☰ open Loading... 19 November 2024|  

‘प्रचारबाजी पसलले सामुदायिक विद्यालयको बदनाम गरे’
  | ४ आश्विन २०७५, बिहीबार ०७:१८

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर–१० घुस्रामा रहेको जनसेवा माध्यमिक विद्यालय २०४० सालमा स्थापना भएको हो । घुस्रा क्षेत्रका झण्डै सात सय बढी विद्यार्थीहरु यो विद्यालयमा हाल अध्ययनरत छन् ।

कक्षा एकदेखी १२ सम्म पढाई हुने विद्यालयको शैक्षिक गुणस्तर प्रभावकारी बनाएकै कारण विद्यार्थीहरुको चाप पनि राम्रै छ । विद्यालयले यसै वर्षदेखी प्राविधिक विषयतर्फ बाली विज्ञानको १८ महिने शिक्षा शुरु गर्न लागेको छ ।

तर सामुदायिक विद्यालयहरुले अब्बल शिक्षा दिइरहेको बेला सरकारले विद्यालयको मर्जको अवधारणा पनि अघि सारेको छ ।

सुर्खेतमा कतिपय विद्यार्थीहरु मर्ज समेत भइसकेका छन् भने केही हुने क्रममा छन् । यसै सन्दर्भमा रहेर जनसेवा माध्यमिक विद्यालय घुस्राका प्राचार्य भक्तबहादुर शाहीसंग पश्चिमनेपाल डटकमका लागि सुशील खड्काले गरेको कुराकानीको सम्पादित अंश ः


निकै व्यस्त देखिनु हुन्छ के काममा यति धेरै व्यस्तता बढाउनु भएको छ ?
विद्यालयको दैनिक कार्य सञ्चालनमा व्यस्तता छँदैछ । यसका अलवा वीरेन्द्रनगर–१० घुस्राको प्राथमिक तहका सवै शिक्षक र संस्थागत विद्यालयहरुका शिक्षकहरुलाई गुणस्तरीय शिक्षाका लागि सीप विकास अभिमुखिकरणको आयोजना गर्दैछौं । अहिले त्यसमै बढी व्यस्त छु । साथै, यही असोज ५ गते स्मार्ट विद्यालयको सम्मेलन हुन लागेकाले त्यसको तयारीमा पनि लागेको छु ।

सामुदायिक विद्यालयहरुमा विद्यार्थीको चाप घट्यो भन्दै सरकारले विद्यालय मर्ज गराउने काम पनि शुरु गरिरहेको छ । सुर्खेतमा पनि कतिपय विद्यालयहरु मर्ज भईसकेका छन् र केही हुने क्रममा छन् । विद्यालय मर्ज गरेर मात्रै सामुदायिक विद्यालयको शैक्षिकस्तर अब्बल हुन्छ त यसप्रति तपाइँको धारणा के हो ?
अहिले आएर सामुदायिक विद्यायहरु मर्ज गर्नु नै थियो भने उतिबेलै विद्यालय सञ्चालन गर्नु हुँदैनन्थ्यो भन्ने धारणा मेरो हो । अहिले आएर एक्कासी विद्यालय मर्ज गर्नु राम्रो पक्ष हैन् । विद्यालयको सेवा सुविधा कति हो भन्ने ध्यान उतिवेला पु¥याएको भए अहिले यस्तो समस्या सामुदायिक विद्यालयले भोग्नु पर्ने थिएन् ।

निजीले १० किलोमिटरसम्मका विद्यार्थीहरुलाई सेवा सुविधा विस्तार गरेर विद्यार्थीहरु लिइरहेका छन् । हुने खानेका छोराछोरी नीजि विद्यालयहरुमा अध्ययन गर्लान तर विपन्न र दलित सामुदायका विद्यार्थीहरु कहाँ पढ्ने ? सवाल गम्भीर छ तर राज्यले सामुदायिक विद्यालयलाई प्रभावकारी व्यवस्थापन नगर्दा यस्ता समस्या उत्पन्न भएका हुन् ।

सामुदायिक विद्यालय आफैमा कमजोर विद्यालय हैनन् । तर प्रभावकारी व्यवस्थापनमा राज्य चुकेकै कारण विद्यालय मर्ज गर्न लागिएको छ । यो सकरात्मक पक्ष हैन् । सामुदायिक विद्यालयहरुलाई सेवा सुविधा थप गरेर कमजोर विद्यालयको विकासमा आर्थिक सेवा सुविधा थप गरेको भए यो समस्या अहिले आउथेन् ।

कम विद्यार्थी स्कुलमा भर्ना भएभन्दै विद्यालय मर्ज गर्नुभन्दा विद्यार्थी बढाउन राज्यले लागानी गर्न सक्नु पथ्र्यो । तर समस्याको पहिचान गर्नुको सट्टा विद्यालय मर्ज गर्नु मात्रै राम्रो हैन् ।

