☰ open Loading... 26 February 2025|  

जाजरकोटमा भीरबाट लडेर तीनको मृत्यु
  | २७ जेष्ठ २०७६, सोमबार १९:४९

जाजरकोट : बारेकोट गाउँपालिकामा भीरबाट लडेर तीन युवकको मृत्यु भएको छ। मृतकमा बारेकोट–५ का १६ वर्षीय भीमराज शाही, १७ वर्षीय नवराज सिंह र ४० वर्षीय पृथीबहादुर बस्नेत छन्। शाही र सिंह वनलसुन खोज्न अनि बस्नेत घर बनाउनका लागि काठ काट्न जंगल गएका थिए।

बारेकोट–४ स्थित कराइचुला लेक पुगेका दुई भाइ भिरालो जमिनमा चिप्लिएर भीरबाट खसेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए। शाही स्थानीय वीरेन्द्र मावि लिम्सामा ९ कक्षामा अध्ययनरत थिए। सिंहले यही वर्ष एसईई दिएका थिए।

वन लसुन एक प्रकारको जडीबुटी हो। यसको बिक्रीबाट आम्दानी हुने भएपछि स्थानीयवासी जोखिम मोलेर लेकतिर जाने गरेको अध्यक्ष शाहको भनाइ छ। वन लसुन प्रतिकिलो ३२ हजार रुपैयाँमा बिक्री हुने गरेको छ।

उनका अनुसार महँगोमा बिक्री हुने भएकाले वन लसुन संकलनमा स्थानीयको आकर्षण बढेको छ। बारेकोटमा एक साता अवधिमा भीरबाट लडेर चार र यार्सा संकलन क्रममा लेक लागेर दुुई जनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ।