☰ open Loading... 19 April 2024|  

प्रदेश प्रमुख खनालसंग जापानी राजदूतको भेट
  | २८ चैत्र २०७५, बिहीबार १८:००

सुर्खेत । कर्णालीका प्रदेश प्रमुख दुर्गाकेशर खनालसंग नेपालका लागि जापानी राजदूत मासामिकी साइगोले बिहिबार शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरुबीच कर्णाली प्रदेशको भौतिक विकास, शिक्षा, मानव संशाधन विकास, आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव देवीप्रसाद पौड्यालले राजदूतले कर्णाली प्रदेशको विकासमा जापान सरकार तयार रहेको प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए । भेटमा कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलिया पनि सहभागी थिए ।

प्रदेश प्रमुखसंग भेट गर्नुअघि राजदूत मासामिकी साइगोले जापान सरकारको सहयोगमा वीरेन्द्रनगरमा निर्माणाधिन आधुनिक खाद्य गोदाम घरको निरीक्षण गर्नुका साथै खाद्य संस्थानले सहुलियतमा बिक्री वितरण गर्दै आएको चामलको प्रभाव र आवश्यकताका विषयमा अध्ययन गरेका थिए ।