डोल्पा : शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जको बन क्षेत्र लगायत सामुदायिक बनहरूमा खिरांला भनेर चिनिने बहुमूल्य जडिबुटी सेतो चिनीको पछिल्लो समय हिमाली जिल्ला डोल्पामा अबैध उत्खनन् बढेको छ ।
शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जमा पर्ने कैनमरी बनमा अवैैध रुपमा उत्खनन् गरिरहेका १९ जनालाई एक क्विन्टल पचास केजी सेतो चिनीसहित आइतबार निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनासहित निकुञ्जको गस्ती टोलीले पक्राउ गरेको छ ।
सम्बन्धित सामुदायिक बन समिति वा शे-फोक्सुन्डो निकुञ्जको इजाजत लिएर मात्रै उत्खनन् गर्न पाउने ब्यवस्था भए पनि इजाजत्बिना नै जिल्लाका रसि,पहाड, भित्रबन, कागमारा, भांका लगायतका क्षेत्रमा अवैैध उत्खनन् भइरको पाइएको हो ।
पक्राउ परेकामा ५ जना बालबालिका दुई महिला र १२ पुरुष गरेर १९ जनालाई पक्राउ गरिएकोमा पाँचजना बालबालिकालाई छाडेर बाँकीलाई बयान लिने काम भइरहको निकुञ्जका रेञ्जर अरुण चौधरीले जानकारी दिए ।
पक्राउ परेका १९ जनामध्ये हरिदेब बुढा, रुपलाल बुढा, मन बाेहाेरा, रुप्सी कठायतकाे नाम सार्वजनिक भएकाे छ भने अन्य सबै त्रिपुरा सुन्दरी नगरपालिका २ कै स्थानीय रहेकाे निकुञ्जले जनाएको छ ।
निकुञ्ज र सामुदायिक बन समितिहरूले प्रभावकारी भूमिका खेल्न नसक्दा सेतो चिनीको अवैध उत्खनन् कार्य भइरहेको बताइएको छ । उच्च हिमाली भू-भागमा पाइने औषधिमूलक जडिबुटीको रुपमा चिनिने खिरांलाको राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण हुने गर्दछ । डोल्पाका बनहरूमा प्रशस्त रुपमा पाइने सेतोचिनीलाई काँचो प्रतिकिलो ३० र पकाएर सुकाएको बजारमा एक हजारमा प्रतिकिलो बिक्री हुने गर्दछ ।