☰ open Loading... 18 April 2024|  

एसियन गेम्समा नेपालले ३६ वर्षपछि गर्ला गोल ?
  | २९ श्रावण २०७५, मंगलवार १६:०२

काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार बेलुका साढे ६ बजे नेपालले जापानसँग खेल्दै छ । खेल इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा हुनेछ ।

नेपालको २३ वर्षमुनिको टोलीले पहिलो खेलमा नै जापानको २१ वर्षमुनिको टोलीको सामना गर्न सानो चुनौती छैन । एसियाली खेलकुदमा यसअघि जापानसँगका तीन खेलमा नेपालले १४ गोल खाएको छ ।

समग्रमा एसियाली खेलकुदका १५ खेलमा ६५ गोल खाएको नेपालले अहिलेसम्म १ गोल मात्रै गरेको छ । त्यो पनि आजभन्दा ३६ वर्षअघिको पहिलो सहभागितामा ।

एसियाली खेलकुदको औपचारिक उद्घाटन आउँदो शनिबार हुने भएपनि फुटबल लगायतका केही खेलहरु पहिले नै सुरु गरिएको हो । समूह ‘डी’ मा नेपालसहित जापान, पाकिस्तान र भियतनाम छन् ।

यसैका लागि थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण र दुई अभ्यास खेल खेलेको नेपाली टोलीलाई समूह चरणको पहिलो भेट नै जापानसँग हुँदा सहज देखिँदैन ।

सन् १९८६ मा दक्षिण कोरियामा भएको खेलमा जापानसँग ५-० ले हारेको नेपाल १९९८ मा थाइल्याण्डमा पनि ५-० ले साथै २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा ४-० ले हारेको थियो ।

यु-२३ मा तीन जना सिनियर खेलाडी राख्न पाउने ओलम्पिक नियमअनुसार नेपाली टोलीमा यसपटक किरण चेम्जोङ, रोहित चन्द र भरत खवास पनि समावेश छन् । टोलीको कप्तानी किरणले गर्दै छन् । हारबाट जोगिन मात्रै होइन सम्मानजनक नतिजा निकाल्न पनि उनीहरुको भूमिका प्रमुख रहने देखिन्छ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपाल यु-२३ ले भियतनाम यु-२३ सँग अगष्ट १६ मा र अन्तिम खेलमा पाकिस्तान यु-२३ सँग अगष्ट १९ मा प्रतिस्पर्धा गर्ने छ ।

नेपालको खराब इतिहास

एसियाली खेलकुदमा नेपालको इतिहास निकै खराब छ । नेपालले खेलेका १५ खेलमा १ गोल मात्रै गरेको छ भने ६५ गोल खाएको छ ।

नेपालले सन् १९८२ को एसियाली खेलकुदको फुटबलमा सहभागिता जनाएपछि अहिलेसम्म पाँच पटक सहभागी भएको छ । जसमा खेल जित्न त परको कुरा बराबरीसम्म पनि गर्न सकेको छैन । सन् २००२ पछि यु-२३ टोली सहभागी हुन थालेको एसियाली खेलकुदमा त्यसअघि राष्ट्रिय टोली नै सहभागी हुने नियम थियो ।

नेपालमा एसियाली खेलकुदमा हानेको एक मात्र गोल पनि पहिलो पटक १९८२ को सहभागिताका बेला नै थियो । त्यो बेला समूह चरणको पहिलो खेल कुवेतसँग ३-१ ले हार्दा नेपालका वाइबी घलेले एक गोल गरेका थिए ।

१९८२ को एसियाली फुटबलपछि नेपाल १९८६, १९९४, १९९८ मा सहभागी भएको थियो । त्यसपछिका प्रतियोगितामा सहभागी नभएको नेपाल पछिल्लो पटक २०१४ मा सहभागी भएको हो ।

नेपाललाई कसले कति गोल हाने ?

१९८२ मा : कुवेत ३ – नेपाल १, इराक ३ – नेपाल ०, म्यानमार ३ – नेपाल ०

१९८६ मा : जापान ५ – नेपाल ०, कुवेत ५ – नेपाल ०, बंगलादेश १ – नेपाल ०, इरान ६ – नेपाल ०

१९९४ मा : दक्षिण कोरिया ११ – नेपाल ०, कुवेत ८ – नेपाल ०, ओमन १ – नेपाल ०

१९९८ मा : भारत १ – नेपाल ०, जापान ५ – नेपाल ०

२०१४ मा : इराक ४ – नेपाल ०, कुवेत ५ – नेपाल ०, जापान ४- नेपाल ०

को को छन् नेपाली टोलीमा ?

गोलकिपर – किरण चेम्जोङ, एलेन न्यौपाने, सोजित गुरुङ ।

डिफेन्डर – अनन्त तामाङ, आदित्य चौधरी, गौरव बुढाथोकी, छिरिङ गुरुङ, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी ।

मिडफिल्डर – रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, तेज तामाङ, अन्जन विष्ट ।

फरवार्ड- विमल घर्तिमगर, सुमन लामा, सुनिल बल, अभिशेक रिजाल, भरत खवास ।