☰ open Loading... 26 February 2025|  

जुम्लामा स्याउ टिप्ने सिजन शुरु
  | ९ भाद्र २०७५, शनिबार १३:४६

जुम्ला । तिला गाउँपालिका ८ का प्रेमवहादुर बस्नेतलाई यो सिजनमा स्याउ टिप्न भ्याईनभ्याई छ। गत वर्ष साउन महिना देखि नै स्याउ टिप्ने गरिन्थ्यो ।

साउन महिनामै स्याउ टिप्दा स्याउको रंग नचढेको र नपाकेका हुनाले यहाँको स्याउको पहिचान खस्कने खतरा हुन्थ्यो । उनले भने,‘ यो पटक जिल्ला समन्वय समितिको सहकार्यमा स्थानीय तहले भदौ पहिलो साता सम्म स्याउ नटिप्ने उर्दि गरेपछि किसानलाई फाईदा पुगेको हो ।’ जुम्लाका सवै स्थानीय तहमा स्याउ टिप्न थालिएको हो ।

यो वर्षदेखि भदौ महिनामा मात्रै स्याउ टिप्न सुरु गरिएकोले निर्यात हुने स्याउ स्वादिलो र गुणस्तरीय हुने किसान वताउँछन्। प्रत्येक स्थानीय तहले नपाक्दै टिपेको स्याउको निर्यातका लागि सिफारीस नदिने निर्णय गरेपछि यो पटक स्याउ पाकेपछि मात्रै टिपिएको हो ।

चन्दननाथ नगरपालिकाका नारायण चौलागाई यो पटक रंग चढेको स्याउ वगैचामै टिप्न पाउदा दंग छन् । उनले भने, ‘ गत वर्ष सम्म हरियो स्याउ टिप्थ्याैँ, यो समय सम्म स्याउकाे निर्यात भएर सकी सक्थ्यो,अहिले स्याउ वोटमै छन, राम्रोसँग स्याउ पाकेकोले किसानले उचीत मुल्य समेत पाउनेछन् ।’

स्थानीय तहले प्रति केजी स्याउमा पचास पैसा कर समेत उठाउने भएका छन्। ‘स्याउ भदौ पहिलो साता सम्म टिप्न शुरु गर्ने सम्म थाहा पाएका थियौ,तर प्रतिकेजी स्याउमा कर तिर्नु पर्ने अहिले सम्म जानकारी भएन’ स्थानीय हर्कवहादुर बुढाले भने । यो पटक स्याउ ठिक समयमा टिप्न शुरु भएकोमा भने उनले खुसी व्यक्त गरे ।

टिपेका स्याउको स्थानीय तहले १० गते देखि निर्यातका लागि सिफारीस दिने भएका छन् । यो वर्ष जुम्लामा स्याउ प्रतिकेजी मुल्य न्युनतम ५० देखि ६० रुपैयाँमा किनबेच भईरहेको छ। स्याउ बगैचामा पुगेका व्यापारीलाई प्रतिकेजी ४५ रुपैयाँमा स्याउ दिइएको स्थानीय हर्कवहादुर बताउँछन ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत वालकराम देवकोटाले यो पटक उपयुक्त समयमा स्याउ टिपिएकाले स्याउले राम्रो मुल्य पाउने बताए । नागरिक