लक्ष्मी भण्डारी
सुर्खेत । ओडार भन्ने वित्तिकै हामी सबैको मानसपटलमा आउँछ डरलाग्दो ठाउँ । जंगली जन्तु बस्ने स्थानको रुपमा प्रतिबिम्बित हुन्छ । तर, एउटा यस्तो अनौठो ओडार छ जुन् ओडारमा चिया पाक्छ ।
यस्तो अनौठो पसल हो दैलेख कालिकोटको सिमानामा पर्ने आठबीस नगरपालिका स्थित घट्टेखोलाको ओडारभित्र सञ्चालन गरिएको चिया पसल । कर्णाली राजमार्ग अन्र्तगतको बाटो छेउमा रहेको ओडारभित्र स्थानीय वृद्ध दम्पतीले चिया पसल गरेर जीवन गुजरा गरिरहेका छन् । यो जोडी हो ७६ वर्षिया भुवनसिंह पुलामी मगरको दम्पती ।
तीन दशक पहिले ओडार छेउमै भुवनसिंहले घट्ट सञ्चालन गरेका थिए । पानी पर्दा वस्तुभाउसँगै उनी त्यही ओडारमा ओत लाग्थे । पिठो पिस्न गाउँलेहरु उनकै घट्टमा आउथे । त्यतिमात्र होइन बसेर गफ गर्नेहरुहरुको पनि चहलपहल भइरहन्थ्यो । एक दिन भुवनसिंहको यस्तो विचार आयो जसले गर्दा उनको घट्टमा हुने चहलपहललाई व्यवस्था गथ्र्यो। त्यो विचार थियो ओडारभित्र चिया पसल गर्ने । त्यही अनुरुप उनको जोडी पसल गर्ने निधो गरे । सोही निर्णय अनुसार पानी घट्टसँगै चिया पसल पनि शुरु गरे ।
आफ्नो दैनिक गुजरा चलाउन यो दम्पती विगत १३ वर्षयता ओडार भित्र चिया पकाउँदै आएका छन् । ‘आफुले काम गर्न सक्दासम्म अरुको भर नपर्दा राम्रो’ पुलामी भन्छन्, ‘ हातखुट्टा लाग्दासम्म आफ्नो लागि आफै काम गर्नुपर्छ भनेर पसल र घट्ट सँगै चलाएको छु ।’पसलमा चियासँगै सलाई, साबुन, चुरोट, चक्लेट र बिस्कुटलगायतका खुद्रा सामाग्रीहरु राखेका छन् । २०५४ सालमा कर्णाली राजमार्ग बनेपछि उनको पसलमा चहलपहल पनि बढेको छ । त्यसैगरी वरपर कुनै पसल नभएकाले बाटो ओहरदोहर गर्नेहरु उनकै पसलमा जाने गर्दछन् ।
अहिले दैनिक पाँच/सात सय सम्मको बिक्री हुने गर्दछ । त्यसैगरी पानी घट्टबाट पनि विभिन्न अन्नहरु जम्मा हँदै आएको छ । पुलामी दम्पतीलाई दैनिक गुजरा चलाउन मात्र होइन परेको बेलामा छोराछोरीलाई पनि सहयोग गर्न सहज भएको पुलामी बताउँछन् । ओडार भित्र चिया पाकेको देख्दा जो कोही पनि अनौठो मान्छन् र चिया खान आउँछन् । जसले गर्दा उनको व्यापार राम्रो चल्न थालेको छ ।
‘बसेर गफ गरेर बिताउने समय दुई चार पैसा भएपनि कमाई भएको छ’ उनले भने, ‘पसलमा चिया खान आउनेहरुसँग भेटघाट पनि भएको छ ।’ कमाई पनि बसेर भेटघाट अनि गफ भएपछि उनको दुवै हातमा लड्डु झै भएको छ ।
पुलामीका दुई छोरा, बुहारी र दुई छोरीको साथै नातीनातीना पनि छन् । तर, उनलाई छोराले नै पाल्नुपर्न भन्ने भावना छैन । ‘काम गर्न नसक्दा मात्र छोरा बुहारीले हेरे पुग्छ, हात खुट्टा चल्दासम्म त आफै काम गर्नुपर्छ ।’ फाल्तु समय बसेर कटाउनु हुँदैन भन्दै उनी भन्छन् ‘उहिले पनि धेरै गाई भैसी पालेर गयो अहिले त्यतिकै बस्न मन लाग्दैन त्यही भएर केही काम गर्नुपर्छ भनेर यसरी लागेको हो ।’
पानी पर्दा बस्तुभाउहरु ओत लाग्ने उक्त ओडारमा अहिले पसल देख्दा सबै दंग छन् । उमेरले नेटो काटिसकेका वृद्ध दम्पतीको यो जोस र जागर देख्दा उनको पसलमा आउने जो कोहीलाई पनि प्रेरणाका मात्र बनेका छन् । हिमालखवरबाट