☰ open Loading... 18 November 2024|  

कर्णाली प्रदेश सभाकाे बैठक अबदेखी अाफ्नै भवनमा बस्ने
  | २२ आश्विन २०७५, सोमबार १८:१२

सुर्खेत  । कर्णाली प्रदेश सभाको मंगलवार बस्ने बैठक वीरेन्द्रनगरमा रहेको शैक्षिक तालिम केन्द्रमा बस्ने भएको छ । लामो समयदेखि सिँचाइ डिभिजन कार्यालयको सभाहलमा बस्दै आएको प्रदेश सभाको बैठक अबदेखि आफ्नै नयाँ भवनमा बस्ने भएको निमित्त संसद सचिव दिनेश भट्टले जानकारी दिए ।

‘सभाहलको अन्य सबै तयारी पूरा भइसकेकाले अब आफ्नै भवनमा बैठक सुचारु गर्ने निष्कर्षमा सभामुख पुग्नुभएको हो,’ निमित्त सचिव भट्टले भने, ‘अब सभाहलमा राम्रो र गुणस्तरीय साउण्ड सिस्टम जडान गर्नु बाहेकका सबै काम सकिएको छ ।’

उनले नयाँ तयार भएको सभाहलमा आवश्यक पर्ने साउड सिस्टम पुरानो सभाहलबाट ल्याएर जोडिएको बताए । ‘अत्याधुनिक प्रविधि भने जोड्न बाँकी नै छ,’ उनले भने, ‘तर, अहिलेलाई पुराने साउण्ड सिस्टमबाट नै काम चलाउने निष्कर्षमा सभामुख ज्यू पुग्नुभएकाले हामीले संसद बैठक यही चलाउने निर्णय गरेका हौं ।’

के छ बैठकको कार्यविधि ?

असोज २३ गते दिउँसो १ बजे बस्ने बैठकका लागि संसदको कार्यव्यवस्था परामर्श समितिले एजेण्डा तय गरेको छ । यसअघि विधायन तथा प्रदेश मामिला समितिमा संशोधनसहित छलफलमा गएको गाउँसभा, नगरसभा सञ्चालन गर्न बनेको विधेयक २०७५ माथि समितिले छलफल समाप्त गरेकाले विधेयकलाई पारित गर्नेबारे छलफल हुने कार्यविधि तय भएको निमित्त सचिव भट्टले जानकारी दिए ।