तपाईँको विद्यालयमा आउने विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिन कसरी जुटिरहनु भएको छ ?
हाम्रो विद्यालयमा शैक्षिक गुणस्तरलाई माथि उकास्न कक्षा एकदेखी १२ सम्म विहान दश बजेदेखी बेलुका ४ बजेसम्म कक्षा सञ्चालन गरेका छौं । ११ र १२ मा पढ्नेलाई विहान पढाउँदा अप्रयाप्त समयले सबै बुझाउन गाह्रो हुन्छ । त्यसैले उनीहरुका लागि पनि दिउसो नै पढाइरहेका छौं । दिउसो पढायो भने समय प्रयाप्त हुन्छ । विगतका दिनमा ७ प्रतिशत मात्रै विद्यालयको उपलव्धी थियो ।

हाल यो प्रतिशत बढेर ६३ मा पु¥याएका छौं । यो प्रयाप्त त हैन् तर हामी गुणस्तरिय शिक्षा दिनमा अग्रसर भइरहेका छौं । विद्यालयमा पढ्न आउने विद्यार्थीहरुलाई टिकाई राख्न विद्यार्थीहरुको मनोभाव बुझेर शिक्षा दिइरहेका छौं । त्यहीँ कारण हाम्रो विद्यालयको शिक्षा प्रत्येक वर्ष बढ्दो क्रममा छ ।

यसै वर्षदेखी प्राविधिक शिक्षातर्फ बाली विज्ञानको अध्ययनको थालनी गर्नुभएको छ । यो सञ्चालन गर्नुको उदेश्य के हो ?
घुस्रा क्षेत्र आफैमा कृषि पकेट क्षेत्र हो । यहाँ हरेक समयमा मौसम अनुसारको खेती र व्यवसाय गर्न सकिन्छ । यहीँ विद्यालयबाट १२ कक्षा उत्तिर्ण गरेका विद्यार्थीहरु अलमलमा भएको देख्यौं । उनीहरुलाई व्यवसायिक बनाउन भविष्यमा स्वरोजगार बनुन् भन्ने उदेश्यले हामीले यसै वर्षदेखी बाली विज्ञान विषयको अध्ययनको थालनी गरेका हौं ।

बाली विज्ञान पढ्ने विद्यार्थीहरुलाई यहीँ नै माछा, तरकारी, मौरी, हेचरी जस्ता फर्ममा लिएर प्रयोगात्मक शिक्षा दिन सहज हुने भएकाले पनि यो शिक्षाको शुरुवात गर्न लागेका हौं । विद्यार्थी भर्नाका लागि सूचना आह्वान गरिसकेका छौं । ४० जना कोटा रहेको यो विषयको अध्ययन तिहार लगत्तै शुरु हुनेछ ।

सामुदायिक विद्यालयले अब्बल शिक्षा नदिएकै कारण नीजि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढेको भन्ने बाहिर चर्चा गरिन्छ । यो भनाईलाई कसरी चिर्नुहुन्छ ?
हेर्नुहोस्, बजारमा अनेकथरीका पसलहरु छन् । तिनहरुले अनावश्यक प्रचार नगरेसम्म उनीहरुको मनले शान्ति पाउँदैन् । म दावीका साथ भन्छु सामुदायिक विद्यालयहरु पनि शिक्षामा अब्बल छन् । संस्थागत विद्यालयमा पढाउने ति शिक्षकहरु पनि त कुनै समय समुदायिक विद्यालयमा अध्ययन गरेका थिए । उनीहरुले आज नीजिमा रोजगारी पाइरहेका छन् । कसैले पनि धरातल भुल्नु हुँदैन् । तथ्याङ्कमा हामी पछि छौं होला त्यो म स्वीकार छु ।

तर सामुदायिक विद्यालयले नै अनुशासन, नैतिकवान, केही गर्नु पर्छ भन्ने सोचको मान्यता बसाउने काम गरेका हुन् । सामुदायिक विद्यालयमै पढेका विद्यार्थीहरु देशका उच्च पदमा पुगेका छन् । अनावश्यक प्रचारको पछि मात्रै लाग्नुभन्दा सामुदायिक विद्यालय सर्वोसुलभ शिक्षा लिने थलो हो भन्ने हेक्का सबैमा हुन जरुरी छ । यसको विकासमा हामी पनि लाग्नु पर्छ भन्ने सकरात्मक सोच राखे अझै अब्बल शिक्षामा सामुदायिक विद्यालयहरु कम छैनन् ।

