२०६२ साल फागुन ७ गते जिल्ला अस्पताल सुर्खेतबाट मध्यपश्चिमाञ्चाल क्षेत्रीय अस्पताल नामाकरण गरियो । ५० शैया अस्पताललाई पूर्वाधारविनै क्षेत्रीय अस्पतालको सेवा सुविधामा रुपान्तरण गर्दा एक दशक यता अभावै अभाव झेल्नु पर्यो । साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा क्षेत्रीय अस्पताल अत्यावश्यक नै थियो । सरकारले पनि साविकको जिल्ला अस्पताल सुर्खेतलाई क्षेत्रीय अस्पतालमा रुपान्तरण गर्यो ।
तर लामो समयसम्म यस क्षेत्रका विरामीहरु विशेषज्ञ सेवा लिन नेपालगञ्ज वा अन्य शहरहरुमा जानु पर्ने बाध्यता थियो । यति मात्रै हैन्, क्षेत्रीय अस्पताल सुर्खेतमा भएपनि सामान्य प्रकृतिका विरामीहरु उपचार सेवा लिन प्रायः अस्पतालमा कमै पुग्ने गर्थे ।
पछिल्ला वर्षहरुमा क्षेत्रीय अस्पतालले भौतिक पूर्वाधारमा सक्षम बनाउँदै विशेषज्ञसहितको सेवा दिँदा विरामीहरुको चाप बढ्न थालेको छ । यसै सन्र्दभमा रहेर मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतका मेडिकल सुपरिटेण्डेन्ट डा. डम्बर खड्कासंग पश्चिम नेपालका लागि सुशील खड्काले गरेको कुराकानी :-
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतलामै विरामीहरु जाँच गराउन आउने वातावरण कसरी बनाउनु भयो ?
म निमित्त मेसुहुँदा क्षेत्रीय अस्पतालका साना साना कमजोरीहरुलाई लिपिवद्ध गर्दै आएको थियो । कहिलेकाँही मेसु सर नभएको बेला हस्तक्षेपकारी रुपमा मेशीनरी चिजहरु राख्ने र विरामीहरुलाई सेवा दिनमै तल्लिन हुन्थे । तर पछि मैले मेसुको जिम्मेवारी पाएपछि विगतका दिनहरुमा अस्पतालका त्रुटी र अभावका बारेमा जानकार भइसकेको थिए ।
अस्पतालको सेवालाई प्रभावकारी बनाउन योजना बनाउन थाले । अस्पतालमा कार्यरत कर्मचारीहरुलाई पनि अनुशानमा हिड्न सिकायौं । यो नियमको उनीहरुले पालना गरेकै कारण एउटा सशक्त टिम तयार भयो र अपूरा कामहरु अघि बढाउन थाल्यौं । हुन् त संयोग पनि भन्नुपर्छ तत्कालिन स्वास्थ्य मन्त्री गगन थापालाई अस्पतालको विकासका लागि बजेट ल्याउन सफलहुँदा प्रभावकारी सेवा सञ्चालन गर्न सहयोग भयो ।
दाजू (पूर्णबहादुर खड्का) पनि पहुँचमा हुँदा अस्पताल विकास लागि लगिएका योजनाहरु कहिल्यै खेर गएनन् । यसले पनि यहाँको भौतिक पूर्वाधार र अन्य सेवाहरु सञ्चालनमा सहयोग पुग्यो । अस्पतालको राम्रो सेवा दिन अस्पताल व्यवस्थापन समिति (पहिला र अहिले) को सहयोग ठूलो रह्यो ।
हामीले अभाव भएका स्रोत साधनहरु समितिमा लग्यौं । दुवै समितिले यसमा समर्थन जनाउँदा अस्पतालको सेवाप्रति नागरिकहरुको विश्वास बढ्दै गयो । अस्पतालमा खटिनु भएका डाक्टरहरु हुन वा अन्य कर्मचारी हरुलाई आफूखुसी हिड्न दिएनौं । उहाँहरुलाई अस्पतालमै बस्ने वातावरण सिजर्ना गर्दा हाल अस्पतालमा सेवाग्राहीको चाप बढाउन सफल भएका हौं ।
तपाइँ आइसकेपछि कुन–कुन भौतिक पूर्वाधार थप भए भन्दिनुहोस् न ?
स्व. नन्दबहादुर कार्कीको परिवारले अस्पतालमै चार बेडको आइसियू वार्डको सञ्चालन गर्न सहयोग गर्नुभयो । उहाँका आफन्तसंग मैले सरकारी अस्पतालमा आइसियू नभएको जानकारी गराएपछि झण्डै ४५ लाखको सहयोगमा भवन निर्माण र सामग्री राख्दा उपचारमा थप सहयोग भयो । यस्तै, अस्पतालकै रकमबाट प्रस्तुती वार्डको निर्माण ग¥यौं । नयाँ भवन निर्माणकै चरणमै छ । अस्पताल हातामा सरसफाईमा ध्यान दिन विशेष योजना ल्यायौं । यसले यहाँ आउने विरामी र उनका आफन्तहरु विगतभन्दा राम्रो भएको प्रतिक्रिया पाएका छौं ।
तपाइँले अस्पतालको नेतृत्व नलिँदासम्म अस्पतालमा कस्ता कस्ता समस्याहरु थिए ?
