सुर्खेत । नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ ।
प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ६ काे छिन्चु, ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो ।
अब हरेक प्रदेशमा प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा ट्राफिक कार्यालय सञ्चालन हुनेछन् । यसअघि पूर्वक्षेत्रीय ट्राफिक कार्यालय विराटनगर, मध्य क्षेत्रीय ट्राफिक कार्यालय पथलैया, पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवल, मध्यपश्चिम क्षेत्रीय कार्यालय कोहलपुर र सुदूरपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय धनगढीमा रहेको थियो ।
हाल देशभर ट्राफिक दरबन्दी दुई हजार ४०० को हाराहारीमा रहेको छ । जसमध्ये काठमाडौँ उपत्यकामा मात्र एक हजार ८५ रहेको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् त्यीमध्ये काठमाडौँ उपत्यकामा मात्र झण्डै १२ लाख सवारीसाधन रहेका छन् ।