☰ open Loading... 2 May 2024|  

राजनीतिक अलमल प्रदेश समन्वय परिषद्काे बैठकबाट हट्ने अपेक्षा
  | १४ माघ २०७५, सोमबार १९:१२

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिले देखिएको राजनीतिक अलमल प्रदेश समन्वय परिषद्काे बैठकबाट हट्ने अपेक्षा राखेको बताएका छन् । वीरेन्द्रनगरमा साेमबारदेखि शुरु भएको प्रदेश समन्वय परिषद्को वैठकलाई सम्बोधन गर्दै उनले वैठकमा तीनै तहका जनप्रतिनिधि रहेका कारण अहिले व्याप्त अलमल हटने बताएका हुन ।

‘अहिले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच काम गर्ने, कानून निर्माण गर्ने, संरचनाको विकास गर्ने, बजेट खर्च गर्ने जस्ता धेरै कुरामा अलमल रहेको छ ।’ मुख्यमन्त्री शाहीले भने, ‘यो वैठकले ती अलमललाई सुधार गर्ने अपेक्षा प्रदेश सरकारको छ ।’ मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका जनतालाई कसरी विपन्नताबाट सम्पन्नतामा लैजान सकिन्छ भन्ने कुराको निक्र्यौल पनि यो वैठकले लगाउने बताए ।

‘हामी सबैको चाहना कर्णालीका जनतालाई सम्पन्न बनाउनु हो । यहाँका स्रोत र साधनको कसरी प्रयोग गरेको खण्डमा जनतालाई सम्पन्न बनाउन सकिन्छ भन्ने हाम्रो चिन्ताको विषय हो ।’ मुख्यमन्त्री शाहीले भने, ‘यो हामी सबैको साझा चिन्तालाई कसरी सम्बोधन गर्न सकिएला भन्नेमा पनि वैठक केन्द्रीत हुनेछ ।’ मुख्यमन्त्री शाहीले सामाजिक विकास क्षेत्रमा होस या आर्थिक सांस्कृतिक रुपान्तरणमा होस, सबैको बुझाइमा एकरुपता ल्याउन यो वैठक कोसेढुंगा सावित हुने बताए ।

‘यो वैठकमा संघीय सांसद, प्रदेश सरकार, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरु सबैको सहभागिता रहेको छ ।’ उनले भने, ‘कसरी समृद्ध कर्णाली बनाउन सकिन्छ, कस्ता कानून निर्माण गरेको खण्डमा सुशासन, विकास गर्न सहज होला भन्ने कुराको बुझाइमा एकरुपता ल्याउन यो वैठक कोसेढुंगाको रुपमा हुने मेरो बुझाइ छ ।’

कार्यक्रममा प्रतिनिधि सभाका सदस्यहरु, प्रदेश सभाका सदस्यहरुलगायत चार सय भन्दा बढीको सहभागिता रहेको छ । बैठक साेमबार र मंगलबार चल्ने छ ।