सुर्खेत । कर्णाली प्रदेशमा नै पहिलो पटक खुलेको राष्ट्रिय बीमा कम्पनी लिमिटेड सुर्खेत शाखाले कर्णालीको विकासमा योगदान दिने अपेक्षा गरेको कर्णालीका प्रदेश प्रमुख दुर्गाकेशर खनालले बताएका छन् ।

बुधबार वीरेन्द्रनगरमा आयोजना गरिएको शाखा समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सदियौंदेखि पछि पारिएको प्रदेशलाई समुन्नत बनाउन बीमा कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
‘विगतदेखि नै यहाँका जनता गरीबी, अभाव, प्राकृतिक विपत्तीको सामना गर्दै आएको इतिहास छ,’ प्रदेश प्रमुख खनालले भने, ‘अब कम्पनीले गाउँबस्तीमा गएर कृषि तथा पशुको बीमा गराई जोखिम न्यूनीकरण गरेर कर्णालीका जनतालाई आत्मनिर्भर बनाउन कोसेढुंगाको भूमिका निर्वाह गरोस् ।’
प्रदेश प्रमुख खनालले कर्णालीमा पशु तथा बालीमा अत्यन्तै समृद्धिको सम्भावना भएको बताउँदै कम्पनीलाई प्रदेशभर नै विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । ‘यहाँहरूलाई कर्णालीमा आएको देखेर म खुशी भएको छु,’ उनले भने, ‘हामी कर्णालीको चाहनालाई, आशा र अपेक्षालाई पूरा गर्न यहाँहरूलाई शुभकामना दिन चाहन्छु ।’
प्राकृतिक विपत्तिका कारण कर्णालीका जनताले ठूलो नोक्सान खेप्ने गरेका उनको भनाई छ । ‘बेला–बेला आउने हुरी, असिना, चट्याङलगायतका विपत्तीले कर्णालीका जनतालाई निरास बनाएको छ,’ उनले भने, ‘ती निरास किसानको जोखिम न्यूनीकरण गर्न र उनीहरूलाई पुरानै अवस्थामा ल्याई कृषि पेशाप्रति गौरव गर्ने बनाउन कम्पनीलाई मेरो आग्रह छ ।’
निजी बीमा कम्पनीले बीमा गरेका किसानलाई समयमै राहत नदिने गरेको सुन्नमा आएको बताउँदै प्रदेश प्रमुख खनालले सरकारी कम्पनी भएका कारण तत्काल जनतालाई क्षतिपूर्ति दिन र हरेक बस्तीमा सेवा विस्तार गर्न आग्रह गरे ।
‘सरकारी निकाय भएका कारण महत्त्वपूर्ण जिम्मा यहाँहरूको छ,’ उनले भने, ‘सरकारी काम भनेर कहिल्यै पनि काममा ढिलासुस्ती नगर्नुहोला । जनतालाई प्रवाह गर्ने सेवाका कुनै पनि कञ्जुस्याइँ नगर्न सम्बन्धित सबैलाई आग्रह गर्दछु ।’
‘अहिले जनताले लाखौंको लगानीमा कुखुरा पालेका छन्, तरकारी खेती गरेका छन्,’ उनले भने, ‘तर, असिना आउँदा वा कुनै रोग लाग्दा किसानले नै लाखौंको क्षति व्यहोर्नुपरेको छ । त्यो क्षति न्यूनीकरण गर्न वा जनतालाई पेशामा टिकाइराख्न कम्पनीले भूमिका निर्वाह गर्नेमा म पूर्ण आशावादी छु ।’
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले कम्पनीको कार्यालय सुर्खेतमा खुल्नु समृद्धिको झलक भएको बताए । ‘कम्पनीले जिल्लाभर सेवा प्रवाह गरोस्,’ उनले भने ।
सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले कर्णालीमा नयाँ कार्यालय खोल्न पाउँदा हर्षित भएको बताए । ‘हामीले १३ औं शाखाको रुपमा वीरेन्द्रनगरमा शाखा खोल्न सफल भएका छौं,’ उनले भने, ‘हामीलाई अत्यन्तै खुशी लागिरहेको छ ।’ अध्यक्ष उपाध्यायले कर्णालीमा सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
उनले सरकारी कम्पनीको हैसियतमा सामान्य किसान र आम नागरिकको सानोभन्दा सानो जोखिमको बीमा गरी सम्बन्धित व्यक्ति, किसान तथा व्यवसायीको आर्थिक हानी नोक्सानीको भरपाई गर्न सके मात्र आर्थिक समृद्धि आउने बताए । ‘निजी क्षेत्र नपुगेका ठाउँमा र पुग्न नसक्ने ठाउँमा विशेष पहल गरेर हामी पुग्ने छौं,’ उनले भने, ‘कर्णालीको विकटतासँग जुधेर भएपनि यहाँका जनतालाई सेवा दिन हामी तयार छौं ।’
कम्पनीको कार्यकारी प्रमुख वीरविक्रम रायमाक्रीले आफूहरूले गत वर्ष ५५ करोड नाफा गरेको बताए । ‘हामीले नाफामुखी मात्रै होइन, सेवामुखी कार्य पनि गर्दै आएका छौं,’ उनले भने, ‘सरकारी स्वामित्वको भएका कारण जनताले कुनै शंका मान्नु पर्दैन, ढुक्क भएर बीमा गरे हुन्छ ।’ कृषि, पशु, लघु बीमा कम्पनीले गर्दै आएको उनको भनाई छ ।
कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलीले शाखाले समग्र कर्णाली प्रदेशको आर्थिक विकासमा टेवा पुर्याउने विश्वास लिए । साथै कार्यक्रममा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत डुंगेश्वर गाउँपालिका–५ स्थित पिपलचौतारा माविलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
सहयोगले विद्यालयले गरिब विद्यार्थीलाई न्यानो कपडा खरिद गरी वितरण गरिने छ । नारायण नगरपालिकासँग कृषि तथा पशु बीमा सहकार्य सहमति समेत गर्ने जनाएको छ ।