☰ open Loading... 18 November 2024|  

सिडियो र एसपीलाई जनप्रतिनिधिले भने, ‘प्रदेश राजधानी लागु औषध हव बन्यो दुर्व्यसनी मात्रै पक्राउ हैन जरो नि उखलौं’
  | ४ भाद्र २०७५, सोमबार २०:३४

पश्चिमनेपाल डेस्क
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लागु औषध दुर्व्यसनीले पछिल्ला पुस्ता आक्रान्त भएकोमा वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका छन् । वीरेन्द्रनगर नगरको सुरक्षा व्यवस्था सम्वन्धी छलफल कार्यक्रममा सहभागी सुर्खेत सरुवा भएर आएका सिडिओ र एसपी समक्ष वीरेन्द्रनगर लागु औषधको हब भएकाले नयाँ युवा पुस्ता दुर्व्यसनीमा पसेकोमा नगरपालिकाका जनप्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका हुन् ।


नगरमा हुने अपराधका क्रियाकलाप बारे जानकारी दिँदै वडा नम्बर ९ का वडाध्यक्ष सुरेश मानन्धरले काँक्रेविहार जंगल क्षेत्रमा गस्ती बढाउन प्रहरीलाई आग्रह गरे । ‘काँक्रेविहार क्षेत्रमा पछिल्लो पटक लागु औषध दुर्व्यसनी गर्ने युवाहरुको जमात हुने गरेकाले घुम्न जानेहरु असुरक्षित हुने गरेका छन्’ मानन्धनरले भने, ‘लागु औषध दुव्र्यसनीका कारण अरु अपराधका घटनाहरु हुने गरेकाले प्रहरीले सक्रियता बढाउन जरुरी छ ।’

वीरेन्द्रनगर नगरपालिका ११ का वडाध्यक्ष नन्दलाल शर्माले लागु औषध दुर्व्यसनी मात्रै प्रहरीले पक्राउ गरेकोमा गुनासो गर्दै लागु औषध कहाँबाट भित्रिरहेको छ भन्ने जरो उखेल्न प्रहरलाई आग्रह गरे । ग्रामिण क्षेत्रमा प्रहरीको उपस्थिती नहुँदा लागु औषधका दुर्व्यसनी मध्यरातीसम्म अनियन्त्रित रुपमा मोटरसाईकल चलाउने गरेको शर्माको भनाई छ ।

‘प्रदेश राजधानीको सुरक्षा व्यवस्था नै प्रभावकारी नहुँदा छोरी चेलीहरु असुरक्षित भए’ शर्माले भने, ‘राजमार्ग र आवश्यक ठाउँमा प्रहरी विट स्थापना गरेर निगरानी बढाउन जरुरी छ ।’

तर वडा नम्बर ३ का वडाध्यक्ष भुपेन्द्र खत्रीले सूचना दिँदा पनि प्रहरीले दुव्र्यसनिलाई पक्राउ गर्नुको सट्ट उनीहरुसंगै हातमिलाएर हिड्ने गरेको बताए । यरिचौकको अव्यस्थित पार्किङ, तातापानी क्षेत्रमा लागु औषधका प्रयोगकर्ताले समाज नै आक्रान्त हुने अवस्थामा पुगेको जानकारी दिँदै खत्रीले भने, ‘सूचना दिँदा पनि प्रहरीले चुहावट गरेर उनीहरुसंगै मिल्दा सूचक असुरक्षित बन्नु परेको छ ।’

वीरेन्द्रनगर नगरपालिकाका १६ वडा मध्य अधिकाँश वडाध्यक्षहरुले लागुऔषधले पछिल्ला युवा पुस्तामा परेको प्रभावका बारेमा चिन्ता जनाएका थिए । उनीहरुले कालागाउँ क्षेत्र, बांगेशीमल, काँक्रेविहार, कालिका मन्दिर, तिनकुने चौक लगायतका क्षेत्रमा प्रहरीको उपस्थिति बढाउन माग गरे ।

नगर क्षेत्रमा अटो रिक्सा आतंक, राजधानीको मुख्य चौक अस्तव्यस्तहुँदा र कालोपत्रे निर्माण सम्पन्न सडकको पिच भत्किदा दुर्घटनाको त्रास रहेको जानकारी गराइएको छ । यस्तै, नगरका दर्जनबढी ठाउँमा प्रहरी विट स्थापना गर्नु पर्ने र घरेलु मदिराको नियन्त्रण गर्नमा सुरक्षा प्रशासन गम्भीर बन्न सरोकारवालाहरुले सुझाएका छन् ।

अपराधमुक्त नगर बनाउन समन्वय गछौं ः उपप्रमुख ढकाल

यसैविच, नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले प्रदेश राजधानीको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नगरपालिकाले सक्दो सहयोग गर्ने बताएकी छन् ।

सुर्खेत आएका सिडियो र एसपीलाई स्वागत गर्दै ढकालले नगर क्षेत्रमा हुने अपराधिक क्रियाकलाप रोक्नमा सुरक्षा निकायसंगै नगरपालिका समन्वय गर्न तयार रहेका उल्लेख गरिन् ।

‘शान्त र समुन्नत समाज निर्माण गर्ने दायित्व सुरक्षा निकायको मात्रै नभइ नगरपालिकाको पनि हो’ ढकालले भनिन्, ‘सबै घटनाहरु नगरपालिकाले न्युनिकरण गर्न नसक्ने भएकाले सुरक्षा प्रशासनसंगै हातेमालो गरेर अघि बढ्नेछौं ।’

 

र्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव र जिल्ला प्रहरी कार्यालयका एसपी बसन्त रजौरेले वीरेन्द्रनगर नगर मात्रै नभई समग्र जिल्लाको शान्ति सुरक्षा कायम गर्न कटिवद्ध रहेको बताए । उनीहरुले लागु औषध, घरेलु हिंसा, जुवातास, सडक दुर्घटना लगायतका घटनाहरु न्युनिकरण गर्न विशेष सुरक्षा रणनीति लागु गरिने जानकारी दिए ।

‘समग्र जिल्लाको वस्तुस्थित अध्ययन गर्ने क्रममा छौं’ एसपी रजौरेले भने, ‘केही दिनमा नागरिकहरुले सुरक्षा महशुस हुने खालको सुरक्षा रणनीति लागु गर्नेछौं ।’ सुर्खेत जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन र अपराधन नियन्त्रणमा सबै पक्षलाई साथ दिन एसपी रजौरेले आग्रह गरे ।