सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) नविकरण सेवा शुरु गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको पहलमा भौतिक पूवार्धार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतबाट सवारी चालक अनुमति पत्र नविकरण सेवा शुरु गरेको हो ।
कर्णाली प्रदेशका कार्यबहाक मुख्यमन्त्री एवम् आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. डम्बर खड्काको अनुमति पत्र नविकरण गरी सेवा उद्घाटन गरेका छन् ।
यसअघि नविकरण सेवा लिन सेवाग्राहीहरु प्रदेश ५ को नेपालगञ्ज धाउनु पर्ने बाध्यता थियो । कार्यवहाक मुख्यमन्त्री ज्वालाले प्रदेशकै यातायात व्यवस्था सेवा कार्यालयलाई सक्षम बनाउन आवश्यक बजेट विनियोजन गर्ने र नयाँ लाइसेन्स वितरण सेवा पनि छिट्टै नै सञ्चालनमा ल्याइने जानकारी दिए ।
२०७१ सालमा सुर्खेतमा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालयले एकलौटी फर्म तथा व्यक्तिगत आय, सवारी सधान, सवारी चालक अनुमितपत्र ईजाजत दस्तुर र यातायात क्षेत्रको आम्दानी मात्रै संकलन गर्दै आएको थियो । सुर्खेतबाटै सवारी चालक अनुमित पत्र नविकरण सेवा शुरु भएपछि सेवाग्राहीलाई प्रदेश ५ को यातायात व्यवस्था कार्यालय नेपालगञ्ज पुग्नु पर्ने बाध्यताको समेत अन्त्य भएको छ । एक साताभित्रै सवारी दर्ता सेवा पनि सञ्चालनमा ल्याइने कार्यालयले जानकारी दिएको छ ।