सुर्खेत । बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नका लागि राजनीतिक दल समर्थनसहितको सर्वपक्षीय वृहत अभियान चलाउनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन ।
बाँके र बर्दिया जिल्ला कर्णालीमा गाभिए सिंगो प्रदेश सबैभन्दा सक्षम र सम्पन्न प्रदेश बन्नसक्ने बलियो सम्भावना रहेको भन्दै यथाशीघ्र अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको हो ।
सुर्खेत उद्योग वाणिज्य संघ र कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीबीच आइतबार वीरेन्द्रनगरमा भएको अन्तरक्रियात्मक छलफलमा सहभागी दुबै संघका प्रतिनिधिहरुले यस्तो आवश्यक्ता औंल्याएका हुन ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले नागरिकस्तरबाट आन्दोलन र अभियान थालिएपनि राजनीतिक समर्थन नभएसम्म सफल नहुने भन्दै पहिला राजनीतिक समर्थन जुटाउनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
साविकका भेरी, कर्णाली र राप्तिका तीनवटै जिल्लाका उद्योग वाणिज्य संघहरुको पहलमा पहिला सर्वपक्षीय छलफलको आयोजना गरी समर्थन जुटाउनुपर्छ, उहाँले भन्नुभयो, त्यसपछि आवश्यक्ताअनुसार दबावमूलक अभियान सञ्चालन गर्नुपर्छ ।
अव्यवहारिक रुपमा खिंचिएको प्रदेश विभाजनको सिमानाले दुईपक्षीय भावनात्मक सम्बन्धलाई कमजोर बनाउन नसक्ने भन्दै अध्यक्ष रावतले साझा समस्या र साझा सवालमा एकमुख एकजुट हुुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै कोहलपुरका अध्यक्ष चक्रबहादुर अधिकारीले साविकका एउटै अञ्चलमा रहेका बाँके बर्दिया र सुर्खेतबीच व्यपारिक सम्बन्ध मात्र नभई साँस्कृतिक र पारिवारिक सम्बन्धपनि रहेको उल्लेख गर्दै कर्णालीमै रहने आपूmहरुको प्रबल ईच्छा र स्पष्ट धारणा रहेको जिकिर गर्नुभयो ।
विगतमा संघीय संरचनाको नक्शांकन गर्दा नै विरोध र आन्दोलन गरी सुर्खेतमा भएको आन्दोलनमा ऐक्यवद्धता जनाउनुपर्नेमा बाध्यतावश त्यसो गर्न नसकिएपनि अब आन्दोलनको आँधीवेहरी सिर्जना गर्ने उहाँको भनाई छ ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का सदस्य नरेन्द्र शर्माले आपसी समस्या र साझा सवालहरुमा बेग्लै प्रदेश बेग्लै जिल्ला भनेर हात बाँधेर बस्न नहुने सुझाव दिनुभयो ।
सुर्खेत उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दीपेन्द्र ढकालले पश्चिममा भूरीगाउँ तेलपानी, पूर्वमा सल्यान दांगको सडकका कारण अन्य जिल्लासंगको दूरि छोटिंदै गएको अवस्थामा बाँकेसंग दूरीपनि घटाउनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
संघका महासचिव लक्ष्मण कंडेलले पछिल्लो सीमांकनले एकैघरका तीन भाईलाई बलजप्mती छुट्याइएको जस्तो अनुभूति भएको भन्दै अब पहिलेझै एकै परिवारमा समाहित हुने बेला आएको टिप्पणी गर्नुभयो ।
यस्तै कोषाध्यक्ष भद्र भण्डारीले भविष्यमा उद्योगहरुको विस्तार हुने अवस्थामा सुर्खेतलाई दक्षिणी नाकाको आवश्यक्ता पर्ने र बाँके बर्दियालाई छिटोछरितो दैनिक प्रशासनिक कामका लागि सुर्खेत चाहिने भएको हुँदा तत्कालै ठोष निष्कर्षमा पुग्नुपर्ने उल्लेख गर्नुभयो ।