☰ open Loading... 26 April 2024|  

अग्नी पीडितकाे राहत लिएर न्याैपाने टाेल पुगे कर्णालीका मुख्यमन्त्री
  | ९ पुष २०७५, सोमबार १७:१८

सुर्खेत । कालिकोटको पलाँता गाउँपालिकाका अग्नि पीडितहरूका लागि कर्णाली प्रदेश सरकारले घोषणा गरेको तत्कालीन राहत वितरण गर्न मुख्यमन्त्रीसहितको टोली कालिकोट गएको छ ।

राहत तथा खाद्यान्न सामग्री लिएर मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कालिकोटका सांसदहरू दुर्गबहादुर रावत, कुर्मराज शाही, राष्ट्रियसभा सदस्य जीवन वुढालगायतको टोली सोमबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत् कालिकोट गएको हो।

प्रदेश सरकारको तर्फबाट तत्कालीन राहतस्वरूप नगद २० हजार रुपैयाँ, ३० क्वीन्टल चामल, १ सय थान ब्ल्यांकेट, ५ वण्डल पि–फम, १ सय थान सिरक तथा डसना, १५ पेटी चाउचाउ, ६ पेटी विस्कुट, ३ बोरा चिउरालगायत अन्य खाद्यान्न सामग्री लिएर टोली कालिकोट गएको हो ।

कर्णाली प्रदेश सरकारले सोमबार नै अग्नि पीडितहरुलाई राहत प्रदान गर्ने निर्णय गरेको हो । पलाँता गाउँपालिका–१ मा पर्ने खाँडा न्यौपाने वडामा आगलागी हुँदा ४७ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् भने ७ जना घाइते भएका छन्। आइतबार राति २ बजेबाट लागेको आगो सोमबार दिउँसोमात्र नियन्त्रणमा लिइएको थियो।