घोडाबास (दैलेख) । गुराँस गाउँपालिका अहिले अस्थायी केन्द्रबाट नै संचालन भइरहेको छ । स्थानीय तह संचालनमा आएको एक बर्षभन्दा धेरै भइसक्दा पनि स्थायी केन्द्र तोक्न सकिएको छैन् । स्थायी केन्द्र काँहा राख्ने विषयमा चैत ९ गते मतदान समेत भयो । तर मतदानबाट केन्द्रको टुङ्गो लाग्न नसकेपछि पुनः केन्द्रको विवाद शुरु हुन थालेको छ ।
केन्द्रको लागि गत चैतमा बसेको कार्यपालिका बैठकले रानीमत्ता र घोडाबासलाई विकल्प बनाएको थियो । अनि मतदान समेत हुदा जनप्रतिनिधिहरु विभाजित भएका थिए । जस मध्य २४ जना जनप्रतिनिधिले रानिमत्ताको लागि मतदान गरेका थिए भने १९ जना जनप्रतिनिधिले घोडाबासको लागि मतदान गरेका थिए ।
गाउँपालिका अध्यक्ष निर्णायक हुने भएकाले अध्यक्षको भोटलाई सुरक्षित राखिएको थियो । दुइवटै ठाउँमा दुइतिहाई नपुगेपछि अस्थायी केन्द्र घोडाबासबाटै काम संचालन भइरहेको छ । गाउँपालिका तथा नगरपालिकाको सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट एकपटकका लागि स्थानीय तहको नाम, केन्द्र वा दुवै परिवर्तन गर्न सकिने उल्लेख छ ।
केन्द्र कहाँ राख्ने ? यस्तो छ जनप्रतिनिधिको धाराणा
गुराँस गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले केन्द्रका विषयमा आ–आफ्नो धाराणा सार्बजनिक गरेका छन् । वडा नम्बर १ का अध्यक्ष नरबहादुर रामजालीले भौतिक संरचना र हावापानीको दृष्टिले गाउँपालिकाको केन्द्र रानीमत्ता नै उपयुक्त हुने भन्दै त्यसमा विवाद गरिरहन आवश्यक नरहेको बताए ।
उनले केन्द्र बिचमा नै हुनुपर्छ भन्ने मान्यता रहेको भन्दै केन्द्र हुनलाई सबै कुरा मिल्नु आवश्यक रहेको स्पष्ट पारे । वडा नम्बर २ को आफ्नो धाराणा प्रस्तुत गर्दै वडा अध्यक्ष रत्न रावलले छलफलबाट केन्द्रको टुङ्गो लगाउनुपर्ने बताए । उनले सबैको सहमती र जनताको चाहानाअनुसार केन्द्र निर्धारण गरिनुपर्नेमा जोड दिए ।
वडा नम्बर ३ का अध्यक्ष गंगाराम खत्रीले जनतालाई उपयुक्त हुने ठाउँको खोजी गरिनुपर्ने भन्दै जनताको चाहानाअनुसार र भौगोलिक बनावट अनुसार गुराँसे रानिमत्ता केन्द्र निर्धारण हुनुपर्नेमा बताए । उनले मौसमको दृष्टिले घोडाबास केन्द्र उपयुक्त भएपनि सबै जनतालाई पायक पर्ने ठाउँ रानिमत्ता नै भएको बताए ।
यस्तै, वडा नम्बर ४ को धाराणा प्रस्तुत गर्दै वडा नम्बर ४ का वडा अध्यक्ष खड्ग बहादुर शाहीले समग्र गाउँपालिकाभर मध्यमार्गी सडक संचालन गरिन लागिएको भन्दै सबैलाई पायक पर्ने ठाउँ भनेको घोडाबास भएको बताए । उनले घोडाबास केन्द्र हुन नसक्ने हो भने मध्यमार्गी सडक किन बनाउन लागिएको भन्दै प्रश्न गरे ।
वडा नम्बर ५ को तर्फबाट आफ्नो धाराणा राख्दै वडा अध्यक्ष सुरेन्द्र महताराले सबैलाई केन्द्रविन्दु हुनेगरी केन्द्र निर्धारण गरिनुपर्ने भन्दै सबैको छलफलबाट र सुझावबाट केन्द्र हुन जाहाँ उपयुक्त हो त्यहा केन्द्र तोकिनुपर्नेमा जोड दिए ।
वडा नम्बर ६ का अध्यक्ष हिम बहादुर ओलीले पनि सबै जनताले चाहेको केन्द्र गुराँसे रानिमत्ता हुनुपर्नेमा आफु पहिलेदेखि लागिरहेको बताए ।
उनले जनताको काम गर्नको लागि नै आफुहरु जनप्रतिनिधि भएको भन्दै जनताको इच्छाअनुसार काम गर्ने बताए । वडा नम्बर ७ को धाराणा प्रस्तुत गर्दै वडा नम्बर ७ का वडा अध्यक्ष हुकुम बहादुर खत्रीले स्थायी केन्द्र बनाउन अब ढिला गरिन नहुने भन्दै रानिमत्ता केन्द्रको लागि उपयुक्त ठाउँ रहेको बताए । उनले जनताले चाहाना र पायक पर्ने ठाउको रुपमा रानिमत्ता उत्तम भएको ठहर गरिएको बताए ।
वडा नम्बर ८ का वडा अध्यक्ष पूर्ण बहादुर ओलीले रानिमत्ता गुराँसे केन्द्रबिन्दु पर्ने र जनताको चाहानाअनुसार वडामा निर्णय भइसकेका कारण गाउँपालिकाको केन्द्र गुराँसे रानिमत्ता हुनुपर्ने बताए । उनले अहिले केन्द्रको विषयमा आफुहरुले गलत निर्णय गरे पश्चाताप हुने बताए ।
गाउँपालिका उपाध्यक्ष दीपा विसीले गाउँसभाले गर्ने निर्णय नै सर्बमान्य हुने भन्दै त्यो अहिले नै भन्न नसकिने बताइन् । गाउँपालिका अध्यक्ष खेमराज ओलीले छलफलबाट जनतालाई उपयुक्त हुने ठाउँमा केन्द्र बनाउनुपर्ने भन्दै त्यसको लागि सबै जनप्रतिनिधि एक हुनुपर्ने बताए ।
उनले अहिलेको निर्णय बैज्ञानिक र व्यवहारिक रुपमा गर्न सक्नुपर्ने भन्दै सबै गाउँसभाका जनप्रतिनिधिको बहुमत नै स्वीकार्य हुने धाराणा राखे । उनले स्थायी केन्द्र निर्धारण गर्न अब ढिला गर्न नहुने पनि उल्लेख गरे ।
केन्द्रको विषयमा धेरै विवाद क.गर्नुभन्दा भुगोल, भौतिक संरचना तथा वातावरणलाई ध्यान दिएर उपयुक्त ठाउँमा केन्द्र राख्न उपयुक्त हुन्छ ।