☰ open Loading... 26 November 2024|  

कारागारमा किताब अभियान
  | ३ पुष २०७५, मंगलवार १८:३५

सुर्खेत । कर्णाली प्रदेशमा रहेका कारागारमा पुस्तकालय स्थापना गर्न प्रदेश प्रहरी कार्यालयले किताब अभियान शुरु गरेकोछ । समुदाय प्रहरी साझेदारी अन्तर्गत कारागारमा रहेका कैदीहरूको पुस्तक मागलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालयले किताब अभियान सञ्चालन गरेको हो ।


प्रदेशका विभिन्न कारागारहरूमा रहने कैदीहरूले पुस्तकालयको माग गरेकाले उनीहरूलाई किताब उपलब्ध गराउन अभियान चलाईएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले जानकारी दिए ।

कारागारमा रहेका कैदीहरूको पुस्तक अध्ययन गर्ने चाहनालाई पूरा गर्न अभियानले सहयोग पुग्ने विश्वास शाहको छ । उनले समुदाय प्रहरी साझेदारी अभियान अनुसार उक्त अभियानमा विभिन्न व्यक्तिहरूले आफूसँग भएका किताब कारागारका लागि भनेर हस्तान्तरण गरिदिन आग्रह समेत गरे । डिआईजी शाहले विभिन्न सरोकारवाला निकायहरुलाई यो अभियानमा आवद्ध हुन अनुरोध गरे ।

अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न मंगलबार डिआईजी शाहको नेतृत्वमा ११ सदस्यीय कारागार किताब अभियान समिती गठन गरिएको छ । समितिको सह–संयोजकमा शुसिला श्रेष्ठ छन् ।

त्यस्तै सदस्यहरुमा डिएसपी योगेन्द्रकुमार खड्का, यज्ञ खत्री, कमल भुषाल, दुर्गा थापा, निर्मला केसी, प्रतिमा परियार, ज्योती कटुवाल, लक्ष्मी भण्डारी छन् । किताब पढौं, जीवन बदलौ भन्ने मुल नाराका साथ सञ्चालित उक्त अभियानमा जीवन उपयोगी, सकारात्मक परिवर्तन हुने किताब कारागारमा रहेका कैदीबन्दीहरुले पढ्न पाउनेछन् ।