☰ open Loading... 19 July 2019|   शुक्रबार, साउन ३, २०७६

गर्भवतीको औषधि तरकारीमा !

  |

उत्पादक तथा व्यापारीबीच फलफूल तथा तरकारी सबैभन्दा छिटो र बढीभन्दा बढी उत्पादन गरी बजारसम्म पु¥याउने एक प्रकारको होडबाजी चल्छ। उपभोक्ताको स्वास्थ्यलाई प्रतिकूल असर पार्ने हानिकारक कीटनाशक विषादी तथा रसायनिक मलखादको अत्यधिक प्रयोग गरिएका खाद्यान्न बजारमा प्रशस्तै भेटिन्छन्।

चिन्ने कसरी ?
हेर्दैमा आकर्षक, चिल्ला, उज्याला, ठूला–ठूला, सलक्क परेका फलफूल तथा तरकारीमा विषादी प्रयोग गरिएको हुन सक्छ। बरु, अलि–अलि किरा लागेका फलफूल तथा तरकारी विषादीरहित हुने सम्भावना ज्यादा हुन्छ।

कसरी आउँछ कृत्रिम चमक ?
हिजोआज बजारमा सिमी, हरियो प्याज, कर्कलो, पर्वल, भिन्डी, बोडीजस्ता तरकारीलाई ताजा र हरियो देखाउन हरियो अखाद्द रङ तथा नीलोतुथो (कपर सल्फेट) को झोलमा डुबाउने गरिन्छ। यस्ता कृत्रिम चमक भएका खाद्यान्नको सेवनले धेरै प्रकारका रोग लाग्ने र शरीरको प्रतिरोधात्मक क्षमतामा समेत कमी आउने गर्दछ।

कसरी पकाउँछन् समय अगावै ? 
मेवा, आँप, केरा, स्याउजस्ता फलफूललाई समय अगावै अप्राकृतिक तरिकाले चाँडोभन्दा चाँडो पकाउनका लागि ‘कार्बाइड’, ‘इथाइलिन’जस्ता हानिकारक रसायनको प्रयोग गरिएको पाइएको छ। यस्ता रसायनयुक्त फलफूलको सेवनले मुख तथा पेटको अल्सर, फोक्सोमा संक्रमण, छालाको समस्या, शरीरमा हर्मोनको गडबडी, पेटसम्बन्धी समस्याका साथै क्यान्सरसमेत लगाउन सक्ने भएकाले बेलैमा सचेत हुनु जरुरी छ।

‘अक्सिटक्सिन’ तरकारीमा 
पहिले–पहिले गर्भवती महिलालाई प्रसूति सहज पार्न, रक्त स्राव कम गर्न, दूधको मात्रा बढाउन लगाइने ‘अक्सिटक्सिन’ नामक हर्मोनको सुई आजभोलि फलफूल, भन्टा, फर्सी, काँक्रा, लौका, मुला, खर्बुजा, मेवा, कटहर , चिचिन्डोजस्ता तरकारी र फलफूललाई ठूलो पार्न, ताजा देखाउन र चाँडो पकाउनका लागि तथा माछा, कुखुरा तथा खसीको आकार वृद्धि गर्न प्रयोग गर्ने गरेको पाइएको छ

कसरी पार्दछ असर ?
ढुसी नियन्त्रणमा प्रयोग गरिने ‘कार्बेंनडाजिम’ नामक विषादीको प्रयोग गरिएको फलफूल तथा तरकारीको सेवनले शरीरमा हर्मोनको गडबडी ल्याउँछ। यसै गरी ‘मालाथियोन’, ‘बिफेनथ्रिन’जस्ता कीटनाशकले मानिसलाई क्यान्सरसम्म लगाउन सक्ने अध्ययनबाट पुष्टि भएको छ। एफडीएफ नामक अमेरिकी संस्थाले महिलाहरूमाथि हालै गरिएको अनुसन्धानअनुसार गर्भवती अवस्थामा ‘अर्गानोफस्फेट’ नामक विषादीयुक्त फलफूल तथा तरकारीको सेवनले समय अगावै बच्चा जन्मने र उक्त शिशुमा स्नायुसम्बन्धी समस्या देखापर्ने सम्भावना हुन्छ।

बच्ने कसरी ?

  •  फलफूल तथा तरकारीलाई राम्रोसँग सफा पानीले दुईदेखि तीन पटकसम्म पखाल्ने। साबुन वा डिटरजेन्टको प्रयोग गरी पखाल्न  हुँदैन। यस्ता सामग्रीमा रहेका हानिकारक रसायन फलफूल तथा तरकारीको बोक्राबाट सजिलैभित्र प्रवेश गर्न सक्छन्।
  • पानीमा थोरै नुन राखी फलफूल तथा तरकारीलाई केहीबेरसम्म डुबाउने वा मनतातो पानी वा पानीको बाफमा केहीबेर राख्नाले पनि केही विषादी हटेर जाने गर्छ।
  • फलफूल र तरकारीको बोक्रा छिलेर फाल्नाले पनि विषादीको मात्रामा केही कमी हुन्छ।
  • सधैँ एकै किसिमको फलफूल तथा तरकारी खाइरहनुभन्दा अलग–अलग किसिमको फलफूल तथा तरकारीको सेवन ठीक हुन्छ।
  • माछा, कुखुरा, खसी आदिको छाला तथा बोसोमा विषादीको मात्रा अन्य भागको तुलनामा ज्यादा हुने भएकाले सकेसम्म छाला र बोसो हटाएर मात्र त्यस्ता मासुजन्य वस्तुको सेवन गरौँ।
  • सम्भव भएसम्म आफ्नै करेसाबारीमा वा सामुदायिक करेसाबारीमा निर्माण गरी प्रांगारिक मलको प्रयोग गरी फलफूल तथा तरकारी उत्पादन गरी सेवन गरौँ।
  • फलफूल तथा तरकारीलाई पानीमा दश प्रतिशतसम्म सिरका (भिनेगर) राखी करिब २० मिनेटसम्म डुबाएर राख्नाले पनि विषादीको असर कम गर्न सकिन्छ।
  • सकेसम्म प्रांगारिक (अर्गानिक) फलफूल तथा तरकारी मात्र सेवन गरौँ।
  • घरमा बनाएको अचार र दही खाने गरौँ। यस्ता खाद्यवस्तुमा पाइने विभिन्न प्रकारका असल ब्याक्टेरियाले फलफूल तथा तरकारीमार्फत सेवन गरेको विषादीलाई शोषण तथा विच्छेदन गरी शरीरमा हुने नकारात्मक असर न्यूनीकरण गर्न सघाउँछ।
  • मौसमअनुसारका फलफूल मात्र सेवन गरौँ। बेमौसमी फलफूल तथा तरकारीमा विषादीको मात्रा तुलनात्मक रूपमा ज्यादा हुने गर्दछ।
प्रकाशित मितिः शनिबार, बैशाख २१, २०७६     5:34:00 PM
error: Content is protected !!