हुन त् मभन्दा अघिको टिमले कामै गरेको थिएन् भन्न त मिल्दैन् । काम त भएकै थिए तर जति गर्नुपथ्र्यो त्यति काम अस्पतालको विकास लागि अप्रयाप्त थिए । यस अस्पतालको मुख्य समस्या भनेकै पूर्व योजनाविनै क्षेत्रीय अस्पताल घोषणा गर्दा लामो समयसम्म यस अस्पतालले प्रभावकारी सेवा दिन नसकेको सत्य हो ।
यहाँका जनताका लागि क्षेत्रीय अस्पताल अत्यावश्यक थियो, राज्यले क्षेत्रीय अस्पताल घोषणा गर्नु सकरात्मक पक्ष हो । तर क्षेत्रीय अस्पताल नामाकरण गरिसकेपछि राज्यले यसको विकास लागि विशेष ध्यान पु¥याउन पथ्र्यो तर त्यो काम नहुँदा अभावै अभावमा अस्पतालले दशक वितायो । अब विगतमै फर्किएर अल्झिनु मुर्खता हो ।
मैले जिम्मेवारी सम्हाल्दासम्म वेड रुमको अवस्था दयनिय, अप्रयाप्त भौतिक संरचना, भएका स्रोत साधन प्रयोगविहिन हुनु, अस्पतालमा कार्यरत डाक्टरहरुमा मनोमानी जस्ता विविध समस्या थिए । ति समस्याहरुको पहिचान गरेरै हामीले अस्पतालको विकास गर्नुपर्छ र यहाँका जनताहरुले सुर्खेतमै प्रभावकारी सेवा पाउनुपर्छ भनेर सशक्त भएर लाग्दा आज अस्पतालले राम्रो प्रगति गर्दै आएको छ ।
हाल अस्पताल कति शैयाको छ र कस्ता कस्ता सेवाहरु दिइरहनु भएको छ ?
अस्पतालमा हाल १२० शैयाको बनेको छ । ३५० शैयाको अस्पताल बनाउने हाम्रो लक्ष्य हो । ३५० शैयाको लागि अस्पताल निर्माणकै चरणमा छ । सरकार, अस्पताल विकास समिति र अस्पताल प्रशासनको सक्रियताले हामी अपग्रेडकै चरणमा छौं । जन अपेक्षाहरु बढ्दो क्रममा छन् । स्रोत साधन अप्रयाप्त भएपनि अस्पतालको गेट प्रवेश गर्ने विरामीहरुले प्रभावकारी उपचार गराउन बाहिर जान नदिने सेवा प्रवाह गरिरहेका छौं । अस्पतालले हालसम्म प्रस्तुती सेवा, पाठेघरको अप्रेशन, अर्थो, जनरल सर्जरी, बालरोग विशेषज्ञ सेवा, मेडिसियन, एनआईसीयू, आइसीयू, डायलोसिस सेवा लगायत दिइरहेका छौं ।
विशेषज्ञ सेवा क्षेत्रीय अस्पतालमै दिइराख्नु भएको छ । तर बाहिरी रुपमा क्षेत्रीय अस्पतालले प्रवभाकारी सेवा नदिएको गुनासो बेला बेलामा गुञ्जिरहन्छ । यसलाई कसरी चिर्नुहुन्छ ?