तपाईँहरुले बौद्धिक अपाङ्ग भएका विद्यार्थीहरुलाई पनि पढाइ राख्नु भएको छ । उनीहरुसंगै विद्यालयमा विद्यार्थीहरु टिकाइ राख्न कस्तो खालको रणनीति अवलम्बन गर्नुभएको छ ?
हो हामीले यस जनसेवा माविमा बौद्धिक अपाङ्ग भएका विद्यार्थीहरुलाई आवासिय सुविधा प्रदान गरेका छौं । यो विशेष शिक्षा अन्तरगत हामीले १० जना विद्यार्थीहरुलाई पढाइरहेका छौं । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईबाट १० महिनाका लागि आवासिय सुविधा उपलव्ध भइरहेको छ । उनीहरुलाई हामीले समाहित कक्षाबाट अध्यापन गराइरहेका छौं । समाहित कक्षा भनेको उनीहरुले अरु विद्यार्थीहरुको नक्कलबाट पढ्ने सिक्ने हो ।

सोही विधिमार्फत उनीहरुलाई पढाइरहेका छौं । यसका साथै हामीले समग्र विद्यालयको शैक्षिक गुणस्तर अब्बल बनाउन १८ महिने बालि विज्ञानलाई तीन वर्षे बनाउने योजनामा छौं । सिटिभिटीका तालिम विद्यार्थीहरुलाई दिएर पढाइ लगत्तै स्वरोजगार बनाउने शिक्षा दिनमा हामी प्रतिवद्ध छौं । पढाउने मात्रै हैन्, हामीले बजारमा विक्ने खालका विद्यार्थीहरु उत्पादन कसरी गर्न सकिन्छ भन्ने विषयमा विभिन्न पक्षसंग सल्लाह माग्दै पढाउँदै आएका छौं ।

विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृद्धिका साथै कक्षा कोठामै विपन्न समुदायका कक्षा एकदेखी तीनसम्मका विद्यार्थीहरुका लागि कापी कलम, पेन्सीलको व्यवस्था गरेका छौं । विपन्न, दलित, अपाङ्ग विद्यार्थीहरुबाट शुल्क लिदैँनौं । सरसफाई र खानेपानीको प्रयाप्ततामा विशेष ध्यान पु¥याएको छौं ।

विद्यालयको जनशक्ति बारे पनि बताईदिनुहोस् न ?
जनसेवा मावि घुस्रामा २४ जनाको जनशक्ति छ । शिक्षा नियमावली अनुसार कक्षा ९–१२ सम्म ८ जनाको दरवन्दी भनेको छ । तर सात जनाको मात्रै हामीसंग दरवन्दी छ । कक्षा ६–८ सम्म शिक्षक र विद्यार्थीहरुको अनुमान मिलेको छैन् । अन्य कक्षाहरुमा पनि विद्यार्थीहरुको चाप बढी भएकाले विभिन्न सेक्सनहरु छन् । त्यहाँपनि शिक्षकहरुको अभाव छ । जनशक्ति अभाव भएपनि हामीले नीजि स्रोतबाट व्यवस्थापन गर्दै आएका छौं ।

अन्त्यमा तपाईँकै कार्यकालमा जनसेवा माविको शिक्षालाई अझै पुरस्कृति र अब्बल बनाउने योजनाहरु के–के छन् ?
विद्यालयमा भौतिक पूर्वाधारहरुको कमी भएको छ । हामीले तत्काल ४ कोठे भवन निर्माणका लागि प्रक्रिया अघि बढाउने तयारीमा छौं । हाम्रो आफ्नै कृषि र विज्ञान ल्याव तथा पुस्तकालय तयारी अवस्थामा छ । कम्प्युटरमार्फत विद्यार्थीहरुलाई अनलाईन शिक्षा लिने थलोका रुपमा विकास गर्न कम्प्युटर शिक्षाका दिन व्यवस्थित ल्याव निर्माण गर्दैछौं ।

दैनिक हामीले १९ ओटा कक्षाहरु सञ्चालन गर्दै आएका छौं । विद्यालयको आफ्नै क्यान्टीन सञ्चालन गरेर विद्यार्थीहरुलाई विद्यालय परिसरमै नास्ता पसल सञ्चालन गर्नेछौं । समुदाय, सांसद, प्रदेश सरकार, स्थानीय सरकारका पदाधिकारीहरुसंग सरफाई सम्मेलनको आयोजना गरेर यूरोगार्ड जडान गर्ने तयारीमा छौं ।

साथै, विद्यालयमा अध्ययन गर्न आउने गरिव, विपन्न विद्यार्थीहरुका लागि छात्रवृद्धि कोष स्थापना गरेर विद्यार्थीहरुलाई स्कुलसम्म ल्याउने कसरत जारी रहनेछन् । समग्रमा जनसेवा माविको शैक्षिक विकासका लागि प्रयत्नशिल प्रयासहरु गरेर साच्चै सामुदायिक विद्यालयहरुमा राम्रो शिक्षा दिने विद्यालयको रुपमा हामी स्थापित गर्न अग्रसर छौं ।