☰ open Loading... 26 April 2024|  

मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य
  | ६ जेष्ठ २०७६, सोमबार ११:२७

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलचालकको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको जनाएको छ । बग्गीखानास्थित महाशाखा कार्यालयमा आइतबार भएको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले उपत्यकाभित्रका सवारी दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलचालकको पछाडि बस्ने यात्रु धेरै रहेकाले नयाँ नियम सुरु गर्न लागेको बताए । उनले भने, ‘उपत्यकाभित्र प्रत्येक महिना दुई सयभन्दा धेरै सवारी दुर्घटना हुने गरेका छन् । त्यसमध्ये मृत्यु हुनेमा सबैभन्दा धेरै मोटरसाइकलचालकको पछाडि बस्ने यात्रु रहेको पाइएको छ । यात्रुको सुरक्षाका लागि यो नियम ल्याउन लागिएको हो । उपत्यकामा यो आवश्यक भइसकेको छ ।’

सुरक्षाका लागि हेल्मेट

महाशाखाको तथ्यांकअनुसार सवारी दुर्घटनाका कारण पछिल्लो सात वर्षमा एक हजार एक सय ७७ जनाको मृत्यु भएको छ । जसमध्ये पाँच सय ३३ को मृत्यु मोटरसाइकल तथा स्कुटर दुर्घटनामा भएको छ । एसएसपी पन्तले भने, ‘उपत्यकामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या प्रत्येक महिना बढ्दै गएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै मोटरसाइकल चढ्नेछन् । त्यसमा पनि पछाडि बस्ने यात्रु धेरै छन् । उनीहरूको सेफ्टीका लागि हेल्मेट लगाउनुपर्ने अवस्था आयो । त्यही कारण यो नियम ल्याउन लागिएको हो ।’

 हेल्मेटकै लागि ऐन संशोधन : ट्राफिक प्रहरी

महाशाखाका अनुसार सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधन गर्दै छ । ऐन संशोधन भएलगत्तै मोटरसाइकलचालकको पछाडि बस्नेले अनिवार्य हेल्मेट लगाउनुपर्ने व्यवस्था लागू हुनेछ । एक महिनाभित्र नियम लागू भइसक्ने । अबको महिना दिनभित्रै नयाँ नियम लागू हुने महाशाखा प्रमुख पन्तले बताए । उनले भने, ‘मोटरसाइकलचालकको पछाडि यात्रा गर्ने यात्रुका लागि हेल्मेट लगाउनुपर्ने प्रावधानका लागि कानुन नै संशोधन गरिनुपर्छ । यसैका लागि सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधन गर्दै छ ।’

 विभाग भन्छ : हेल्मेट नै विकल्प होइन

यातायात व्यवस्था विभाग भने मोटरसाइकलचालकको पछाडि यात्रा गर्ने यात्रुका लागि हेल्मेट लगाउनुपर्ने व्यवस्था तत्काल कार्यान्वयन नहुने बताएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले यात्रुको सुरक्षालाई ध्यानमा राखेर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधन गर्न लागिएको, तर हेल्मेट नै लगाउने व्यवस्था भने नगरिएको बताए । उनले भने, ‘ऐनमा यात्रुको सुरक्षाको ग्यारेन्टी गर्ने खालको प्रावधान राखिएको साँचो हो । मोटरसाइकलचालकको हकमा पनि यो नियम लागू हुन्छ । यसको अर्थ हेल्मेट नै लगाउनुपर्छ भन्ने होइन । त्यसबाहेकका उपायबाट पनि यात्रुको सुरक्षा प्रबन्ध मिलाउन सकिन्छ । त्यसो हुँदा हेल्मेट नै विकल्प भने होइन ।’