☰ open Loading... 17 May 2024|  

सल्यानमा रेबिज रोगविरुद्धको सुई अभाव
  | ४ कार्तिक २०७५, आईतवार १७:४४

बुद्धिमान पुन
सल्यान । जिल्ला अस्पताल सल्यानमा रेबिज रोगविरुद्धको सुई (भ्याक्सिन) अभाव भएको छ । रेबिजको सुई अभाव हुँदा सर्वसाधारण बिरामीहरुलाई समस्या भएको छ । गएको चार महिनादेखी रेबिजको सुई अभाव भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ । सरकारले निशुःल्क वितरण गर्ने औषधि मध्ये रेबिजको सुई पनि एक हो ।

अस्पतालमा रेबिजको सुई अभाव भएपछि सर्वसाधारण बिरामीहरुले महंङ्गो दरमा रेबिजको सुई निजी औषधि पसलबाट खरिद गर्न बाध्य भएका छन् । महँगो शुल्क तिरेर सुई लगाउनुपर्दा बिरामी मर्कामा छन् । निःशुल्करुपमा पाइने सुई निजी क्लिनिकबाट रु ६०० तिर्नुपर्दा बिरामी मर्कामा परेका हुन् ।

विशेष गरी कुकुरको टोकाईबाट रेबिज रोग लाग्दछ । तर यस बाहेक बिरालो, स्याल, बाँदर, ब्वाँसो, फ्याउरो, चमेरालगायतका अन्य मांसहारी जनावरले टोक्दा पनि रेबिज रोग लाग्ने सम्भावना रहेका जिल्ला अस्पताल प्रमुख डाक्टर अर्जुन बुढा मगरले बताए । उनले स्वास्थ्य मन्त्रालय अन्र्तगतको मेडिकल स्टोरले नियमित सप्लाईमा नराखेका कारण सल्यानमा अभाव भएको उनले बताए ।

‘बिगत चार महिना देखी सल्यान अस्पतालमा रेबिज रोगविरुद्धको सुईको अभाव छ, हामीले सल्यानमा इन्जेक्सन पठाउनको लागी २÷३ पटक पत्राचार गरिसकेका छौँ तर अहिले सम्म सप्लाई भएको छैन’—उनले भने । उनले जिल्ला अस्पताले रेबिज रोगविरुद्धको इन्जेक्सनको माग धेरै गरेपनि थोरै पठाउदा अभाब हुने गरेको बताए ।

‘यो भन्दा अगाडी सप्लाई गर्दा ५० वटा पठाएको थियो, एक बिरामीलाई ५ वटा इन्जेक्सन लगाउनुपर्छ, मेडिकल स्टोरले पठाएको इन्जेक्सनले १० जनालाई मात्रै पुग्यो’— उनले भने । जिल्ला अस्पतालमा रेबिज रोगविरुद्धको सुई अभाव हुदाँ बिरामीहरु जिल्ला अस्पतालमा आएर खाली हात फर्कने गरेका छन् ।