डाेल्पा । लटरम्म फलेका स्याउ बोटमै छन् । पाकेर झर्न लागेका स्याउ टिपेर घरमा राखिएको छ । तर, स्याउका लागि प्रख्यात डोल्पाको रंगका बासिन्दाले प्रतिकिलोग्राम २० रुपैयाँ तोक्दा पनि बिक्री गर्न पाएका छैनन् ।
‘यो वर्ष धेरै स्याउ फलेको थियो । फलेर मात्रै के गर्नु, बिक्री भएको छैन् । बोटमै कुहिन लागेको छ,’ स्याउ कृषक फूलकुमारी बुढाले भनिन् । जुम्ला, डोल्पा र मुस्ताङलगायतको यो क्षेत्रमा रंगगाउँलाई स्याउको राजधानी भनिन्छ । यहाँको स्थानीय जातको स्याउ स्वादिष्ट हुन्छ ।
रंगसँगै जुफाल, डाँगिबाडालगायतका क्षेत्रमा पनि यो वर्ष स्याउ फसल छ । यो क्षेत्रमा व्यावसायिक स्याउ खेती गरिँदै आएको छ । स्याउ बिक्री नभएपछि गाउँमा आउने मान्छेलाई सित्तैमा खान दिने गरेको कृषक बताउँछन् । ‘घरमै कुहिनुभन्दा अरूलाई बाँड्छौँ, चिनेजानेका आफन्तका घरमा पठाउने गरेका छौँ,’ बुढाले भनिन् ।
स्थानीय बजारमा लैजाँदा पनि बिक्री नहुने गरेको किसानको गुनासो छ । ‘एक घर, एक स्याउ बगैँचा’ अभियान नै सुरु गरेको रंगगाउँमा फलेको स्याउ बिक्री नभएपछि किसान चिन्तित छन् । आधाजति बिक्री भइसक्नुपर्ने वेलामा २० प्रतिशत पनि बिक्री नभएको कृषकले बताएका छन् ।
कर्णाली विशेष कृषि कार्यक्रमअन्तर्गत सडकको पहुँच नपुगेको डोल्पाका स्याउ किसानले सुर्खेत, नेपालगन्ज, भैरहवा र काठमाडौं लैजान ढुवानीमा अनुदान पाउँदै आएका थिए । त्यससँगै स्याउ प्याकेजिङको लागि कार्टुनको समेत व्यवस्था गर्दै आएको थियो । स्थानीय तहले ढुवानी अनुदान हटाएपछि समस्या आएको कृषकको भनाइ छ । ‘ढुवानी अनुदानको व्यवस्था नगरिँदा गाह्रो भयो,’ कृषक हिरालाल बुढाले भने ।
डोल्पामा स्याउ भण्डारणका लागि राम्रो कोल्डस्टोर पनि छैन । यहाँका कोल्डस्टोरमा ५० प्रतिशत कुहिने गरेको छ । माटोको चिस्यानयुक्त कोल्डस्टोर भएकाले माटो र पानीका कारण स्याउ स्टोरमै कुहिने गरेको कृषक बुढाले बताइन् । यहाँका स्याउ बगैँचामा बर्षेनि २५ हजार टनको हाराहारीमा स्याउ उत्पादन हुने गरेको तथ्यांक छ ।
गत वर्ष दुई लाखको स्याउ बिक्री गरेकी फूलकुमारी बुढा यस वर्ष त्यसको आधा पनि आम्दानी हुनेमा विश्वस्त छैनन् । दुई सय ५० बोटमा स्याउ लटरम्मै फलेको उनले बताइन् । तर, प्रतिकिलो २० रुपैयाँमा पनि बिक्री नभएको उनले दुखेसो गरिन् । स्थानीय बासिन्दा नवराज बुढाले सस्तोमा बेच्दा पनि स्याउ बिक्री नभएको बताए । ‘अर्गानिक स्याउ २० देखि २५ रुपैयाँमा बिक्री गर्दा पनि व्यापारी खरिद गर्न आएका छैनन्,’ उनले भने । यातायातको पहुँच नभएकाले रुकुम, जाजरकोट र सल्यान लग्न पनि समस्या भएको उनको भनाइ छ ।