☰ open Loading... 20 April 2024|  

कर्मचारी समायोजन नै त्रुटी छ ः स्वास्थ्य मन्त्री यादव
  | १० बैशाख २०७६, मंगलवार १६:३४

सुशील खड्का
सुर्खेत । कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताएका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सीटी स्क्यान सेवाको शुभारम्भ गर्दै मन्त्री यादवले समायोजनले जनतालाई राहत दिनुको सट्टा सास्ती बनाएको बताएका हुन् ।


‘कर्मचारी समायोजन आफैमा त्रुटी छ’ मन्त्री यादवले भने, ‘जहाँ सेवा छ, त्यहाँ जनशक्ति हुनुको सट्टा सेवा आवश्यक नभएको क्षेत्रमा कर्मचारी खटाइएको छ ।’

उपप्रधानमन्त्री समेत रहेका यादवले जनताले पाउनु पर्ने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन अहिलेको समायोजनले राहत महशुस नहुने टिप्पणि समेत गरे ।

प्रदेश अस्पतालमा डाक्टर अभावको प्रमुख कारण समायोजन नै भएको बताउँदै यादवले समायोजनकै कारण हरेक तीन महिनामा मन्त्रालयका सचिवहरू फेरिने गरेकोमा आक्रोश व्यक्त गरे । मन्त्री यादवले प्रदेश अस्पताललाई पहिले विशिष्ट अस्पताल बनाउनुपर्ने अनि मात्रै शिक्षण अस्पतालको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

सामान्य प्रशासन मन्त्रालयलाई यस विषयमा गम्भीर हुन आग्रह समेत गरेको मन्त्री यादवको भनाई छ । ‘कर्णाली र प्रदेश २ विगतदेखी नै हिपाहमा परेको क्षेत्र हो’ मन्त्री यादवले थपे, ‘यी प्रदेशलाई समुन्नत बनाउँन प्रदेश सरकारलाई विशेष अधिकार दिएर जनतालाई डेलिभरीसहितको सेवा प्रवाह गर्नुपर्छ ।’


मन्त्री यादवले कर्णाली अस्पतालाई जनशक्तिसहित भौतिक पूर्वाधारमा अब्बल बनाउन प्रदेश सरकारलाई निर्देशन दिए । ‘आवश्यक स्रोत साधन उपलब्ध गराउन मन्त्रालय कुनै कञ्जुसाई राख्ने छैन्’ मन्त्री यादवले भने ।

स्थानीय, प्रदेश र केन्द्र सरकारविच पारस्परिक समन्वय नभएसम्म संघीय गणतन्त्रले सार्थकता नपाउने उनले उल्लेख गरे । एकहोरो लिएर मात्रै नहुने भन्दै मन्त्री यादवले विगतमा कर्णालीले धेरै दिएकाले अब कर्णालीलाई दिनुपर्ने बेला आएको बताए ।

संघीय सरकारले अस्पतालमा पर्याप्त जनशक्तिको व्यवस्थापन गरिदिन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आग्रह गरे । भवन बनाउने, सामानहरू खरीद गर्ने जस्ता काम प्रदेश सरकार गर्न सक्षम भएपनि प्राविधिक जनशक्ति आफूहसंग नभएकाले कर्णालीका जनशक्तिलाई कर्णालीमै पठाइदिने शाहीको आग्रह थियो । पर्याप्त जनशक्ति नभएका कारण स्वास्थ्य सेवा प्रवाहमा ठूलो चुनौती आएको मुख्यमन्त्री शाहीको भनाइ छ ।

प्रदेश सभा सदस्य यामलाल कंडेलले राज्य सञ्चालनमा अहिले पनि कर्णालीको पहुँच नभएको बताए । नेपाल कम्युनिष्ट पार्टीका नेकपाका कर्णाली प्रदेश सहसंयोजक समेत रहेका कंडेलले संरचना परिवर्तन भएपनि प्रणाली परिवर्तन नभएकोमा आक्रोश व्यक्त गरे ।

उनले संघीयता सफल बनाउन सबैको सोचमा प्रणाली परिवर्तन जस्तै सोचमा परिवर्तन आउनुपर्ने बताए । ‘विगतमा पटक–पटक यो वा त्यो बहानामा अनशन बस्ने प्रचलन थियो’ डा. गोविन्द केसीप्रति लक्षित गर्दै नेता कंडेलले भने, ‘अहिले कर्णालीमा डाक्टर छैनन्, कसैले अनसन बसिदिए हुन्थ्यो ।’