☰ open Loading... 18 November 2024|  

मुगुमा तराईको जिल्लामा भन्दा बढी औलोका बिरामी
  | २९ श्रावण २०७५, मंगलवार १६:२८

काठमाडौं – केही वर्ष अगाडिसम्म भित्रि मधेस र तराईका जिल्लाका रोगको रुपमा चिनिन्थ्यो औलो रोग। तर, औलोका बिरामी अहिले हिमाली जिल्लामा समेत भेटिन थालेका छन्।

पछिल्ला केही दिनयता मुगु र बाजुरामा औलोका बिरामी भेटिने क्रम बढ्दो छ। औलोका बिरामी भेटिने संख्या तराईका जिल्लामा भन्दा पनि बढी हुन थालेको भन्दै स्वास्थ्य मन्त्रालयमा चिन्ता थपिएको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका अरु जिल्लाभन्दा मुगुमा अहिले सबैभन्दा बढी स्थानीय औलोका बिरामी भेटिएका छन्।

औलोका बिरामीलाई दुई भागमा वर्गिकरण गरेर तथ्यांक लिने गरिन्छ। एउटा भारत लगायत विदेशका देशबाट फर्किएकामा देखिने औलोलाई आयातित र स्थानीयस्तरमा नै देखिएका बिरामीलाई स्थानीय औलोका बिरामी भनेर वर्गिकरण गरिएको छ।

महाशाखा प्रमुख डा विवेक कुमार लालका अनुसार मुगुमा अहिले देखिएका बिरामी स्थानीय औलोका हुन्। ‘यसको मतलब मुगुमा औलो गराउने लामखुट्टे छ्यापछ्याप्ती छन् भन्ने प्रष्ट हुन्छ,’ उनले भने।

महाशाखामा आएको तथ्यांक अनुसार मुगुमा असार २० गते यतामात्र हालसम्म १ सय ११ जनामा औलो भेटिएको छ। यो तथ्यांक मुगुको खत्याड गाँउपालिकाको दुई वडाको मात्र हो।

पछिल्लो केही वर्षयता स्थानीय औलोका बिरामी कैलाली जिल्लामा सबैभन्दा बढी देखिन्थे। तर, पछिल्लो ७ महिनासम्मको तथ्यांक हेर्दा कैलालीमा स्थानीय औलोका बिरामी ८० जना भेटिएका छन्। कैलालीमा भारतमा काम गरेर फर्केकाहरुमा देखिएको आयातित औलो सहित ७ महिनामा ३ सय ५ जनामा औलो देखिएको छ।

महाशाखामा आएको तथ्यांक अनुसार हालसम्म विगतमा औलो धेरै देखिएका जिल्लाहरुमध्ये झापामा ७, मोरङमा ६, सुनसरीमा ५, उदयपुरमा १, बारामा ३, सिरहामा ३, सप्तरीमा, ६, रौतहटमा ८, धनुषामा ११, महोत्तरीमा ११, पर्सामा ३, सर्लाहीमा ११, चितवनमा १५, बाँकेमा ६७, बर्दियामा १६ र दाङमा १९ जनामा औलो देखिएको छ। यो संख्या पनि आयातित र स्थानीय दुबैको हो।

तर, मुगुमा मात्र स्थानीय औलोको संख्या एक सय ११ जना देखिनु चिन्ताजनक भएको महाशाखाका कर्मचारी बताउँछन्।

मुगुमा औलोका बिरामी धेरै देखिएपछि महाशाखाले ती क्षेत्रमा निःशुल्क झुल वितरण गरिसकेको छ भने बिरामीको पनि निःशुल्क उपचार गरिरहेको छ। ती क्षेत्रमा अबको केही दिनमा नै लामखुट्टे मार्ने विषादी छर्कने कार्यक्रम रहेको निर्देशक डा लालले जानकारी दिए।

‘आयातित भन्दा पनि स्थानीय औलो बढी देखिनु चिन्ताजनक कुरा हो,’ उनले भने, ‘भारत लगायतका देशमा गएर आएका बिरामी भए मुगुमा लामखुट्टै छैनन् कि भन्ने हुन्थ्यो। तर, त्यहाँ त औलो गराउने लामखुट्टे र तीनिहरु बाँच्न सक्ने वातावरण पनि रहेका कारण थप चिन्ता बढेको छ।’

महाशाखामा आएको विवरण अनुसार हाल औलो देखिएको क्षेत्र कर्णाली नदी र खत्याड खोलाको बिचको क्षेत्रमा हो। उक्त क्षेत्रमा असार २२ देखि ३२ गतेसम्म औषत तापक्रम ३१ डिग्री सेल्सियस थियो। यो तापक्रममा औलो गराउने लामखुट्टै सहजै बाँच्ने र हुर्कने गर्छन्।

बाजुरामा पनि भेटिए
मुगु जस्तै बाजुरा जिल्लामा पनि औलोका बिरामी भेटिएका छन्। बाजुरामा पनि पछिल्लो दुई महिनामा ४० जना बिरामी भेटिएको तथ्यांक महाशाखामा आएको छ। बाजुराको कोल्टी पिप्लाडी क्षेत्रमा औलोका बिरामी भेटिएका हुन्।

स्थानीय भन्छन्– पालो ज्वरो
महाशाखा प्रमुख लालका अनुसार मुगु र बाजुरामा अहिले औलोका बिरामी भेटिए पनि ती स्थानमा विगतमा पनि औलोका बिरामी रहेको स्थानीयको भनाईबाट पनि प्रष्ट हुन्छ। स्थानीयहरुले अहिले औलोका बिरामीमा देखिएको लक्षण जस्तै बिरामी विगतका वर्षमा पनि भेटिएको र उनीहरुले त्यसलाई पालो ज्वरो भनेर चिन्ने गरेको पाइएको छ।

