☰ open Loading... 23 February 2025|  

विद्यापुरकाे जनता क्यापसमा तालाबन्दी
  | ३१ श्रावण २०७५, बिहीबार १७:५०

सुर्खेत । विद्यार्थीहरुले माग पूरा नगरेको भन्दै पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको विद्यापुरमा रहेको जनता बहुमुखी क्याम्पसमा तालावन्दी गरेका छन् । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका संयुक्त विद्यार्थी संघर्ष समितिले तीन दिने अल्टिमेटममा दिँदा समेत माग पूरा नगरेको भन्दै क्याम्पसमा बिहिबार तालाबन्दी गरेका हुन् ।


क्याम्पस समायोजनको पूर्व सन्ध्यामा सञ्चालक समितिका अध्यक्ष र क्याम्पस प्रमुखको मिलेमतोमा प्रध्यापक र कर्मचारी समायोजनका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पेश गरेका विवरणहरु अवैधानिक भएको विद्यार्थीहरुको दावी छ ।

उनीहरुले अवैधानिक निर्णयहरु सच्याएर पेश गर्न क्याम्पस प्रशासन समक्ष माग राख्दा पनि सुनुवाई नगरेकाले क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका सुर्खेत संयोजक जगत ढकालले जानकारी दिए ।

उनले विद्यार्थीहरुका मागप्रति क्याम्पस प्रशासनले बेवस्था गरेकाले बाध्यभएर तालाबन्दी गरिएको बताए । विद्यार्थीका जायज मागहरु सम्बोन्धन नहुँदासम्म क्याम्पसमा लागेको ताला नखोल्ने चेतावनी विद्यार्थीहरुको छ । उनीहरुले क्याम्पस प्रशासनले अझै अटेरी र बलजफती गरे थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

संयुक्त विद्यार्थी संघर्ष समितिले बिहिबार जारी गरेको विज्ञप्तीमा अखिल क्रान्तिकारीका संयोजक ढकाल, अनेरास्ववियुका सुर्खेतका अध्यक्ष धुपेन्द्रबहादुर शाही, विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष कमल सिंहबुढा, अनेरास्ववियु छैठौंका संयोजक हरि बुढा, नेक्राविसंघका अध्यक्ष टिकाराम कंडेल र अनेरास्ववियु पाँचौका संयोजक रोशन थापाले तत्काल विद्यार्थीहरुका जाहेज मागहरु सम्बोन्धन गर्न माग गरेका छन् ।