☰ open Loading... 18 November 2024|  

वीरेन्द्रनगरमा दैनिक ३१ टन फोहोर उत्पादन
  | ९ भाद्र २०७५, शनिबार १४:१०

सुर्खेत । वीरेन्द्रनगरको फोहोर व्यवस्थापनामा चुनौती देखिएको छ । दैनिक ३१ टन फोहोर उत्पादन हुने वीरेन्द्रनगरमा ५७ प्रतिशत कुहिने फोहोर देखिएको पनि व्यवस्थापन प्रभावकारी हुन नसकेको हो ।


वीरेन्द्रनगर नगरपालिकाले गरको अध्ययन अनुसार ३१ टन फोहोरमध्ये झण्डै ४३ प्रतिशत नकुहिने फोहोर छ । नकुहिने फोहोर बढ्दै गएपछि व्यवस्थापनमा समस्या देखिएको हो । वीरेन्द्रनगरमा दैनिक उत्पादन हुने फोहोर मध्य ८ प्रतिशत रबर, १२ प्रतिशत प्लाष्टिक, ४ प्रतिशत शिसा, ११ प्रतिशत पेपर, ४ प्रतिशत कपडा र ४ प्रतिशत अन्य अन्य फोहोर उत्पादन हुँदै आएको छ ।

जसमध्ये पनि ३० प्रतिशत फोहोर औद्योगित क्षेत्रबाट उत्पादन हुने गरेको छ । त्यस्तै ३५ प्रतिशत घर र ३५ प्रतिशत फोहोर सपलहरुबाट निस्कने गरेको छ ।

वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालले शिक्षित वर्गबाटै चौकचौकमा फोहोर फाल्नेक्रम बढेको बताइन् । उनले तत्कालै फोहोरा व्यवस्थापनमा कुनै बैकल्पिक उपाय खोज्न नसके आगामी दिनमा बजार नै दुर्गन्धित हुने बताइन् ।

नगरपालिकाले आफ्नो तहबाट वीरेन्द्रनगरमा संकलित फोहोरको दिर्घकालिन व्यवस्थापन गर्नमा कुनै कसर बाँकी नराखेको बताइन् । स्वस्थ र स्वच्छ नगरपालिका निर्माणमा सवै पक्षको साथ आवश्यक रहेको नगरपालिकाको अभियानमा साथ दिन आग्रह गरिन् ।

वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक टोपबहादुर दर्लामी मगरले जनप्रतिनिधिहरुले फोहोर व्यवस्थापनका लागि पटक–पटक पहल गर्दा पनि स्थानीयबाटै असहयोग हुने गरेको बताए ।

‘हामी नगरलाई स्वच्छ र सफा राख्नेकुरामा सधै सकारात्मक छौँ ।’ मगरले भने ‘तर स्थानीयहरुले सहयोग गर्दैनन् ।’ कार्यक्रमका सहभागीहरुले फोहोरमैला व्यवस्थापनका लागि जनचेतना बढाउँदै कारबाहीलाई जोड दिनुपर्ने बताएका थिए ।

अशिक्षित भन्दा पनि शिक्षित वर्गबाटै फोहोर बगेको भन्दै सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई कडा कानूनी सजाय हुनुपर्ने धारणा राखेका थिए ।