काम गर्नेक्रममा त्रुटी हुन्छ । हामी पनि त त्रुटीबाट पाठ सिक्दै अघि बढिरहेका छौं । अप्रयाप्त जनशक्ति हुँदाहुँदै पनि हामीले क्षेत्रीय अस्पतालको सेवालाई प्रभावकारी बनाउन खटिरहेका छौं । तर पनि विरोध भइरहेको छ । तपाइँलाई एउटा सानो घटना भन्छु, एकजना विरामी यहाँ उपचार गर्न आउनुभयो । उहाँलाई हामीले राम्रो उपचार गरिरहेका थियौं । उहाँका आफन्तले यहाँका डाक्टरहरुले उपचार राम्रो गरेनन् भने लखनऊ लिएर जानु भयो ।
लखनऊ उहाँलाई पु¥याएपछि त्यहाँका डाक्टरले तपाईले जहाँ विरामीलाई देखाउनु भएको छ । त्यहाँको उपचार प्रभावकारी छ । यतिका खर्च गरेर लखनऊ किन ल्याउनु भयो भनेर सोध्दा उहाँ (विरामीका आफन्त) ले लखनऊबाटै मिठाइँ लिएर हामीलाई यहाँ आएर खुवाउनु भयो । यो भन्नुको अर्थ आखिर हामीले पनि त राम्रो उपचार दिइरहेका रहछौं । हाम्रो मनशाय कसैलाई काखा र पाखा गर्ने सोच छैन् । यहाँ आउने सबैलाई उत्तिकै प्राथमिकतामा राखेर उपचार दिइरहेकै छौं ।
तर कतिपय यस्ता मान्छे आउँछन् दुईचार रकम भएकै कारण दम्भ देखाएर बाहिर हल्ला फैलाउने गरेका छन् । हेर्नुहोस, अहेवबाट शुरु गरेको स्वास्थ्य क्षेत्रको मेरो यात्रा ३५ वर्ष पुग्यो । मैले आफ्नै ठाउँको विकास लागि केही गर्छुभन्दा आलोचना हुन्छ र सबै उसैको मनपरी छ भन्नु गलत हो । तसर्थ विरामी, आफन्त र डाक्टरविचको सम्वन्ध नङ मासु जस्तै हुनुपर्छ । आलोचना गर्नेहरु गरिराखुन् तर क्षेत्रीय अस्पतालमा रहुञ्जेल यहाँको विकास लागि कटिवद्ध छु ।
अस्पतालमा दरवन्दीको अवस्था र विरामीहरुको चाप कस्तो छ भन्दिनुहोस् न ?
हामी कहाँ दरवन्दी अझै पूरा छैन् । कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानबाट तीन जना डाक्टरहरु आउँदा विशेषज्ञ सेवा दिन सहज भएको छ । तर यो अप्रयाप्त नै हो । हामीले कम जनशक्तिमै छिनिएको हातको शल्यक्रिया र पाँचसय ग्रामको शिशुको सफल उपचार सुर्खेतमै गरेका छौं ।
दरवन्दी पूरा गर्न सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमविविएस अध्ययन शुरु गर्नुपर्छ । यसले यहाँको जनशक्ति अभावलाई सहयोग पु¥याउँछ । सरकारले यसैवर्षदेखी एमडी.एम.एस. शुरु गर्ने तयारीमा छ । प्रतिष्ठान र क्षेत्रीय अस्पतालविच सहकार्य हुन जरुरी छ । सरकारले अघि सारेको गाउँसम्म विशेषज्ञ सेवामा यसले थप टेवा पुग्छ । तसर्थ यस विषयमा राज्य गम्भीर बन्न पर्छ ।
अस्पतालमा हाल दैनिक चारसय विरामीहरुले सेवा लिइराख्नु भएको छ । सरकारले ल्याएको स्वास्थ्य विमाले उपचारमा नागरिकहरुको पहूँच बढेको छ । वीमा गरेका मात्रै एकसयसम्म विरामीहरु अस्पतालमा आउने गरेका छन् । सबै सेवा क्षेत्रीय अस्पतालमै दिन थालेपछि विरामीहरुको चाप पनि बढेको हो ।
अस्पतालमा मुख्यगरी, मानसिक समस्या, महिलाहरुमा तल्लो पेट दुख्ने समस्या र गर्भपतन गराउनेहरुको संख्या अधिक छ । एक वर्षदेखी इएचएस सेवा शुरु गरेकाले पनि विरामीहरुको चाप दिनानुदिन बढ्दो क्रममा छ । अस्पतालमा आएका विरामीहरुले अब थप उपचारका लागि बाहिर नजाने वातावरण बनाउन हामी सक्षम भएका छौं ।
अन्त्यमा अस्पतालको विकास लागि आगामी योजना के छन् ?
सबैको सहयोगले नै हामीले अस्पताललाई यो स्थानसम्म पु¥याउन सफल भएका छौं । विगतमा सामान्य प्रकृतिका विरामीहरु उपचारको लागि बाहिरै जानु पर्ने बाध्यता थियो । ३५० शैयाको अस्पताल निर्माणकै क्रममा रहेकाले माघसम्म पूरा भए सेवा सुविधा विस्तार हुन्छ । अस्पतालको विकास लागि यहाँको समिति, प्रदेश सरकार र केन्द्रीय सरकारसंग समन्वय गरिरहेका छौं ।
केही मेशीनहरु अप्रयाप्त छन् । यसको पनि विस्तारै परिपूर्ति गर्दै लैजाने योजना छ । जनशक्ति र मेशीन औजारहरु थप्ने रणनीतिमा छौं । राज्यले दिँदै आएको निःशुल्क सेवा पनि उपलव्ध छ । सेवाको दुरुपयोग नगर्न आग्रह गर्दछु । साच्चै, प्रदेशको नमूना अस्पताल क्षेत्रीय अस्पताल बनाउने मार्गमा अग्रसर भएकाले सबै पक्षलाई साथ दिन आग्रह गर्दछु ।