☰ open Loading... 18 April 2024|  

सुर्खेतमा नेपाल टेलिभिजनको प्रादेशीक कार्यालय स्थापना गरिँदै
  | १ चैत्र २०७५, शुक्रबार १७:५८

सुर्खेत । नेपाल टेलिभिजनको कर्णाली प्रदेश कार्यालय स्थापना गरिने भएको छ । प्रदेशका ज्वलन्त तथा महत्वपूर्ण विषयमा समाचारमूलक कार्यक्रम उत्पादन, अन्तर्वार्ता, विशेष समाचार लगायतको बुलेटिन प्रसारण गर्ने उदेश्यले प्रादेशिक कार्यालय स्थापना गर्न लागिएको हो ।


वीरेन्द्रनगरस्थित प्रादेशीक रेडियो नेपाल प्रशारण केन्द्र परिसरमा रहेको भवनको नेपाल टेलिभिजनका महाप्रवन्धक गोविन्द रोका ‘सचिन’ ले प्रादेशीक कार्यालय स्थापना गर्न स्थलगत निरीक्षण गर्नु भएको छ ।

उहाँले कर्णालीमा चालु आर्थिक वर्षमै नेपाल टेलिभिजनको प्रादेशीक कार्यालय सञ्चालन ल्याउने बताउनुभयो । ‘प्रादेशीक कार्यालय स्थापनापछि कर्णालीका नागरिकहरुलाई थप सूसुचित गर्नमा सहयोग पुग्नेछ’ महाप्रवन्धक रोकाले भन्नुभयो, ‘सरकारका गतिविधि जनता समक्ष प्रत्यक्ष रुपमा लैजाने हाम्रो लक्ष्य हो ।’

महाप्रवन्धक रोकाले भवनको स्थलगत निरीक्षण गर्नुपूर्व कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसंग भेट गर्नुभएको थियो । रोकासंगको भेटमा मन्त्री भण्डारीले नेपाल टेलिभिजनको प्रादेशीक कार्यालय स्थापनामा सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

उहाँले कर्णाली हरेक रुपमा पछि रहेकाले नेपाल टेलिभिजनको प्रादेशीक कार्यालय स्थापनापछि कर्णालीका जनतालाई सूसुचित गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘सरकारका गतिविधि जनता समक्ष लैजाने बलियो माध्यम सञ्चार नै भएकाले नेपाल टेलिभिजनको प्रादेशीक कार्यालय स्थापनापछि थप सहयोग पु¥याउनेमा आशावादी छौं’ मन्त्री भण्डारीले भन्नुभयो ।