यार्सागुम्बा खोज्न मुगुका बासिन्दा लेकतिर उक्लिन थालेका छन् । खाद्यान्न र लुगाकपडा बोकेर केही लेकमा पुगिसकेका छन् भने केही जाँदै छन् । यार्सागुम्बा पाइने उत्तरी क्षेत्रको मुगुम कार्मारोङ गाउँपालिका संकलकको लस्कर नै लागेको छ । केही दिनयता बालबालिकासमेत अभिभावकसँगै लेकतिर लागेका हुन् । मुगुमा १५ जेठदेखि यार्सा संकलन गर्न सुरु गरिँदै छ । त्यसअघि नै स्थानीय बासिन्दा लेक पुग्ने गरेका छन् । प्रायः समूहमै लेकतिर लाग्ने गर्छन् ।
यार्सा टिप्न लेकतिर जाँदै गरेका जुम्ला पातारासी गाउँपालिका–२ पेरेगाउँका दीपराज बुढाले २० जनाको समूह रहेको बताए । छाइल बगरमा भेटिएका उनले भने, ‘यार्सा टिप्न थालेको १० वर्ष भयो । वर्षभरि खानेकुरा जुटाउने यसैले हो ।’ हरेक वर्ष एक लाखसम्म कमाइ हुँदै आएको उनले बताए ।
जुम्लाकै पातारासीका अर्का सहदेव बुढा पनि पाँचौंपटक लेकतिर लागेका छन् । उनी १५ जनाको समूहमा छन् । घरबाट हिँडेको चार दिनपछि मुगुको छाइल बगर पुगेका हुन् । अझै यार्सा टिप्ने पाटन पुग्न तीन–चार दिन लाग्ने उनले बताए । कार्मारोङ क्षेत्रमा लर्को नै देखिने गरेको छ ।
एक सातायता दैनिक चार–पाँच सयजना छाइल बगर भएर जाने गरेको स्थानीय होटेल व्यवसायी सुत्त रोकायाले बताए । ‘होटेलमा खाने बस्ने व्यवस्था गर्नै मुस्किल भएको छ,’ उनले भने । कतिपय ओढारमा पनि बस्ने गरेका छन् । रिउस बगरका व्यापारी ग्यालजन लामाले होटेल भरिभराउ भएको बताए । ‘लुम्स, छाइल बगर, ढुंगेधारा, रिउस बगर, पुलुलगायत बाटोमा पर्ने करिब एक सयभन्दा बढी होटेल भरिएका छन्,’ उनले भने ।
सुरक्षाकर्मी तैनाथ
यार्सागुम्बा संकलन हुने पाटन क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । नेपाल प्रहरीका १९ र शसस्त्र प्रहरीका ५१ जनासहितको टोली खटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै, अनुमतिपत्र वितरणका लागि जनप्रतिनिधि र कर्मचारी खटिएका छन् ।
गाउँपालिकाले ६ कर्मचारी र तीन जनप्रतिनिधि खटाएको मुगुम कार्मारोङका प्रमुख प्रशासकीय अधिकृत विकास रिजालले बताए । यसपटक ४० दिनको अनुमति दिइएको छ । त्यसका लागि जिल्लाबासीलाई दुई हजार र बाहिरका लागि दुई हजार पाँच सय शुल्क तोकिएको छ । गत वर्ष यार्सा संकलन गर्न तीन हजार पाँच सय २४ जना मुगुम कार्मारोङ पुगेका थिए । उनीहरूबाट ६१ लाख ९२ हजार शुल्क उठाइएको थियो । यो वर्ष त्यो संख्या बढ्ने जनाइएको छ ।