☰ open Loading... 20 April 2024|  

चितुवाको छाला किन्न प्रहरी नै ग्राहक बनेपछि…
  | ६ माघ २०७५, आईतवार १६:१६

सुर्खेत ।५ नम्बर प्रदेश प्रहरी अपराध अनुसन्धान समूहका प्रहरी निरीक्षक बोदराज रेग्मीलाई विशेष सूचना प्राप्त भयो । उनलाई कालिकोटका एक व्यक्तिले चितुवाको छाला विक्री गर्ने योजना बनाइरहेको सूचना थाहा पाए । उनले चितुवाको छाला विक्री गर्ने व्यक्तिलाई नेपालगञ्जमै खरिद गर्ने भएकाले नेपालगञ्ज आउन आग्रह गरे ।


चितुवाको छाला भएका व्यक्ति नेपालगञ्ज नआउने अड्डी कसे । रेग्मीसहितको टोलीले कालिकोट जिल्ला रास्कोट नगरपालिका–४ सिउनाका टंकप्रसाद उपाध्यायसंग सम्पर्कमा रही राखे । रेग्मीले आफै सुर्खेत आउने र लोकशन तय गर्न उपाध्ययलाई आग्रह गरे ।

अन्ततः वीरेन्द्रनगर–३ स्थित होटल भिजिट रारामा छाला किन्ने निर्णय भयो । रेग्मीसहितको टोली छाला किन्ने भनेर सुर्खेत आयो । शुरुमै उपाध्यायले छाला देखाउन मानेनन् ।

उनले कतिमा किन्ने भन्ने निक्र्यौलविना छाला नदेखाउने अड्डी कसे । रेग्मीले एक लाख रकम दिने बचन दिँदै रुपैयाँ नै देखाए । रुपैयाँ नै देखेपछि उपाध्यायले आफूसंग भएको चितुवाको छाला देखाए । छाला देखाउने वित्तिकै उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लियो ।

रेग्मीसहितको टोलीले उपाध्यायलाई होटल भिजिट राराको अगाडीबाट पक्राउ गरेको छ । उपाध्ययको साथबाट दुई थान ध्वाँसे चितुवाको छाला बरामद गरेको ५ नम्बर प्रदेश प्रहरी अपराध अनुसन्धान समूहका प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।

स्रोतका अनुसार उपाध्यायसंग छाला भएको खवर पोखराबाट डिभिजन वन कार्यालय सुर्खेतलाई जानकारी गराइएको थियो । वन कार्यालयको टोलीले प्रहरीसंगै मिलेर छाला नियन्त्रणमा लिने निधो पनि ग¥यो ।

अन्ततः प्रहरीले आफै ग्राहक बनेर उपाध्यायलाई पक्राउ ग¥यो । पक्राउ परेको उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको जिम्मा लगाएर अनुसन्धान समूहको टोली फर्किएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले आइतबार ढिला भएकाले सोमबार मात्रै वन कार्यालयलाई बुझाउने जानकारी दिए ।