☰ open Loading... 20 April 2024|  

‘मालिका’ फिल्म होइन, नारीलाई सशक्त बनाउने अभियान हो : मुख्यमन्त्री शाही
  | १५ कार्तिक २०७५, बिहीबार १७:३०

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बिहीवार रेखा थापाको फिल्म मालिकाको च्यारिटी शो सम्पन्न भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितको टोलीले मालिका फिल्म लक्ष्मी चलचित्र मन्दिरमा गएर हेरेको हो । चलचित्र हेरिसकेपछि संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहीले महिलाहरू कमजोर छन् भन्ने मानसिकता हटाउने अभियानको शुरूवातको रुपमा लिएको प्रतिक्रिया दिए ।

फिल्म अवधिभर हलमै बसेका मुख्यमन्त्री शाहीले कर्णालीका चेलीको अवस्था फिल्ममा देखाएको बताउँदै कर्णाली सरकार पनि महिला तथा छोरीचेलीको क्षमता विकास, मानसिकतामा परिवर्तन ल्याउने अभियानमा रहेको बताए ।

आधा आकाश ढाकेका महिलाले आफू सक्षम भएको नठानेसम्म मुलुकमा महिला हिंसाले जरो गाडिरहने बताए । उनले भने, ‘हिजो जनयुद्धमा पनि महिलाले अग्रमोर्चामा रहेर लडाइ लडेको इतिहास छ । त्यसैले साहस गरेमा असम्भव भन्ने केही छैन ।’ उनले फिल्म असाध्यै राम्रो भएको बताउँदै फिल्मले समाजलाई सकारात्मक रुपान्तरणतर्फ अग्रसर गराउने अभियानको नेतृत्व गर्ने अपेक्षा व्यक्त गरे ।

सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले छोरीका लागि स्वर्णिम अभियानले निर्माण गरेको फिल्मले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिक्रिया दिए ।

‘फिल्मले नारी कमजोर छैनन् भन्ने बुझाइको सन्देश दिएको छ । बालबिवाहजस्ता समस्याले छोरीलाई कमजोर बनाएको छ । अब बालबिवाहको अन्त्य गरी छोरी पनि समाजमा आवश्यकता अनुसारका काम गर्न सक्छन् भन्ने प्रमाणको रुपमा यो फिल्म आएको छ,’ उनले भने, ‘नारीलाई सामाजिक समस्याबाट मुक्त गराउन सकेको खण्डमा हामीले भनेको समृद्धि सम्भव छ ।’ उनले महिलालाई सशक्त बनाउन सरकारले विभिन्न अभियान सञ्चालन गर्ने बताए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरपालिकाले नारी र छोरीको सम्मान गरौं भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिरहेको बताए । ‘हामीले नगरपालिकामा विभिन्न सामाजिक रुपान्तरणका अभियान सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘छोरी भएर गर्व गर्ने संस्कारको विकास गर्न नगरपालिकाले आवश्यक सामाजिक रुपान्तरणको कार्य गर्नेछ ।’

जाजरकोटबाट शुरू भएर जाजरकोटमै समापन गरिएको फिल्मको कथाले कर्णालीको समाजको प्रतिनिधित्व गरेको पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले बताए । उनले सबैजना मिलेर छोरीलाई बलियो बनाउँदै उनीहरूलाई कोहीभन्दा पनि कम छैनौं र जे काम पनि हामी गर्न सक्छौं भन्ने खालको जनचेतनामूलक कार्यक्रम प्रदान गर्नुपर्ने धारणा राखे ।

उनले समाजको साँच्चै रुपान्तरण गर्ने हो भने नारीलाई सबल, सक्षम बनाएर लैजानुपर्नेमा जोड दिँदै मालिका फिल्मलाई एक पटक सबैले हेर्नुपर्ने बताए ।