☰ open Loading... 24 November 2024|  

‘सरकार भएको बल्ल अनुभुती पायौें’
  | १५ पुष २०७५, आईतवार ११:५४

दैलेख । चामुण्डाविन्द्रासैनी नगरपालिका – ५ का ९० वर्षिय खड्के कार्की निकै खुसी छन् । निर्वाचित जनप्रतिनिधिहरुले आफुजस्ता वृद्धवृद्धाहरुलाई चिसोमा न्यानो कपडा वितरण गरेपछि कार्की खुसी देखीन्छन् । चामुण्डाविन्द्रासैनी नगरपालिका – ५ नम्वर वडाकार्यालयमै कार्कीलाई न्यानो जकेट वडाअध्यक्ष नारायण रेग्मीले लगाईदिए ।

घरि नयाँ जकेट तिर हेर्छन् घरि अरुलाई देखाउँछन् । आफ्ना जनप्रतिनिधिहरुले वृद्धवृद्धाका लागि पनि सम्झेर कार्यक्रम बनाएको भन्दै सवै वृद्धवृद्धाहरु कार्यक्रम स्थलमा खुसी देखीएका थिए । ‘वृद्ध कार्कीले सहपाटीहरु माझ भने, चिसोमा वृद्धहरुलाई जकेट दिने कार्यक्रमले बल्न सरकार भएको महशुस गरे ।’

त्यस्तै न्यानो चौबन्डी चोली पाएपछि ८३ वर्षिया नन्दकला जैसी निकै खुसी देखीएकी छिन् । स्थानीय सरकारले आफुहरुलाई सम्मान गरेको नन्दकलाजस्ता ६३ जना वृद्धाहरु सरकार आफुहरुको लागि आएको आभास गरे । ‘अहिलेसम्म आफुहरुको लागि कुनै कार्यक्रमले छोएको थिएन् ।’ ८३ वर्षिया नन्दकला जैसीले भनिन् ः ‘पहिलो पटक घरदैलोमै हामीलाई सम्झेर सरकार आयो ।’

७० वर्षमाथिका वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको वडा कार्यालयले जनाएको छ । चिसो बढेसंगै वडाकार्यालय मार्फत न्यानो कपडा वितरण गरिएको वडाअध्यक्ष नारायण रेग्मीले बताए । ७० वर्षभन्दामाथि १ सय १५ जना वृद्धवृद्धालाई जेष्ठ नागरिक सम्मान कार्यक्रम मार्फत वडाले न्यानो कपडा वितरण गरियो । जसमध्ये ६३ जना वृद्धाहरु रहेका थिए ।

वडाकार्यालयले वृद्धवद्धाहरुको लगत संकलन गरि वितरण गरेको वडासचिव हिरालाल आर्चायले बताए । महिलाहरुलाई चौवन्डी चोली र पूरुषहरुलाई ज्याकेट वितरण गरिएको हो । आफुले वडाकार्यालय मार्फत जेष्ठ नागरिक सम्मान कार्यक्रम बनाएर १ लाख रुपैँया विनियोजन गरेर न्यानो कपडा वितरण गरिएको वडाअध्यक्ष नारायण रेग्मीले बताए ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाको ५ नम्वर वडाकार्यालय छडेखोलाबाट वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको हो । आफु गाउँटोलमा हिड्दा वृद्धवृद्धाहरुलाई चिसोमा न्यानो कपडा दिनु उत्तम लागेर कार्यक्रम बनाएको हुँ । वडाअध्यक्ष शर्माले भने, प्रत्यक्ष प्रत्याभुती हुने भएकाले न्यानो कपडा वितरण गरेका छौं । वृद्धवृद्धा बुवाआमाहरु निकै खुसी हुनुभएको छ । अर्को वर्ष ६० देखी ७० वर्षका वृद्धवृद्धाहरुलाई यस्तै कार्यक्रम गरिने रेग्मीले बताए ।

कार्यक्रममा नगरपालिकाका महिला विकास शाखा प्रमुख मायाकुमारी सिहको पनि सहभागिता रहेको थियो । प्रभावकारी र प्रत्यक्ष अनुभुती गर्ने कार्यक्रम न्यानो कपडा वितरण भएको महिला विकास शाखा प्रमुख मायाकुमारी सिंहले बताईन् । कार्यक्रममा वडाअध्यक्ष रेग्मीका प्रतिद्धन्दी हस्तप्रसाद शर्माले पनि सहभागीहरुलाई न्यानो कपडा वितरण गरेका थिए ।