आइसिसी विश्वकप क्रिकेटमा १० टिमबीच प्रतिस्पर्धा जारी छ । सबै टिम एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरिरहेका छन् । लिग चरणका खेलपछि शीर्ष चार टिमबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ । खेलका दौरान अम्पायरबाट कुनै गल्ती नहोस् भनेर पारदर्शिता कायम गर्न यसपटक हाइटेक प्रविधिको प्रयोग भइरहेको छ ।
क्रिकेटमा प्रयोग भइरहेको टेक्नोलोजीले गर्दा खेल पहिलेभन्दा थप रोचक भएको छ । नयाँ क्यामेरा एंगल, बल पछ्याउने क्यामेरा तथा विभिन्न कोणबाट फरक–फरक सट देखाउने क्षमताले क्रिकेटमा रोचकता थपेको मान्छन् प्रविधि पक्षधरहरू । जसमध्ये केही टेक्नोलोजी यसप्रकार छन् ।
स्टम्प क्यामेरा
यो क्यामेराको प्रयोग स्टम्पमा हुन्छ । मिड स्टम्पमा एउटा सानो माइक पनि जडान गरिएको हुन्छ । जसले गर्दा आवश्यकता परेको खण्डमा क्यामेराको मद्दतले निर्णय गर्न सकियोस् । यसपटक फ्रन्टका साथमा रिभर्स क्यामेराको पनि प्रयोग गरिएको छ । क्यामेराले बल देखाउँछ भने माइकबाट ठोकिएको आवाज सुन्न सकिन्छ ।
एलइडी स्टम्प र बेल्स
क्रिकेटका सबैखाले फर्म्याटमा अब विशेष प्रकारले बनाएको एलइडी स्टम्प र बेल्सको प्रयोग भइरहेको छ । यसको मूल्य ४० लाख रुपैयाँ हाराहारी पर्छ । बल स्टम्पमा ठोक्किनासाथ लाइट बल्दै बेल्स छुट्टिएर अलग हुने गर्छ । यसले अम्पायरलाई रनआउट र स्टम्पिङ आउट दिन सजिलो हुने गर्छ ।
ह्वाक आई
यो प्रविधिको प्रयोग अहिले सबैखाले क्रिकेट खेलमा भइरहेको छ । यसको मद्दतले एलबिडब्ल्यू (लेग विफोर विकेट) को फैसला दिन सजिलो हुने गरेको छ । यो प्रविधिले बल विकेटमा लागेको छ कि छैन भन्ने तय गर्ने गरेको छ । यसलाई बल ट्र्याकिङ सिस्टमसमेत भन्ने गरिएको छ । यो क्यामेराको काम बलको बाटो ट्र्याक गर्नु हो । त्यसपछि क्याप्चर इमेजलाई कम्प्युटरमा थ्रिडी इमेज बनाइन्छ । उक्त समयमा बलको स्पिड, बाउन्स र स्विङलाई ध्यानमा राखिन्छ ।
स्पाइडर क्यामेरा
विश्वकपमा पहिलोपटक स्पाइडर क्यामेराको प्रयोग भइरहेको छ । खेलको लाइभ टेलिकास्टका लागि एचडी क्वालिटीको क्यामेराको साथमा स्पाइडर र ड्रोन क्यामेराको पनि प्रयोग भइरहेको छ । यी क्यामेराले माथिबाट खेलका फुटेजहरू लिने गर्छन् । यो पूरै खेलअवधिभर माथिबाट निगरानी गर्नका लागि प्रयोग गरिन्छ ।
स्नेकोमिटर
क्रिकेटमा प्रयोग हुने अर्को प्रविधि हो स्नेकोमिटर । यो प्रविधिको प्रयोग टेस्ट, एकदिवसीय र टी–२० सबै फम्र्याटमा भइसकेको छ । यो प्रविधिले साउन्डको काम गर्छ । जब बलरले बलिङ गर्छ त्यसपछि बल पहिलो टच कहाँ भएको थियो भन्ने कुरा यो प्रविधिले पत्ता लगाउँछ । यो प्रविधि विशेष गरेर ब्याट र बलको कनेक्सन भएको छ कि छैन, हेर्नका लागि प्रयोग हुन्छ । बलले ब्याट छोएको या नछोएको तय गर्न स्नेकोमिटरको प्रयोग हुने गरेको छ । यदि बलले ब्याटलाई छोएको खण्डमा एक लहर (वेभ) देखिन्छ जसले निर्णय लिन सजिलो हुने गर्छ ।
ग्राफिक्स डिटेल्स
कुनै पनि खेलको डिटेल देखाउन ग्राफिक्सको प्रयोग गरिन्छ । यसका लागि खास प्याकेज बनाइन्छ जसका लागि खेलमा भएका सबै कुरा सामेल गरिन्छ । ग्राफिक्सको मद्दतले दर्शकलाई स्पष्ट पार्ने काम गरिन्छ । यसमा खेलको स्कोर, बलर र ब्याट्सम्यानको प्रदर्शन, खेलाडीको रेकर्ड, नेट रनरेट स्पष्ट पार्न धेरै तरिकाको ग्राफिक्स प्रयोग गरिन्छ ।
अम्पायर क्यामेरा
यो क्यामेरा विशेष गरेर अम्पायरका लागि बनाइएको हुन्छ । जुन अम्पायरको क्यापको माथिपट्टि राखिएको हुन्छ । यसको मद्दतले अम्पायरको आँखा कता गइरहेको छ भन्ने कुरा बुझ्न सजिलो हुन्छ । अम्पायरको क्यामेराको मद्दतले टिभी दर्शकका लागि नयाँ एंगल मिल्ने गरेको छ ।
हट स्पट
यो एक विशेष प्रकारको टेक्नोलोजी हो । यसको मद्दतले बलले ब्याटको कुन भागमा लागेको हो भनेर स्पष्ट प्वाइन्ट देखाउँछ । बल जहाँ टच हुन्छ उक्त ठाउँमा एउटा सेतो आकारको प्वाइन्ट देखिन्छ । यो प्रविधिले बलले ब्याट्सम्यानको कुन भागमा टच गर्छ भनेर पत्ता लगाउन सकिन्छ । बलले ब्याट्सम्यानको प्याड वा बढी जहाँ लागे पनि ब्ल्याक एन्ड ह्वाइट बनाउँदै सेतो स्पट देखाउने गर्छ ।
पिच भिजन
यो प्रविधिको सहयोगमा बलर र ब्याट्सम्यानको समीक्षा हुने गर्छ । अर्थात् बलरले कति बल सर्ट, फुल, गुड लेन्थमा फाले ? त्यस्तै ब्याट्सम्यान कुन बलमा बिट भए ? कुन बलमा उत्कृष्ट खेले भनेर एनलाइसिस गरिन्छ ।