कमल खड्का ‘जुनी’ सुर्खेतका प्रख्यात व्यवसायी हुन् । नाम कमाउन जति मेहनत गरे उनले जिन्दगीको यो गोरेटोसम्म आइपुग्न थुप्रै संघर्षसंग जुधे । खाउ खाउ र लाउ लाउ भन्ने उमेरमै अभिभावक गुमाए । कयौं रात गाडीको स्टे«रिङ्गमै बिताए । साविकको गाविस छिउडी पुसाकोट–१ मा जन्मिएका जुनीले कर्मभूमी सुर्खेतलाई चुने । ‘जन्मेको एक वर्षमै बावाले मलाई सुर्खेत ल्याउनु भएछ’ जिन्दगीका पानाहरु खोल्दैगर्दा खड्काले भने, ‘जन्मभूमिमा मेरो देन केही रहेन जति संघर्ष गरे यहीँ सुर्खेतमै गरे ।’
ईगरव्रिज बोर्डिङ स्कुलबाट अक्षर चिनेका खड्काले कक्षा पाँचसम्म नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाडाँस्कुलमा पढे । बाँकी एसएलसी वीरेन्द्रनगरकै जनमाविमा पढे । १५ वर्षको उमेरमा खड्काले आमा गुमाए । अामा गुमाएको दुई वर्षअघि मात्रै उनले आफ्नो दाजु गुमाई सकेका थिए । अामा र दाजु गुमाउँदा जुनिका दुखका दिन शुरु भए ।
जिन्दगीमा पढेर राम्रो जागिर खाउला भन्ने सोचेका जुनीका सपना चकनाचुर भए । चाहेर पनि थप केही गर्ने आँट उनमा आएन् । भविष्यको मार्गदर्शक बन्नलाई प्रयाप्त रकम पनि त थिएन् । जिम्मेवारीले कलिलो उमेरमै संघर्षसंग जुध्न बाध्य बनाएपछि पढाईमा ब्रेक लाग्यो ।
सुर्खेतदेखी बाहिरका जिल्लामा पुग्न उबेला विस्तारै सडक छिचोलिदै थिए । गाडी लाइनमा विदाको समयमा हिड्ने जुनीलाई गाडीप्रति लगाब भयो । ‘असिम भण्डारीको ना १ ख ९५२९ नम्बरको गाडीमा कहिले काँही हिड्थे’ जुनिले ति दिन सम्झना गरे, ‘गाडीमा हिड्दा रुपैयाँ गन्न पाइने, राम्रो खाना खान पाइने र यात्रुले गाडीका स्टाफलाई राम्रो व्यवहार गर्ने शैलीले गाडीमै हिड्न मोहित गरायो ।’
गाडीमा लाग्ने प्रेरणा असिम भण्डारीबाट पाएका जुनीले उनकै गाडीमा कन्डक्टरको काम गर्ने जिम्मेवारी पाए । सुर्खेत–दैलेख रुटमा केही वर्ष उनै भण्डारीसंग जुनीले काम गरे । २०५९ सालपछि श्रेष्ठ इम्पोरियमको गाडीमा हिडे । त्यहीँ बेला उनले सवारी चालक अनुमति पत्र निकालेर बस समेत चलाए ।
‘एक वर्षसम्म सुर्खेत–चुप्रा रुटमा बस चलाए’ खड्काले भने, ‘जिउनका लागि यो बाहेक अन्य विकल्प थिएन्, सशस्त्र द्वन्द्वका कारण अर्को छुट्टै काम गर्न हिम्मत नि त आउथेन् ।’ २०६१ मा उनका भिनाजु (सुदर्शन श्रेष्ठ) सहितको टिमले सुर्खेतमा पहिलो पटक मध्यपश्चिमाञ्चल माइक्रो यातायात समिति भित्रायो ।
त्यहीँ समितिमा भिनाजुको भे १ ज २४४ को हाइस गाडी चलाए । सुर्खेत–नेपालगञ्ज रुटमा जुनीले गाडी चलाउथे । पारिवारिक घुमघामका लागि पाल्पा जाँदै गर्दा जुनीले चलाएको हाइस गाडी दुर्घटना भयो । भाग्यबस् गाडीमा क्षती पुगेपनि उनीसहित परिवारका सदस्यहरुलाई केही भएन् । तीन महिनासम्म जुनीले गाडी चलाएनन् ।
तर पछि पुनः भिनाजुले नयाँ हाइस किनेपछि जुनीले फेरी गाडी चलाउन शुरु गरे । उनले दैनिक नेपालगञ्ज रुटमा तीन ट्रिप गर्थे । कयौं रात गाडीमै सुत्थे । विहानहुँदै पुनः उहीँ दैनिकी शुरु हुन्थ्यो ।
‘स्ट्रेरिङ्ग छुटाउने प्रेमिका’
दैनिकझैँ नेपालगञ्ज रुटमा उनी गाडी चलाउँथे जुनी । त्यो दिन सुर्खेत आउने क्रममा कोहलपुरमा अन्य समितिका पदाधिकारीहरुसंग ठूलै हानाहानसम्मको झगडा भयो । जुनी पनि कुटिरहेको दृष्य उनकी प्रेमिका विनिता तन्डुकारले नियाली रहेकी थिइन् । गाडी लाइनमा हुने यस्ता घटना जुनीले कयौं पटक झेलीसकेका थिए ।
तर उनीप्रति नै भएको त्यस्तो पहिलो दृष्य विनितालाई मन परेन् । यात्राको क्रममा विनिताले जुनीलाई सम्झाइन् । आक्रोस पनि विनिताले पोखिन् । जुनीले पनि जिन्दगीको गोरेटोमा अझैँ कयौं माइल यात्रा गर्न बाँकी नै रहेको मनमनै सम्झीए ।