औलोमा सामान्यतया एक दिन बिराएर ज्वरो आउने लक्षण हुन्छ। दिन बिराएर ज्वरो आउने भएका कारण स्थानीयले उक्त रोगलाई पालो ज्वरोको नाम दिएको निर्देशक लालले जानकारी दिए।

‘अब हामीले उक्त क्षेत्रका विषयमा थप अध्ययन पनि गर्न लागिरहेका छौं,’ उनले भने, ‘उक्त क्षेत्रमा किन औलो देखिएको छ, यसका पछाडिका कारण के के हुनसक्छन् लगायतका कारण खोतल्न आवश्यक छ।’

तराई सहित यी ३२ जिल्लामा भेटिए औलोका बिरामी
महाशाखामा हालसम्म आएको विवरण अनुसार यो वर्ष ३२ जिल्लामा गरि करिब ११ सय औलोका बिरामी भेटिएका छन्। औलोका बिरामी भेटिएका जिल्लामा झापा, मोरङ, सुनसरी, उदयपुर, बारा, सिरहा, सप्तरी, रौतहट, धनुषा, महोत्तरी, पर्सा, सर्लाही, चितवन, सिन्धुली, काठमाडौं, कास्की, पर्वत, कपिलबस्तु, नवलपरासी, रुपन्देही, बाँके, बर्दिया, दाङ, मुगु, सल्यान, सुर्खेत, डडेलधुरा, कैलाली, कञ्चनपुर, अछाम, बैतडी र बाजुरा हुन्।

यीमध्ये आयातित र स्थानीय सबै गरी सबैभन्दा बढी कैलालीमा ३ सय ५ बिरामी भेटिएका छन्।

औलो लाग्ने कारण
औलो एक प्रकारको ज्वरो हो। यो रोग पोथी एनोफिलिस जातको लामखुट्टेको टोकाईका कारण हुने गर्दछ। चिकित्सकका अनुसार औलोको जीवनचक्रमा दुईवटा प्रवाह हुन्छन् । त्यहि जिवनचक्र पुरा गर्ने क्रममा नै यो रोग तीव्र गतिले फैलन्छ । पहिलो चक्रमा यो रोग संक्रमित लामखुट्टेले स्वस्थ व्यक्तिमा सर्ने गरेको छ । जब संक्रमित पोथी एनोफिलिस जातको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्छ, लामखुट्टेले आफनो र्‍यालसँगै व्यक्तिको रगतमा औलो परजीवीलाई पुर्‍याइदिन्छ। संक्रमित लामखुट्टेले टोकेको १० देखि १२ दिनपछि उक्त व्यक्तिमा औलो रोगको लक्षण देखा पर्दछ।

दोश्रो चक्र भनेको औलो रोगीबाट असंक्रमित पोथी एनोफिलिस लामखुट्टे भएर स्वस्थ व्यक्तिमा औलो सर्नु हो। औलो रोगीलाई टोकेपछि असंक्रमित पोथी एनोफिलिस लामखुट्टेले बिरामीको रगतसँगै औलोको परजीवीलाई समेत चुस्ने गर्छ। जसको १२ देखि १४ दिनपछि यो लामखुट्टे संक्रमित भएर औलो फैलाउन सक्षम हुन्छ र त्यसले जति पनि स्वस्थ व्यक्तिलाई टोक्छ उनीहरूलाई औलो रोग सार्दै जान्छ। औलो रोगीलाई दिनहुँ वा एक दिन छाडेर ज्वरो आउने गरेको छ।

लक्षण
औलो लागेपछि मानिसहरुलाई एक्कासि कामज्वरो आउने, अगाडि टाउको दुख्ने, हातखुट्टा तथा जोर्नी दुख्ने, अल्छी लाग्ने, मांसपेशी दुख्ने, ओठमा फोका देखिने, भोक नलाग्ने, जाडो भएर कम्प हुने र नरम वा मन्द ज्वरो आउने गर्दछ । टाउको असाध्यै दुख्ने, जाडो लागेर कम्प हुने, शरीरका हाडजोर्नीहरू दुख्ने, दिन बिराएर ज्वरो आउने, वाकवाकी लाग्ने, बान्ता हुुने, खानामा अरुचि हुने, पसिना आएर ज्वरो कम हुँदा शरीर हिउँ जस्तै चिसो हुुने, रक्तअल्पताका कारण अनुहार फुस्रो देखिने, कब्जियत हुने, फियो र कलेजो सुन्निने, ठूलो हुने र थिच्दा दुख्ने समेत गर्दछ ।

उपचार तथा रोकथाम
औलो लामखुट्टेको टोकाइबाट मात्र सर्दछ। औलो फैलिन तथा परजीवीको विकास र जीवनचक्र पूरा हुन लामखुट्टे र मानिस नभई हुँदैन । तसर्थ औलोको रोकथामका उपाय भन्नासाथ लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नुनै सवैभन्दा उत्तम उपाय हो। यसका लागि घरवरीपरी लामखुट्टे बस्ने बासस्थान नष्ट गर्ने, लामखुट्टेको टोकाइवाट जोगिने, राति सुत्दा सधै झुल प्रयोग गर्ने। यसका साथै शरीरका खुल्ला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउनुसमेत फाइदाकारी हुन्छ। लामखुट्टेविरुद्ध प्रयोग गरिने स्प्रे, लिक्विड, म्याट आदि समेत प्रभावकारी मानिन्छ। औलोले सताइसकेको छ भने चिकित्सककोमा गएर उपचार गराउनु उत्तम हुन्छ।