट सम्झन्थे । गढीबाट छर्लङ्गै देखिने वीरेन्द्रनगर उपत्यका, भ्यालीभन्दा चिसो र शान्त वातावरण र त्यहाँसम्म पुग्ने अधिकाँश पर्यटकहरुले होटलको अभाव खड्कीएको भवना बुझेरै गढीमा होटल खोल्ने निधो गरे ।

वीरेन्द्रनगरकाे गढीमा रहेकाे स्टे होटल भ्यली भ्यू ।

यति मात्रै हैन ठूला हल भएका होटलहरु वीरेन्द्रगर उपत्यकामा नभएकै कारण अधिकाँश कार्यक्रम नेपालगञ्जमा हुँदा उनले महोत्वकांक्षी योजना बनाएर गढीमै स्टे होटल भ्यली भ्यूको अवधारणा बनाए । उनको यो योजनामा वीरेन्द्रनगरकै लिलाराम आचार्य र ऐनबहादुर शाहीले सहमति जनाए । अन्ततः झण्डै सात करोडको लागतमा गढीमा ठूलो हलसहितको हेलिकोप्टर ल्याण्ड गर्ने होटल सञ्चालनमा ल्याए ।

‘गढीमा होटल स्थापना गर्नुको प्रमुख उदेश्य गढीलाई पर्यटकीय गन्तव्य बनाउनु हो’ शाही भन्छन्, ‘गर्मी छल्न डाडामा पुग्नेले कम्तीमा नगरकोटको झल्को महशुस गरुन् र गुराँसेसम्मको शान्त वातावरणमा रमाउँदा खोजेको होटल सेवा लिन पाउन भनेर सञ्चालनमा ल्याएका हौं ।’

गढीमा स्थापना भएको स्टे होटल सञ्चालन नआउँदै विदाको सदुपयोग गर्नेहरु पुग्न थालि सकेका छन् । यति मात्रै हैन, रारा पुग्ने अधिकाँश पर्यटक एकवास यही होटलमा बसेर गन्तव्य हानिन्छन् । स्टे होटलले स्थानीयसहित २० जनालाई रोजगारी दिएको शाहीको भनाई छ ।

कामप्रतिकाे लगाव र स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाले उनी हाेटल व्यवसायलार्इ उचाँइमा पुर्याउँदै वादशाहका रुपमा उभिन थालेका छन् । शाही भन्छन्, ‘अाफ्नै भूमि अवसरकाे खानी हाे । यही श्रम गरे ढिला चाँडाे राम्राे अाम्दानी लिन सकिन्छ । लागेकाे कामप्रति लगाव भए खाडी जानै पर्दैन् । तर मनमा विचलन र अस्थिरता भने रहनुहुँदैन् ।’

राज्यप्रति गुनासो
जोखिम मोलेरै गढीमा होटल सञ्चालन गरेका शाहीले राज्यप्रति गुनासो पोखे । पश्चिम क्षेत्रमा शहरभन्दा बाहिर लगानी गर्नमा राज्यलाई नीजि क्षेत्रले सहयोग नगरेमा उनको दुखेसो छ ।

‘गढीमा करोडौंको लगानीमा होटल सञ्चानल ग¥याैं । त्यसको सुरक्षादेखी राज्यबाट पाउनु पर्ने आधारभूत सहयोग नपाउँदा हामी दुखिद् छौं’ शाही भन्छन्, ‘दक्ष जनशक्तिदेखी अन्य सेवा सुविधा उपलव्ध गराइदिने वातावरण राज्यले नबनाउँदा यस क्षेत्रको नीजि क्षेत्र माथि उठ्न सकेको छैन् ।’ होटल सञ्चालनमा राज्यले नै निश्चित मापदण्ड ल्याउनु पर्ने कथन उनको छ ।

‘होटलमा सर्च गरेर हुँदैन् । कतिपयले होटललाई गलत प्रयोग गरेका होलान्’ शाही भन्छन, ‘होटलको मापदण्ड तोकेर राज्यले पेशा व्यवसायलाई प्रवद्र्धन गर्ने प्याकेज ल्याउँए मात्रै कर्णालीको विकासमा टेवा पुग्छ ।’