‘विवाह गर्नुछ, घर व्यवहार चलाउनु छ । दिनहुँ गाडी लाइनमै कति विवाद झेल्ने अब केही सोच्नुपर्छ भन्ने ज्ञान मिल्यो’ जुनीले भने, ‘उनकै आग्रहमा मैले गाडीको स्ट्रेरिङ्ग छोडे । तर गाडी नचलाए पनि यातायात क्षेत्रमै काम गर्ने सोच भने त्यागेन् ।’
गाडी लाइनमै धेरै सिकेका जुनीले यातायात क्षेत्रमै काम गर्ने उदेश्यले मध्यपश्चिमाञ्चल माइक्रो यातायात समितिको सह–सचिवमा प्रवेश गरे । एक कार्यकाल उनले सह–सचिव भएर चलाए । पछि त्यहीँ समितिमा सचिवको जिम्मेवारी सम्हालेर एक वर्ष काम गरे । समितिले राम्रो गर्दै गइरहेको बेला समिति विलय भयो ।
अन्तत् २०६७ सालमा जुनीले केही वर्षपछि गाडीको स्ट्रेरिङ्ग चलाउन छुटाउने विनितासंग नै विवाह गरे । ‘यातायात क्षेत्र यो बेला जस्तो सहज थिएन् । सीमित व्यक्तिहरुका कारण नयाँ समिति खोल्न पापड बेल्नु पथ्र्यो’ जुनीले थपे, ‘माइक्रो समिति विलय भएपनि २०६९ सालमा सुर्खेतमै पहिलो पटक सुर्खेत यातायात प्रा.लि. सञ्चालनमा ल्यायौं । म त्यो प्रा.लि.को सल्लाहकारमा रहेर काम गरे ।’
एक वर्षसम्म सुर्खेत यातायातले ऊ बेला हंगामै मच्चायो । विस्तारै त्यो प्रा.लि. पनि अरु नै समितिहरुमा विलय भयो । सुर्खेतमा नयाँ यातायात सञ्चालन गर्दा टिक्न नदिने कारणहरु केलाउन थाले । एक वर्षसम्म नयाँ समिति कसरी खोल्ने र त्यसलाई दिगो बनाउने उपाय बारे विभिन्न व्यक्तिहरुबाट सुझाव लिनै एक वर्ष लाग्यो ।
यातायातमै बसेर मर्यादित संस्था बनाउन सकिन्छ भन्ने हेतुले २०७२ सालमा देउती नागरिक यातायात प्रा.लि. सञ्चालन गर्ने निधो गरे । तीन ओटा माइक्रो गाडीबाट जुनीसहितको टिमले सेवा शुरु ग¥यो । विस्तारै प्रा.लि.ले आकार लियो अहिले ६२ ओटा गाडी पुगेका छन् । सुर्खेतदेखी दैलेख, बावियाचौर, जाजरकोट, नेपालगञ्जसम्म सेवा दिइरहेको जुनि बताउँछन् ।
प्रा.लि.लाई यो उचाइँसम्म ल्याउन सचिव रमेश खड्का, कोषाध्यक्ष ओमप्रकाश तिवारी, सदस्यहरु पदमदेव गिरी, टोपबहादुर महतरा, साजन केशी लगायतको अहम भूमिका छ । यात्रुहरुको मागअनुसारको सेवा प्रवाह गर्न सुदर्शन श्रेष्ठ, महेन्द्र शाही र प्रमोद हमालबाट सल्लाह लिइरहेको जुनीको कथन छ ।
‘सानैमा अभिभावक गुमाए । हरेक चिज किनेरै खान पथ्र्यो । त्यो अवस्थामा मलाई गाडी लाइनबाटै बाच्न सिकायो’ जुनीले थपे, ‘दवाब र थिचोमिचो नसहने र गाडी क्षेत्रका सबै कर्मचारीहरु समान हुन र उनीहरुकै निम्ती काम गर्नुपर्छ भन्ने स्वभावकै कारण सबैको प्रिय बनेको छु ।’
भोलीको योजना
देउती नागरिक यातायात प्रा.लि.लाई नै व्यवस्थित र मर्यादित यातायात बनाउने राणनीतिमा जुनी छन् । निकट भविष्यमै सुर्खेत–काठमाडौं रुटमा नयाँ बसहरु सञ्चालन गर्ने योजनामा लागेका जुनीले प्रा.लि.मा आवद्ध व्यवसायीहरुले तिर्नु पर्ने कर प्रा.लि. स्वंयमले तिर्दै आएको बताउँछन् ।
आफ्नो प्रा.लि.मा आवद्ध सवारी चालक, सहचालक र अन्य कर्मचारीहरुका छोराछोरीहरुलाई निःशुल्क पढाउन स्कुल सञ्चालनको तयारीमा जुनी होमिएका छन् । सबै व्यवसायीहरु समान हुन भन्ने नबुझ्दासम्म यातायातलाई व्यवस्थित बनाउन नसिकने बताउने जुनीले कसैको भावनामाथि खेलवाड नगरेर प्रा.लि.लाई अब्बल बनाउने मार्गमा अग्रसर रहेको उल्लेख गरे ।
‘जिन्दगीमा चुनौतीसंग जुध्दै आए । बरु ज्यान दिन तयार हुन्छु तर अत्याचार टुलुटुलु हेरेर बस्न सक्दिन्’ जुनी भन्छन्, ‘सत्मार्गमा हिड्न विचलन मनमा नभए जिन्दगीमा थुप्रै चुनौती पार गर्न गाह्रो छैन् । तर जुनसुकै पेशा व्यवसायमा आवद्ध भएपनि कामप्रतिको लगाव भने छाड्नु हुँदैन् ।’