☰ open Loading... 25 April 2024|  

दुल्लूमा रहेका गुठिबाट मुक्ती माग्दै सभापतिलाई ज्ञापन पत्र
  | १७ फाल्गुन २०७५, शुक्रबार १८:५३

दैलेख । दैलेख जिल्लाको दुल्लू क्षेत्रमा ठुलो समस्याका रुपमा रहेको गुठी जग्गाको समस्या समाधनका लागि दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीको नेतृत्वमा गएको समुहले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति माननिय पूर्णाकुमारी सुबेदीलाई ज्ञापन पत्र बुझाएको छ ।


दु्ल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारी सहित प्रतिनिधि सभाका सदस्य माननिय राजबहादुर बुदा, प्रदेश सभा सदस्य शुशिल थापा पुर्ब माननिय बिनोद कुमार शाह लगायत दुल्लू नगरपालिका वडा अध्यक्ष सहितको टोलिले समितिका सभापति माननिय पुर्णा कुमारी सुबेदीलाई भेटि दैलेखमा भएको गुठी जग्गाको अबस्था , समस्या र समाधानका उपायका बारेमा बताईएको थियो । भेटधाटमा दुल्लू नगरपालिकाका प्रमुख भण्डारीले आफ्नो क्षेत्रका जनतालाई गुठि जग्गाको कारण पर्न गएका समस्याहरु ७५ प्रतिशत भु भाग गुठिको नाममा रहेको र सो मार्फत राजश्व संकलनमा समेत समस्या आएको बताउनु भयो । एउटै भुगोलमा रैकर जग्गाको तुलनामा गुठिको तिरो महसुल महङ्गो भएको, बैङ्कीङ धितोका लागि प्रयोगमा नआएको र लालपूर्जामा महन्तको नाम उल्लेख भएका कारण समस्या भएको जस्ता कुराहरु राख्नु भएको थियो ।

त्यस्तै भण्डारीले गुठी जग्गाको समस्या र समाधनका बारेमा सभापति माननिय पूर्णाकुमारी सुबेदीलाई दुल्लू नगरपालिकाको तर्फबाट ज्ञापन पत्र प्रस्तुत गरि बुझाउनु भएको थियो ।

सभापति सुबेदीले दुल्लू क्षेत्रको गुठी जग्गाको बारेमा आफु अहिले मात्र प्रस्ट भएको र फरक फरक जिल्लामा फरक फरक समस्या भएकाले दैलेख जिल्लाको गुठि समस्या समाधानका लागि कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति मार्फत अधि बढ्ने बताउनु भयो । परापुर्बकाल देखि चल्दै आएको पर्ब, पुजाआजा , धर्म संस्कृति रक्षा र मन्दिर संचालनका लागि एउटा मन्दिरमा एउटा अक्षयकोष स्थापना गर्ने र सोको प्राप्त ब्याजबाट मन्दिरको संचालन र व्यबस्थापन गर्ने ऐनमा व्यबस्था गर्र्न आग्रह गर्नु भयो ।

त्यस्तै उक्त टोलिले भुमि व्यबस्था सहकारी तथा गरिबि निवारण मन्त्रालयका सचिब गोपीनाथ मैनालीलाई भेटी गुठी जग्गाको समस्या समाधानका लागि छलफल गरेको थियो । सचिब मैनालीले समस्या समाधनका लागि आफ्नो तर्फबाट सक्दो पहल भएको र मन्त्रीपरिषद्बाट गुठि ऐन पास भई सकेकाले अब कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा माननियहरुले जनताको पक्षमा थप कार्य गर्नुपर्ने बताउनु भयो ।

संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत साधन समितिले गुठि ऐन पारितका लागि २०७५ साल फागुन २१ गते संसदमा पेश गर्दैछ । कृषि सहकारी तथा प्राकृतिक स्रोत साधन समितिका सदस्य माननिय राजबहादुर बुढाले दैलेखको गुठि समस्या समाधानका लागि प्रतिनिधि सभाको संसदमा संशोधन प्रस्ताब दर्ता गर्ने बताउनु भयो ।

दैलेखमा पंचकोशी क्षेत्रका धुलेश्वर, नाभिस्थान, श्रीस्थान, चरण पादुका, महादेब गुठि बाहेक पोखरा, दुधेमालिका, रनुखाना, बालेश्वर, वाणनगंगा, मथुरामाई, हनुमान, मालिका, श्रीमष्टा र तियाडि लगायतका साना गुठि रहेका छन् । सो गुठिले दैलेख जिल्लाका साबिकका २५ वटा गाबिसमा रहेकोमा खेत तर्फ ३६२०३.६९ रोपनी र पाखो तर्फ ५६३१४.०४ रोपनी गरि जम्मा ९२५१७.७३ रोपनी जग्गा गुठि रहेको छ ।