☰ open Loading... 14 November 2024|  

पञ्चपुरीमा सांस्कृतिक महोत्सव शुरू
  | १४ फाल्गुन २०७५, मंगलवार २०:४९

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा वृहत सांस्कृतिक महोत्सव शुरु गरिएको छ । महोत्सवको कर्णाली प्रदेश सभाका सांसद यज्ञ बहादुर बिसीले मंगलबार (आज) उद्घाटन गरेका छन् ।


पश्चिम सुर्खेतमा रहेका विभिन्न पर्यटकीय, सामाजिक सांस्कृतिक भेषभुषा संरक्षण र आर्थिक विकासमा महोत्सवको महत्वपूर्ण भुमिका रहने विसीको विश्वास छ । उनले ओझेलमा रहेका पश्चिमका धार्मिक र पर्यटकिस्थललाई चिनाउन यस्ता महोत्सवले सहयोग पुग्ने बताए । केन्द्रीकृत शासन गाउँ तहमै आएकाले गाउँका जनताहरुलाई विकासको अनुभूत गराउन खवरदारी गराइरहेको विसीको भनाई छ ।

पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले मेला महोत्सव रमाइलोका लागि मात्र नभइ पश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रहरुको संरक्षण, सम्वद्र्धन तथा प्रचारप्रसार हुने बताए । कयौं धार्मिक र पर्यटक स्थलहरु पश्चिम सुर्खेतमा रहेकाले त्यसको प्रचार प्रसारमा यस्ता महोत्सवले सहयोग पुग्ने बताए । उनले नगर क्षेत्रमा रहेका धार्मिक र पर्यटकिय स्थलहरुको विकास गर्न नगरपालिका गम्भीर रहेको जानकारी दिए ।

जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले कर्णाली प्रदेशको राजधानीसंगै जोडिएको पश्चिम क्षेत्रको विकास कछुवा गतिमा भैरहेको अवस्थामा पश्चिम क्षेत्रको पर्यटन र अपार संभावनाहरुलाई उजागर गर्न सहयोग पुग्ने बताए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सचिव टोपबहादुर रावतले पश्चिम क्षेत्रका उत्पादित वस्तुहरु, स्थानिय कला, संस्कृति, खेलकुदलगायत पर्यटन स्थलहरुलाई विशेष जोड दिएकाले महोत्सव सफलताको शुभकामना दिए ।

महोत्सव मुल आयोजक समितिका संयोजक बिन्द्रप्रसाद जैशीले पश्चिम सुर्खेतको शान पर्यटन प्रवद्धनमा हाम्रो अभियान भन्ने मुल नारासहित निकै पछाडि परेको पश्चिम सुर्खेतको प्रवद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले यहाँका थानीय राजनीतिक दल,जनप्रतिनिधि र आम नागरिकलाई सहयोग गर्न अपिल गरे ।

फागुन २१ गतेसम्म सञ्चालन हुने महोत्सव सञ्चालनका लागि करिव ५० लाख खर्च लाग्ने अनुमान आयोजकको छ । मेला अवधिभर एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । रेडियो डाडादरा एफ एम र वावियाचौर स्पोर्टस् क्लव तथा सिंगारो म्युजिक प्रालिको सह–आयोजनामा महोत्सवको सञ्चालन गरिएको हो ।