सुर्खेत । नेकपाको बहूमत प्राप्त सरकार सडकबाटै फाल्ने चेतावनी नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले दिएका छन् । वीरेन्द्रनगरमा नेपाल तरुण दलको आयोजनामा गरेको प्रदेश स्तरिय विरोध सभालाई सम्वोधन गर्दै बस्नेतले जनवर्गीय संगठन तथा पार्टीको सर्मथन भएको खण्डमा आफूहरु सरकारका विरुद्ध कडा भएर सरकार फाल्न सक्ने चेतावनी दिएका हुन् ।
नेकपा सरकारले बहुमतको दम्भ देखाउँदै हाम्रा नेताहरुको इतिहास मेटाउन लागेको भन्दै बस्नेतले भने ‘नेताको इतिहास मेटाउन खोज्ने कम्युनिष्ट सरकार विरुद्ध बलिदान दिन तरुण तयार छन् ।’ निर्मलाका पन्तका हत्यारालाई कारवाही गर्न नसक्ने नालायक सरकारका गृहमन्त्री रामबहादुर थापा हुतियारा भएको आक्रोश बस्नेतको थियो ।
‘गृहमन्त्री ज्यू, हजुरका छोराको व्यवहार कस्तो छ ? उनी कस्तो छवि भएका व्यक्ति हुन थाहा छ कि छैन ?’ अध्यक्ष बस्नेतले भने, ‘उक्त दिन हजुरका छोरा कञ्चनपुरमा थिए कि थिएनन ?’ सरकारले तत्काल निर्मला पन्तका बलात्कारीलाई पक्राउ नगरे आफुहरुले पक्राउ गरेर सडकमा ल्याउने बताए ।
अहिले सुशिल कोइरालाले बनाएको संविधानको कम्युनिष्टहरुले धारा च्यातिरहेका आरोप बस्नेतको छ । संविधानको विरुद्धमा जाने नै हो भने तरुण दल शिरमा कफन बाँधेर भएपनि आन्दोलनमा होमिन तयार रहेको उनको भनाई छ ।
कम्युनिष्ट सरकारले भ्रष्टाचार, महंगी मात्रै दिएको आरोप समेत बस्नेतले लगाए । ‘कम्युनिष्ट सरकारले अहिलेसम्म के दियो ?’ उनले भने, ‘दिएको छ त महँगी अनि भ्रष्टाचार । अब त्यसका विरुद्ध सबै तरुण जाग्नुपर्ने बेला आएको छ ।’ तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले सरकारले न्यायपालिकामाथि पनि गिद्देनजर लगाएको आरोप लगाए । ‘कर्मचारीतन्त्र पनि त्राही–त्राही छ,’ उनले भने, ‘दुईतिहाइको बलमा सरकार जताततै दमनमा उत्रिएको छ ।’
तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले सरकारका गलत कार्यको विरुद्ध जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताए । ‘केन्द्रका साथीहरु ढुक्क हुनुस् । हामी सरकारको विरुद्धमा जस्तो सुकै आन्दोलन गर्न र साथ दिन तयार छौं ।’ उनले भने, ‘लोकतन्त्रको रक्षाका लागि बलिदान दिन पनि तयार छौं ।’