काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा बैशाख १६ गतेदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ ।
अव नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन् । त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने छन् ।
चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्ने छ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ रुपैयाँ लाग्नेछ ।
भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्ने छ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्ने छ ।
भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३ सय ९७ रुपैयाँ लाग्ने छ । एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रति एसएमएस ५४ रुपैयाँ र भारतबाट प्रति एसएमएस २४ रुपैैँया लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन ।
कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गरेका थिए । सो सेवालाई हाल व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हो ।
कम्पनीले हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको थियो । अब भने प्रिपेड मोबाइलमा समेत यो सेवा प्रयोग गर्न सकिने छ । यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ ।
अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनका लागि ८ज्ञद्धज्ञछ३ डायल गर्नु पर्ने छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी तथा सुविधा लिन सकिन्छ ।