दैलेख, भैरवी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विद्यालयमा स्टेचर र प्राथमिक उपचारको सामाग्री वितरण गरेको छ । आकष्मिक घटनाबाट सहजताका लागि गाउँपालिकाले स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
गाउँपालिकाका ४४ विद्यालयलाई ५ लाखको सामाग्री खरिद गरि वितरण गरिएको जनाईएको छ । स्वास्थ्य संस्थामा मात्र उपलब्ध भएको स्टेचर र प्राथमिक उपचार सामाग्री अहिले विद्यालय स्तरसम्म गाउँपालिकाले उपलब्ध गराएको हो । गाउँपालिकाले कार्यक्रम आयोजना गरि सवै विद्यालयलाई हस्तान्तरण गरिएको छ । औषधी उपचारमा समस्या नहोस् भनेर सवै औषधीको नाम त्यसले गर्ने उपचारका बारेमा अंग्रेजी र नेपालीबाट समेत लेखिएको पर्चा समेत दिईएको स्वास्थ्य शाखा भैरवी गाउँपालिकाका स्वास्थ्य प्रमुख शमशेर विष्टले बताए । विद्यालय स्तरमा समेत यी सामाग्री वितरणले तत्काल प्राथमिक उपचारदेखी अस्पताल, स्वास्थ्य चौकीसम्म विरामी ल्याउन सहज हुने विष्टले बताए । प्राथमिक उपचार सामाग्री वितरणका लागि स्वास्थ्य पढाउने शिक्षकको मातहतमा रहने जनाईएको छ । ज्वरो, पखला, ग्याटिक, बेन्डिज, घाउचोटपटक लगायतका विरामीका लागि औषधी राखीएको छ । विद्यालय स्तरबाट स्थानीय सरकारले गरेको लगानी प्रत्याभुती गराउनका लागि यस्तो कार्यक्रम बनाईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन देवकोटाले बताए । विद्यालयमा स्टेचर र उपचार सामाग्री वितरणले निकै राम्रो सुविधा शिक्षक, विद्यार्थीले पाउने हिमालय मावि डाँडीमाडीका प्रधानाध्यापक वशाखर जैसीले बताए । स्वास्थ्य क्षेत्रमा विद्यालय मात्रै नभई जनतालाई समेत सहज होस् भनेर शिविरदेखी सामाग्री समेत वितरण गर्ने कार्ययोजना बनाएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए ।