☰ open Loading... 19 April 2024|  

नेपाली कांग्रेसकाे मस्यौदा विधान माथि कर्णालीमा सुझाव संकलन
  | ९ आश्विन २०७५, मंगलवार ०८:०६

सुर्खेत । नेपाली काँग्रेसले सोमबारदेखि मस्यौदा विधानमा कार्यकर्ताको सुझाव संकलन सुरु गरेको छ । वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय भेला आयोजना गरी मस्यौदा विधानमाथि सुझाव संकलन सुरु गरेको हो ।

भेलाको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री चित्रलेखा यादवले जग कमजोर भएको घर बलियो नहुने भन्दै घर बलियो बनाउन जग मजबुत हुनु पर्नेमा जोड दिईन् ।

बलियो र संगठित काँग्रेसका लागि स्थानीय तहदेखि संगठन बलियो हुनु पर्ने उनको तर्क छ । ‘नेपाली काँग्रेस शक्तिको विकेन्द्रिकरण चाहन्छ’ उनले भनिन्, ‘त्यसका लागि हामी वडास्तरसम्म पुग्न चाहान्छौ ।’ काँग्रेसको संगठन सुदृढीकरण र बलियो बनाउन तल्लो तहका समितिहरु बलियो बनाउनु पर्ने उनको भनाई छ ।

नेपाली काँग्रेस कार्यकर्ताको एकताको बलले मुलुकको ठुलो पार्टी बन्ने भन्दै उनले काँग्रेस एकता अबको अपरिहार्यता भएको बताईन् । विभिन्न कालखण्डमा भएका आन्दोलनको नेतृत्वदायी भुमिका खेलेको काँग्रेसले अब समृद्धिको नेतृत्व गर्ने योजनासहित कार्यकर्तामाझ जानु पर्नेमा जोड दिईन् । ‘अबको चुनावमा मुलुककै पहिलो पार्टी कसरी बनाउन सकिन्छ ? सबैले यस्तै चिन्ता गर्न जरुरी छ’ उनले भनिन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा विधान मस्यौदा समितिका सदस्य प्रदीप पौडलले विधान निर्माणमा कार्यकर्ताको अधिकतम् सहभागिताका लागि मुलुकका सात वटै प्रदेशमा सुझाव संकलन थालिएको बताए ।

पार्टीका कार्यकर्ताको सुझावका आधारमा बनाउन लागिएको विधान नेपालका अन्य लोकतान्त्रिक पार्टीहरु भन्दा समावेशी हुने दावी गरे । ‘मस्यौदा विधानमा कार्यकर्ताको सुझाव संकलन पछि पूर्ण बनेको विधान नेपालका सबै पार्टीहरुको भन्दा समावेशी विधान बन्नेछ’ उनले भने, ‘नेपालको संविधानका सबै प्रावधानहरुलाई हुबहु आत्मसात् गरेको पार्टी बनाउन यो विधान सफल हुनेछ ।’

विधान मस्यौदा समितिका सदस्य मानबहादुर विश्वकर्माले मुलुकको संघीय संरचना अनुसार पार्टीका संरचना लैजान सुझाव संकलन गर्न लागिएको बताए ।

‘नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हुनुको नाताले पार्टीको विधान निर्माणमा पनि आम कार्यकर्ताको सहभागिता बढाउन जरुरी छ’ उनले भने । पार्टीको विधान ५२ वटा धारा रहेको भन्दै सहभागितालाई विभिन्न पाँच समूहमा विभाजन गरी छलफल थालिएको छ ।

नेपाली काँग्रेसको केन्द्रीय समितिले असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा पुगी समितिका सदस्यले सुझाव संकलन गर्ने कार्यक्रम राखिएको छ ।

सुझाव संकलनमा कर्णाली प्रदेशका सबै जिल्लाका पार्टी सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पार्टीकातर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुख गरी दुई सय जना सहभागी हुने नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए ।