☰ open Loading... 1 May 2024|  

दशैँ अगावै सिटी बसपार्क सञ्चालनमा आउने
  | २१ भाद्र २०७५, बिहीबार ०७:२८

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधिन बहूप्रतिक्षित सिटी बसपार्क दशैँ अगावै सञ्चालनमा आउने भएको छ । निर्माणाधिन बसपार्कको काम अन्तिम चरणमा रहेकाले वीरेन्द्रनगर नगरपालिकाले दशैँसम्ममा बसपार्क सञ्चालन गर्ने तयारी गरेको हो ।

निर्माणाधिन सिटी बसपार्कको पछिल्लो अवस्था बुझ्न बसपार्क पुगेका नगरपालिकाका पदाधिकारीहरु । तस्वीर सुशील खड्का ।

बसपार्क निर्माणको ९० प्रतिशत काम सकिएको छ । बसपार्कमा सटर, टर्मिनल भवन र कालोपत्रेको काम सकिएको छ । समय अगावै काम सम्पन्न गर्न नसके पनि बसपार्क निर्माण अन्तिम चरणमा रहेको वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

उप–प्रमुख ढकालसहितको टोलीले बुधबार बसपार्क निर्माणको पछिल्लो अवस्था बारे जानकारी पनि लिएको छ । ‘समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गर्दै आएका छौं’ ढकालले भनिन्, ‘अबको डेढ महिनाभित्रै बसपार्क नगरपालिकालाई हस्तान्तरण हुन्छ ।’

बसपार्क निर्माणका लागि नगरपालिकाले पटक पटक म्याद थप गर्दै आएको थियो । बसपार्क निर्माणको जिम्मा चाङ्गीला नर्सिङ जेभी काठमाडौंले लिएको छ ।

०७२ माघ १४ गते भएको सम्झौताअनुसार ०७४ जेठ १४ गते निर्माण सम्पन्न गरेर नगरपालिकालाई बसपार्क हस्तान्तरण गर्ने उल्लेख थियो । ६ करोड ८२ लाख ७५ हजार ८८९ रुपैयाँमा चाङ्गीला जेभीले नगरपालिकासंग सम्झौता गरेको हो ।

उक्त रकम अपुग भएपछि नगरपालिकाले थप ५५ लाख रकम निर्माण व्यवसायीलाई दिएर काम जारी छ । १० प्रतिशत मात्रै काम बाँकी रहेकाले दशैँसम्ममा बसपार्क नगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम जारी रहेको चाङ्गमीला नरसिंह–जे.भीका निर्माण व्यवसायी नरसिंह धामीले जानकारी दिए ।

‘बसपार्कको प्रमुख काम सकिएको छ’ धामीले भने, ‘प्रतिक्षालय, शौचालय र विद्युतको काम बाँकी रहेकाले एक महिनामै सकेर नगरपालिकालाई बसपार्क हस्तान्तरण गर्छौं ।’

वीरेन्द्रनगरमा स्थायी बसपार्क निर्माण नहुँदा मंगलगढी चौक नजिकै अस्थायी बसपार्कमा यात्रु र बस व्यवसायीलाई सास्ती झेल्नु परेको छ । मुख्य चौकमै बसपार्कहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती हुने गरेको छ । बस व्यवसायी समितिहरुले समयमै बसपार्क निर्माणनहुँदा साँघुरो ठाउँमा आफूहरुलाई सेवा प्रवाह गर्न सकस भएको बताउँदै आएका छन् ।

नयाँ निर्माणाधिन बसपार्क भित्र यात्रुहरुलाई बस्न छुट्टा छुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, महिला र पुरुष शौचालय, २ वटा गेट रहनेछन् । बसपार्कमा ९० ओटा साना ठुला बस अट्ने क्षमताको हो ।

निर्माणाधिन सिटी बसपार्कको पछिल्लो अवस्था बुझ्न वीरेन्द्रनगर वडा नम्बर ६ का अध्यक्ष माेतिप्रसाद कंडेल, वडा नम्बर १४ का अध्यक्ष्य टाेपबहादुर दर्लामी नगर विकास काेषका परामर्शदाता प्रेम अर्याल लगायतकाे टाेली पुगेकाे थियाे । उनीहरुले पनि निर्माण व्यवसायीस‌ंग छलफल गरेर दशैं अगावै बसपार्क सञ्चालन गर्नेगरी काम सक्न सुझाएका थिए ।