डेक्स सम्वाददाता
सुर्खेत । कर्णालीका नागरिकले सिटी स्क्यान सेवा लिनकै लागि नेपालगञ्ज वा नीजि अस्पताल धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । कर्णाली प्रदेश अस्पताल कालागाउँले मंगलबारदेखी औपचारिक रुपमा सिटी स्क्यान सेवाको शुभारम्भ गरेको हो । सिटी स्क्यान सेवाको शुभारम्भ स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेद्र यादवले गर्नु भएको हो ।
क्रमिक रुपमा सेवामा अब्बल बन्न लागेको प्रदेश अस्पतालले नयाँ भवनमा सिटी स्क्यानका लागि आवश्यक संरचनाहरुको निर्माण गरेर सेवा शुरु गरेको छ । स्वास्थ्य सेवा विभागले सिटी स्क्यान मेशीन दिएपछि सेवा शुरु गरिएको प्रदेश अस्पतालका मेसु डा. डम्बर खड्काले जानकारी दिए ।
अस्पतालले सिटी स्क्यानका लागि आवश्यक संरचना निर्माणार्थ झण्डै २० लाख रकम खर्चिएको थियो । सिटी स्क्यान कोठमा प्रयाप्त पानी, विद्युत लगायतका संरचनाका लागि उक्त रकम खर्चिएको खड्कको भनाई छ ।
‘टाउको सम्वन्धी विरामी तथा दुर्घटनाका घाइतेहरुले सिटी स्क्यानकै लागि नीजि अस्पताल वा बाहिर जानु पथ्र्यो’ खड्काले थपे, ‘अस्पतालले नै मेशीन भित्राएपछि उपचारकै लागि अब बिरामीहरुले बाहिर धाउने पर्ने बाध्यताको अन्त्य भएको छ ।’
अस्पतालले सिटी स्क्यान गर्ने विरामीहरुको प्रकृति हेरेर शल्क निर्धारण गरेको छ । अस्पताल विकास समितिले उपचारको प्रकृति हेरेर अस्पतालले बिरामीहरुबाट कम्तीमा तीनहजारदेखी पाँचहजारसम्म शुल्क लिने निर्णय गरेको अस्पतालले जनाएको छ ।